Comments Add Comment

कठोर संघर्षपछि संगीतमा जम्दै रवि ओड

गत महिना सोह्रश्राद्ध चलिरहँदा, नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड आफ्नी ‘आमाहरू’को सम्झनामा कोरोना भाइरस महामारीका कारण छाक टार्न नसकेका मानिसलाई काठमाडौँको नयाँ बसपार्कमा खाना खुवाउन व्यस्त थिए ।

सुदूरपश्चिम नेपालको कञ्चनपुरस्थित सामान्य परिवारमा जन्मिएका ओड आज नेपाली सङ्गीत जगतका परिचित नाम हुन् । सफलताको यस खुट्किलामा पुगिसक्दा पनि ओडले आफ्नो धरातल, दुःख र सङ्घर्ष भने बिर्सिएका छैनन् ।

संवत् २०५४ मा कञ्चनपुरको गुलरिया गाउँमा जन्मिएका ओड बाल्यावस्थादेखि नै आफूले सुनेका प्रत्येक गीत र धुनलाई गुनगुनाउँथे । ओडका हजुरबुबाको पनि गायनमा उत्तिकै रुचि थियो । हजुरबा आफ्नो गाउँठाउँमा दोहोरी गीतहरू गाउने गर्थे । सबै गाउँलेहरू उनको आवाज र गायकीको निकै प्रशंसा गर्थे ।

अधिकांश गाउँलेहरूले बालक ओडलाई उनको आवाज पनि हजुरबुबासँग मिल्दोजुल्दो छ भन्थे । ‘यहीँबाट मेरो सङ्गीतमा रुचि बढ्न थाल्यो’, आज ती दिनहरू सम्झिँदै उनी भन्छन्, ‘मेरो साङ्गीतिक यात्राको जग यही बेला यसरी नै बस्यो ।’

चार जना भाइबहिनीसँग हुर्किँदै गर्दा उनले आफ्नी आमा गुमाए । त्यति बेला उनी केवल नौ वर्षका थिए । जेठी दिदीको बिहे भइसकेकाले परिवारमा उनी नै जेठा भए । त्यस कारण, उनीमाथि घरको सम्पूर्ण जिम्मेवारी आइपर्‍यो । पत्नीको मृत्युको शोकमा डुबेका आफ्ना बुबालाई सम्हाल्नेदेखि घरधन्दाको काम सबै रविले नै सम्हाले ।

‘मलाई के लाग्छ भने तपाईं आफ्नो कामलाई माया गर्नुस्, जसले तपाईँलाई नाम र माम दुबै दिन्छ । हाम्रो बजार धेरै सीमित र सानो छ । यदि म ‘चुजी’ भएँ भने मलाई यहाँ टिकिरहनलाई नै गाह्रो हुन सक्छ ।’

‘आमाको मृत्यु भएको एक वर्षसम्मको समय म र मेरो परिवारको लागि सबैभन्दा कठिन समय थियो । जीवनको यस चरणले मलाई जीवन र सङ्घर्षबारे धेरै कुरा सिकायो’ रवि सम्झिन्छन् ।

आमाको निधनपछि उनको परिवारमा दुःखले बास गर्‍यो । मन बहलाउनका लागि ओड रेडियोका विभिन्न साङ्गीतिक कार्यक्रमहरू, नाटक र नारायणगोपालका गीतहरू सुन्थे । यी गीतहरू सुन्दा उनलाई यस्तै आवाज निकालेर यसरी नै गीत गाउन पाए पनि हुन्थ्यो भन्ने चाहना आउँथ्यो र गीतहरू गुनगुनाइरहन्थे ।

दिन बित्दै जाँदा परिवारमा आएका विभिन्न समस्याका कारण घरसल्लाहमै रविका बुबाले अर्को विवाह गरे । दोस्री आमा पनि रविका लागि कहिल्यै ‘सौतेनी आमा’ भइनन् । जन्म दिने आमा नभए पनि कर्म दिने आमाले परिवारको हेरचाह अनि रेखदेख गर्न थालिन् ।

शिक्षाका लागि सङ्घर्ष

त्यति खेर रवि गाउँकै स्कुलमा पढ्दै थिए । आठ कक्षाको अन्तिम परीक्षा दिएपछि उनी पनि काम गर्न बुबासँगै भारत गए । भारतमा रहेका उनका आफन्तहरूले उनलाई पढाइ छोडेर कमाउन सुरु गर्न दबाब दिएकाले र घरको आर्थिक अवस्था नाजुक भएकाले आफू कलिलैमा परदेश पुगेको उनी बताउँछन् ।

केही महिना काम गरेपछि आफूले भोगेको दुःख छोराले भोग्न नपरोस् भनेर उनका बुबाले ओडलाई आफ्नो पढाइलाई नै निरन्तरता दिन सुझाए । त्यसैले आफ्नो घर फर्किए र नौ कक्षा भर्ना भए ।

‘मैले नौ र दश कक्षा पढेको स्कुल कैलाली जिल्लाकै उत्कृष्टमध्ये एक मानिन्छ । त्यहाँ पढ्ने अवसर पाउनु नै मेरो लागि एक ठूलो उपलब्धि थियो’ उनी सम्झन्छन्, ‘म र मेरो परिवारका लागि यो स्कल निकै महँगो थियो । तर, मेरो उज्ज्वल भविष्यका लागि मेरो बुबाले जेनतेन गरेर स्कुल भर्ना गरिदिनु भयो ।’

हुन त नौ कक्षामा शुल्क तिर्नुपरे पनि एउटा गायन प्रतियोगिता जितेर रविले १० कक्षा निःशुल्क पढ्न पाए ।

बढ्दो लोकप्रियता

त्यसै प्रतियोगिताले उनलाई स्कुल र समुदायमा एक उत्कृष्ट गायक र कलाकारका रूपमा स्थापित हुन मद्दत गर्‍यो । रवि सम्झन्छन्, ‘शिक्षकहरूले यहाँ कसले राम्रो गीत गाउन सक्छ भनेर सोध्दा सबैले मेरो नाम लिएर उत्तर दिन्थे ।’

कला शिक्षकले उनलाई त्यस क्षेत्रमा हुन लागेका विभिन्न महोत्सव र कार्यक्रमका बारेमा जानकारी गराउँथे र रवि पनि आफ्नो स्कुलको प्रतिनिधित्व गर्दै गीत गाउन पुग्थे । ‘त्यति बेलै मैले ठूलो भिडको अगाडि गीत गाउन सिकेँ’ उनी सम्झिन्छन् ।

दश कक्षाको पढाइ पूरा गरेपछि उनी परिवारको खर्च टार्ने उपाय खोज्न लागे । सुरुमा उनले मिल्ने साथी राजेश विश्वकर्मासँग मिलेर एउटा नाच स्टुडियो चलाउन थाले । उनीहरूले थुप्रै स्कुल, कलेज, स्थानीय कार्यक्रम र महोत्सवका लागि कोरियोग्राफी गर्थे । यही सिलसिलामा उनीहरू पश्चिम नेपालका धेरै जिल्लामा पनि पुगे ।

रवि भन्छन्, ‘एसएलसी परीक्षा दिएपछि म फेरि भारत गएँ । म त्यहाँ बिहान सङ्गीत सिक्थेँ र दिउँसो भिडियो निगरानी र सुरक्षासम्बन्धी कम्पनीमा काम गर्थेँ । फेरि, बेलुका डान्स स्कुलमा काम गर्थेँ ।’

अनिश्चितता

केही महिनापछि रवि कैलाली फर्किए र ११ कक्षामा भर्ना भए । त्यस बेलासम्म उनी ‘मल्टिटास्कर’ भइसकेका थिए । विभिन्न स्कुल र कलेजका वार्षिक कार्यक्रमहरूका लागि नाच र अन्य प्रदर्शन कोरियोग्राफी गर्नेदेखि विभिन्न स्थानीय कार्यक्रम, महोत्सव र रोदी घर तथा दोहोरी साँझमा समेत गाउने गर्थे । यसले उनलाई केही आम्दानी पनि भयो, तर उनले त्यस बापत आफ्नो पढाइमा सम्झौता गर्नुपर्‍यो । फलतः उनले १२ कक्षा उत्तीर्ण गर्न सकेनन् ।

‘त्यति बेला मलाई लाग्न थाल्यो कि यो क्षेत्र (गायन र नृत्य) मा आयको लागि सुनिश्चितता नहुनेरहेछ । यसमा आफ्नो भविष्य सुरक्षित हुन्न । यो आय स्रोतका लागि केवल छोटो अवधिको विकल्प मात्र हुन सक्छ’, उनी भन्छन्, ‘आज यो स्थानसम्म आइसक्दा पनि म गाएरै कति समय कमाउन सक्छु भन्न गाह्रो छ । यो क्षेत्र अन्य कुनै कामजस्तो छैन जहाँ व्यक्तिले प्रत्येक महिनामा निश्चित तलब पाउँछ ।’

उनी निरन्तर बग्छन्, ‘कहिलेकाहीँ हामीले लाखौँ रुपैयाँ कमाइरहेका हुन्छौँ, तर कुनै बेला हाम्रो गोजीमा एक रुपैयाँ पनि हुन्न । यो सबै सम्झेर म पुनः पढाइमा केन्द्रित हुन थालेँ । तर, कुनै न कुनै तरिकाले, मलाई यो सङ्गीत क्षेत्रले पनि आफूतर्फ तानिरहेको हुथ्यो ।’

परिवारलाई अझ राम्रोसँग सघाउनकै लागि उनले संवत् २०७० को संविधानसभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम समेत गरे ।

नेपाल आइडलको प्रसिद्धि

सङ्घर्ष र दुःखकै बीच रविले धेरै क्षेत्रीय कार्यक्रमहरूमा भाग लिइरहे, तर कहिल्यै पनि विजयी हुन सकेनन् । सायद भगवानले उनका लागि अझ ठूलो कार्यक्रममा सफलता दिलाउने योजना बुनेका थिए होलान् ।

कहीँकतै कुनै गायन प्रतियोगिताहरू हुने थाहा पाउने बित्तिकै उनका साथीहरूले उनलाई म्यासेन्जरमा सम्बन्धित कार्यक्रमको लिङ्क पठाएर खबर गर्थे र उनलाई भाग लिन प्रोत्साहित गर्थे । नेपाल आइडलको दोस्रो संस्करणको अडिसनको लागि पनि उनीहरूले त्यसै गरी रविलाई खबर गरे ।

नेपाल आइडलको पहिलो संस्करण प्रसारण भइरहेको बेला उनी भारतमा थिए । भारतबाटै कार्यक्रमको अपडेट निरन्तर लिइरहेका थिए । ‘मैले त्यस सोबारे धेरै कुरा बुझेँ । कार्यक्रममा भाग लिएका साथीहरूलाई पनि त्यस कार्यक्रम सञ्चालनको प्रक्रिया के रहेछ भनेर सोधपुछ गरेँ’, रवि सम्झिन्छन्, ‘उनीहरूले खानबस्न र यात्राको लागि एक रुपैयाँ पनि खर्च गर्न परेन भने । यो थाहा पाएपछि मैले नेपाल आइडलको दोस्रो सिजनमा भाग लिने निर्णय गरेँ ।’

उनले धनगढीमा अडिसन दिए र काठमाडौँ जानका लागि ‘गोल्डेन टिकट’ जिते ।

यो उनको काठमाडौंको दोस्रो भ्रमण थियो । उनको पहिलो काठमाडौँ भ्रमण ‘द सिङ्गिङ स्टार’ भन्ने गायन प्रतियोगिताको लागि भएको थियो । त्यति बेला उनी सात कक्षामा पढ्थे । उनी त्यस सोको शीर्ष ४० बाट आउट भएता पनि काठमाडौँ आएका बखत उनले रमिला भण्डारीबाट थोरै समयका लागि भए पनि सङ्गीत सिक्न पाए ।

त्यो समय उनी काठमाडौँमा आफ्ना भिनाजु दशरथ सुनारसँग बसे । रवि भन्छन्, ‘हाम्रो गाउँबाट राजधानी आएर बस्नुभएको पहिलो व्यक्ति उहाँ नै हो । उहाँ काठमाडौँ नआउनुभएको भए म पनि आज यहा हुन्नथेँ होला । उहाँले मलाई कार्यक्रमको लागि तयारी गर्ने ठाउँ मात्र दिनुभएन, काठमाडौँको वातावरण बुझ्न पनि मद्दत गर्नुभयो ।’

जीवनमा आएका सबै अवरोध र कठिनाइहरूलाई पार लगाउँदै उनी नेपाल आइडल सिजन २ को विजेता भए र रुपैयाँ २२ लाख नगद पुरस्कारसँगै होन्डा डब्लुआरभी कार जिते । एउटा पक्की घर बनाउनुपर्ने आवश्यकतालाई विचार गर्दै उनले त्यस कारको सट्टा पनि नगद नै लिए ।

अझै पनि उनको जीवनको उतारचढाव, सङ्घर्ष, कठिनाइ, दुःख सकिएको थिएन । परिवारले ओडको जितको खुसी पनि राम्ररी मनाउन नपाउँदै उनकी ‘दोस्री’ आमाको मृत्यु भयो । नेपाल आइडल ग्रान्ड फिनालेको पाँच दिन पनि नबित्दै उनलाई करेन्ट लागेको थियो, उपचारको लागि धनगढीमा प्राण त्यगिन् । आफ्ना प्रशंसकहरूको सर्वत्र माया र सम्मानले नै उदाउँदा गायकलाई यो पीडाबाट बाहिर आउन मद्दत पुर्‍यायो ।

त्यही बेला कतिपय मानिसहरूले उनलाई आफ्नो दुःख र गरिबी देखाएर उपाधि जितेको भनेर क्रूर आलोचना पनि गरे । तर यस्तो आलोचनालाई प्रतिवाद गर्दै रवि भन्छन्, ‘मैले आलोचनालाई सकारात्मक रूपमा लिएँ र कडा मेहनत गरेर आफ्नो सिपलाई तिखार्दै अघि बढेँ ।’

आइडलपछिको यात्रा

नेपाल आइडल जितेसँगै सबै उनका धेरै समस्याहरू समाधान भएका छन् । घर परिवार व्यवस्थित भएको छ । परिवारको आर्थिक स्तर बलियो भएको छ । हाल २३ वर्षीय ओड परिवारको सबै जिम्मेवारी आफ्नो काँधमा लिन सक्षम भएका छन् ।

विजेता बनेसँगै उनले १२ कक्षा पनि पूरा गरे । त्यसपछि भने उनी सङ्गीत कर्ममै व्यस्त भएका कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन सकेका छैनन् ।

‘आइडल जितेसँगै मैले सबैभन्दा पहिले गाउँमा एउटा पक्की घर बनाएँ । त्यसपछि बुबालाई भारतबाट घर फर्कन लगाएँ । उहाँलाई व्यस्त राख्न घरमै एउटा सानो पसल खोलिदिएँ’ रवि भन्छन् ।

उनी विविध विधाका गीत गाउने एक प्रतिभशाली गायक हुन् । पप, आधुनिक, रोमान्टिक, लोक, र देउडा गीतहरू गाएका छन् । तर छोटो समयमा थुप्रै गीतहरू बजारमा ल्याएकाले पुनः आलोचित बन्न पुगे ।

रवि भन्छन्, ‘मलाई धेरै जनाले ‘रविले गाउन चाहिँ थुप्रै गीतहरू गायो, तर हिट चाहिँ एउटा पनि दिएन, उसले जुन पायो त्यही गीतहरू गायो, चुज गरेन’ भनेर भन्ने गर्छन् । तर मलाई के लाग्छ भने तपाईँ आफ्नो कामलाई माया गर्नुस्, जसले तपाईँलाई नाम र माम दुबै दिन्छ । हाम्रो बजार धेरै सीमित र सानो छ । यदि म ‘चुजी’ भएँ भने मलाई यहाँ टिकिरहनलाई नै गाह्रो हुन सक्छ ।’

हाल रविलाई सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन सद्भावना दूतका रूपमा नियुक्त गरेको छ । यसलाई उनले जीवनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएका छन् । उनी लगायत १० सदस्यीय टोली सक्रिय रूपमा प्रदेशका पर्यटकीय स्थलहरूको पहिचान गर्न र तिनलाई सामाजिक सञ्जालमा प्रवद्र्धनका लागि काम गरिरहेका छन् । त्यसैले उनी आफ्नो शरीर काठमाडौँमै भए पनि मन भने राजधानीबाट टाढा रहेको आफ्नै गाउँमा भएको बताउँछन् ।

अहिलेसम्म उनले आफूलाई नेपालको एक चिनिएका गायकको रूपमा स्थापित गर्न सफल भएका छन् । भविष्यमा उनी क्लासिकल र सेमीक्लासिकल सङ्गीत सिक्न र त्यसै अनुसार गाउन चाहन्छन् । भविष्यमा पनि भावुक र विरही गीतहरूलाई प्राथमिकतामा राख्ने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment