Comments Add Comment

पैसा तिर्न नसक्दा कांग्रेस नेताले उपचार नपाएको दावी

५ कात्तिक, सप्तरी । कोरोना संक्रमण भएका सप्तरी कञ्चनरुप नगरपालिका– ८ का रामभरोसी प्रसाद गुप्ताको मंगलबार राति विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भयो । परिवारका सदस्यले पर्याप्त रकम तिर्न नसक्दा उपचार नै नभई गुप्ताको मृत्यु भएको बताएका छन् ।

नेपाली कांग्रेसका स्थानीय नेता ६५ बर्षीय गुप्ता ज्वरो आउने र स्वास फेर्न कठिन हुने लक्षण देखिएपछि असोज २५ गते अस्पताल भर्ना भएका थिए । असोज २६ गते उनको स्वाब संकलन गरी परीक्षण गर्दा २७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

छोरा मंगलेशका अनुसार अस्पतालले मंगलबार ३ लाख रुपैयाँ धरौटी राख्न भन्यो । तर, तत्कालै रकम जम्मा गर्न नसक्दा उपचारै नगरेको उनको आरोप छ ।  ‘मंगलबारसम्म भएको खर्च वापतको २ लाख ५० हजार तिर्न र थप ३ लाख रुपैयाँ धरौटी राख्न भन्यो’ मंगलेशले भने, ‘रकम नदिए उपचार हुँदैन भन्यो ।’

भर्ना गर्दा उनीहरुले अस्पतालमा ४० हजार रुपैयाँ बुझाएका थिए । मंगलबार एक्कासी २ लाख ५० हजारको बिल दिएको र थप ३ लाख जम्मा गर्न भनिएको मंगलेशले बताए । ‘एकै पटक हाम्रा लागि त्यत्रो रकम जम्मा गर्ने काम पहाडजस्तै भयो’ मंगलेशले भने, ‘घरको आर्थिक अवस्था पनि त्यति राम्रो नभएकै कारण विपन्नको सिफारिस गराएर वडा कार्यालयबाट लगेको थिएँ । तर, त्यसलाई पनि महत्व दिइएन ।’

रकम नदिएका कारण उपचार नगर्दा नै आफ्नो बाबुको मृत्यु भएको उनको भनाइ छ । ‘बुवालाई अक्सिजनमा राखिएको थियो र, खाना राम्रैसँग खाइरहनुभएको थियो’ मंगलेशले भने ‘तर, रकम नदिएकै कारण उपचार नगर्दा बुवालाई ज्यान गुमाउनुपर्‍यो ।’

शव दिन पनि आनाकानी

मंगलबार राति ११ बजेतिर गुप्ताको मृत्यु भएपछि अस्पतालले शुल्क नदिएसम्म शव नदिने अडान राखेको मंगलेशले बताए । ‘मंगलबार दिउँसोसम्म अस्पतालले २ लाख ५० हजार रुपैयाँ उपचार वापतको बाँकी रहेको बताएपनि राति २ लाख ६८ हजारको बिल थमायो’ उनले भने, ‘औषधिको बिल छुट्टै १ लाख ४७ हजारको दियो ।’

राति जसोतसो आफ्नो र दाजुको बैंक खातामा रहेको रकम जोडजाड गरेर अस्पताललाई २ लाखको चेक र फार्मेसीलाई पनि चेक दिएपछि शव ल्याउन दिएको उनले बताए । उनले रकम दिन नसक्दा उपचार रोकिएको दावी गर्दै घटनाको छानबिन हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment