Comments Add Comment

किन बढ्दैछ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप ?

८ कात्तिक, काठमाडौं । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक हप्ता मात्रै बाँकी छ तर यतिबेला अमेरिकी उच्च अधिकारीहरु भने दक्षिण एसियाका साना मुलुकको भ्रमणमा आउँदैछन् ।

अमेरिका विदेश मन्त्रालयले विदेश मन्त्री माइक पम्पियोले भोलिदेखि अक्टोबर ३० सम्म दक्षिण एसियाली मुलुकहरु भारत, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्ने घोषणा गरेको छ ।

सबैभन्दा पहिला भारतको भ्रमण गरी अमेरिकी विदेशमन्त्री पम्पियो अन्य मुलुकहरुको भ्रमणमा जाँदैछन् । यस अवधीमा उनले इन्डोनेसियाको समेत भ्रमण गर्नेछन् । विदेश मन्त्रालयले श्रीलंकामा इन्डो प्यासेफिक रणनीतकिो बारेमा छलफल गर्नेसमेत उल्लेख गरेको छ ।

यस अगाडि नै जापान भ्रमणमा आउँदा एसियाली मुलुकहरुको भ्रमण गर्ने तय भएपनि त्यसलाई सारिएको थियो ।

अमेरिका मात्र होइन्, भारतले पनि छिमेकी मुलुकहरुसँग कि भर्चुअल माध्यम, कि प्रत्यक्ष भेटघाट मार्फत संवाद अगाडि बढाइरहेको छ । गएका केही हप्तामा भारत र बंगलादेशको बिचमा परराष्ट्रमन्त्री तहको संवाद भएको छ भने त्यसभन्दा अगाडि कोभिडको संकटकै समयमा भारतीय विदेश सचिवले बंगलादेशको भ्रमण गरेका थिए ।

यसै बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे बिच पनि भिडियो संवाद भएको छ । यति मात्र होइन, भारतीय अधिकारीहरुले भुटानको समेत भ्रमण गरिरहेका छन् ।

भारतीय खुफिया एजेन्सी रअका प्रमुखले भारतका सबै छिमेकी मुलुकको भ्रमण गरिरहेका छन् । दुई दिन अगाडि मात्रै उनले नेपालको भ्रमण गरेर फर्केका थिए ।

यो पनि पढ्नुहोस ‘खुफिया प्रमुखसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मर्यादा विपरीत’

भारत र चीन बिच द्वन्द्व बढीरहेको तथा अमेरिका र चीनको बिच पनि द्वन्द्व चर्केको समयमा दुवै देशका अधिकारीहरुले दक्षिण एसियाका साना मुलुकहरुको भ्रमण गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । चीनसँगको सीमा विवादपछि पछिल्लो समयमा भारत अमेरिकासँग नजिकिएको छ । दक्षिण एसियाली मुलुकमा बढ्दो चिनियाँ प्रभाव भारत र अमेरिका दुवैलाई टाउको दुखाइको विषय हो ।

चीनसँग बढ्दो द्वन्द्वसँगै अमेरिकाले दक्षिण एसियाका साना मुलुकसँग इन्डो प्यासेफिक रणनीति (आईपिएस) अन्तर्गत साझेदारीलाई अझ बलियो बनाउने नीति अगाडि सारेको छ । सो नीतिको मुख्य उद्देश्य हो– यी मुलुकहरुमा चीनको प्रभावलाई कम गर्नु र नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीको प्रवर्द्धन गर्नु ।

ट्रम्प प्रशासनले बंगलादेश, श्रीलंका, माल्दिभ्स लगायतका अन्य मुलुकहरुसँग व्यापारिक मात्र होइन, इन्डोप्यासेफिक अन्तर्गत रणनीतिक साझेदारी पनि खोजिरहेको छ । अमेरिकाले भारतका छिमेकी मुलुकहरुमा चीनको प्रभाव कम गर्नका लागि पछिल्लो समयमा बढी फोकस गर्न थालेकोसमेत उल्लेख छ ।

अमेरिकाले छिमेकी मुलुकहरुमा प्रभाव बढाएसँगै आफ्नो छिमेक पहिलो नीति अन्तर्गत यी मुलुकहरुमा प्रभाव बढाउन सजिलो हुने विश्लेषण भारतीय अधिकारीहरुले गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीले दक्षिण एसियाका साना मुलुकहरुको भ्रमण गर्न लागे पनि नेपाल भने प्राथमिकतामा छैन ।

सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरेयता कुनै पनि अमेरिकी विदेशमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । नेपालका परराष्ट्रमन्त्रीले भने सन् २०१८ को डिसेम्बर महिनामा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।

यो पनि पढ्नुहोस अमेरिकाको राष्ट्रपति निर्वाचन : नेपाल नीतिमा परिवर्तन आउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment