Comments Add Comment

चौरपाटी गाउँपालिकाका किसानले फलेको कोदोसँग चामल साट्न पाउने

भटमास पनि खरिदबिक्री हुने

१० कात्तिक, काठमाडौं । अछामको चौरपाटी गाउँपालिकाले कोदोसँग चामल साट्ने कार्यक्रम सुरु गर्दैछ । स्थानीय किसानहरुले आफूले उत्पादन गरेको कोदो गाउँपालिकालाई दिएर चामल लिन सक्नेछन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि फलेको कोदोसँग चामल साट्ने र भटमास खरिदबिक्री सुरु गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशीले जानकारी दिए । यो कार्यक्रम आगामी मंसिर १ गतेदेखि १५ गतेसम्म सन्चालन हुने छ ।

कोदो र भटमास दिएर चामल लिन चाहनेहरुका लागि गाउँपालिकाले बिभिन्न शर्तहरुसमेत तोकेको छ ।

फलेको कोदो बराबर चामल साट्न पाइने छ । कोदो फलेको हुनुपर्ने छ । त्यसमा कुनै पनि प्रकारको मिसावट वा फोहर हुनुहुँदैन ।

कोदोसँग चामल साट्नका लागि चौरपाटी गाउँपालिका वडा नं. १ सिउडीको गैरिलेक सहकारी भवन र चौरपाटी गाउँपालिका ६ दुनीको चौखुट्टेको महिला सन्जाल भवनमा केन्द्र तोकिएको छ ।

यसैगरी भटमास भने गाउँपालिकाका सबै वडा कार्यालयहरुबाट खरिदबिक्री हुने छ । भटमासमा पनि कुनै प्रकारको मिसावट र फोहर हुनु हुँदैन ।

गाउँपालिकाले खैरो भटमासको मूल्य प्रतिकेजी ५० रुपैयाँ, सेतो भटमासको मूल्य प्रतिकेजी ५५ रुपैयाँ र कालो भटमासको मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment