Comments Add Comment

चिनियाँ प्रोफेसर भन्छन्– अमेरिकाले एसियाली मुलुक र चीनको सम्बन्धलाई भड्काउन खोज्यो

‘नेपालका दलहरुसँग मैत्रीपूर्ण आदान– प्रदान र सहकार्य चाहन्छौं’

१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीन र दक्षिण एशियाली मुलुकबीचको सम्बन्धलाई भडकाउन खोजेको चीनस्थित युनान विश्व विद्यालयका प्रोफेसर युआन छुनले गुनासो गरेका छन् ।

प्रोफेसर युआन छुन युनान विश्वविद्यालयको मार्क्सवादी अध्ययन स्कुलका डेपुटी डिन हुन् । हालै अमेरिकी विदेशमन्त्री पम्पियोले भारतलगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेको सन्दर्भलाई चीनले कसरी हेरिरहेको छ भनेर अनलाइनखबरले प्रोफेसर युआनसँग सोधेको छ ।

जवाफमा उनले भने, अमेरिकी विदेशमन्त्रीले हालै चीनलाई गरेको आक्रमणले पुनः एकपटक शीत युद्धकालीन मानसिकता र वैचारिक पूर्वाग्रहलाई उजागर गरेको छ ।’

नेपाल–चीन सम्बन्धको कुरा गर्दा दुई देशबीच विगत केही वर्षयता विभिन्न सम्झौता भए पनि कार्यान्वयन सन्तोषजनक छैन । नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा हस्ताक्षर गरेको तीन बर्षभन्दा बढी भइसकेको छ । तर, परियोजना छनोटको काम अगाडि बढेको छैन ।

अर्काेतर्फ, पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको बीचमा संवाद र सहकार्य बाक्लिएको छ । दक्षिण एसियाली मुलुकमा चीन र अमेरिकाको टकराव पनि बढिरहेको छ ।

नेपालका राजनीतिक दलहरुका बारेमा अनुसन्धान गरिरहेका प्रोफेसर युआन छुनसँग यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरका कमलदेव भट्टराईले गरेको कुराकानी यहाँ प्रस्तुत छ–

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई तपाईले कसरी हेरिरहनुभएको छ ?

चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) र नेपालको नेपाल कम्युनिस्ट पार्टी दुवैले मार्क्सवादलाई उनीहरुको मार्गनिर्देशक सिद्धान्तका रुपमा लिन्छन् । चीनको कम्युनिस्ट पार्टीले चिनियाँ विशेषतासहितको समाजवाद स्थापना गर्नका लागि चिनियाँ जनताको नेतृत्व गरिरहेको छ ।

नेपालको कम्युनिस्ट पार्टीले पनि मार्क्सवादको आधारभुत सिद्धान्त र आफ्नो राष्ट्रिय अवस्थालाई समिश्रण गरेर विकासको पथ पहिल्याउन खोजेको छ । दुवै पार्टीले पार्टी निर्माण र राज्य प्रणालीका बारेमा एक अर्काको अनुभवबाट सिक्न सक्छन् । र, उनीहरुले पारस्परिक सम्मान, साझा ग्राउण्ड, एक अर्काेबाट सिक्दै फरकपनलाई रिजर्भ गरेर नयाँ खालको पार्टी सम्बन्धको विकास गर्न सक्छन् ।

‘उनको (अमेरिकी विदेशमन्त्री माइक पम्पियोको) उद्देश्य दक्षिण एसियाली मुलुक र चीनको सम्बन्धलाई ‘प्रोभोक’ गर्नु, हिन्द प्रशान्त क्षेत्रमा चीनविरोधी रणनीतिक घेराबन्दीको विकास गर्नु र अन्तिममा चीनको विकासलाई रोक्नु हो ।’

चिनियाँ कम्युनिस्ट पार्टीको नेपालका अन्य राजनीतिक दलहरुसँग कस्तो सम्बन्ध छ ?

चिनियाँ कम्युनिस्ट पार्टी स्वायत्तता, पूर्ण समानता, पारस्परिक सम्मान र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तप्रति पूर्णरुपमा दृढ छ । यही सिद्धान्तका आधारमा चीन नेपालका विभिन्न राजनीतिक दलहरुसँग मैत्रीपूर्ण आदान–प्रदान र सहकार्य चाहन्छ ।

दुई देशका वीचमा पारस्परिक विश्वासको सम्बन्धलाई अझ सुदृढ गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टी नेपालका राजनीतिक दलहरुसँग द्वीपक्षीय आदान–प्रदान र पारस्परिक सिकाईलाई अझ सुदृढ गर्न इच्छुक छ । साथै दुई–दुई पक्षका वीचमा रणनीतिक संरेखण प्रवर्द्धन गर्नका लागि र नेपाल–चीन सम्बन्धको अझ राम्रो भविश्य सिर्जना गर्न दुईपक्षीय आदान–प्रदान र सिकाइलाई प्रवद्र्धन गर्न चाहन्छौं ।

नेपाल–चीनवीचको सम्बन्धलाई अझ अगाडि बढाउन के–के अवरोध छन् ?

लामो समयदेखि केही मुलुकले नेपाललाई उनीहरुको प्रभाव क्षेत्रका रुपमा लिए र उनीहरुले नेपाल र चीनको सामान्य दुईपक्षीय सम्बन्ध र बेल्ट एण्ड रोड इनिसिएटिभलाई संशयका रुपमा हेरिरहेका छन् । यसले चीन–नेपाल सम्बन्धको विकासमा गम्भीर बाधा पारिरहेको छ ।

नेपाल र चीनको बीचमा बीआरआई परियोजनामा एकदमै कम प्रगति भइरहेको छ, किन होला ?

बीआरआई परियोजना सहयोगभन्दा पनि सहकार्य हो । तर, केही नेपालीहरु यसले अधिक मात्रामा आर्थिकरुपमा चीनप्रति निर्भरता बढाउने र चिनियाँ अर्थतन्त्रको भासल हुने चिन्ता व्यक्त गरिरहेका छन् ।

एकातर्फ, उनीहरु देशको आर्थिक विकासका लागि बीआरआई परियोजनालाई उपयोग गर्न चाहान्छन् अर्काेतर्फ चीनलाई ब्यालेन्स गर्ने उद्देश्य प्राप्तिका लागि उनीहरु अन्य मुलुकबाट बढी आर्थिक सहायता र लगानी चाहन्छन् । यसले गर्दा चीन र नेपालका वीचमा सहकार्यको जति सम्भावना छ, त्यो पूर्ण रुपमा विकसित हुन सकेको छैन ।

चीनको आर्थिक बिकासबाट नेपालले अधिकतम फाइदा कसरी लिन सक्छ ?

पहिलो, दुबै मुलुकले उच्च तहको आदान प्रदानलाई अझ वृद्धि गर्नुपर्छ, पारस्परिक राजनीतिक विश्वासलाई वृद्धि गर्नुपर्छ र शासन, विकासलगायतका अनुभवहरु शेयर गर्नुपर्छ, नेपाल र चीन सम्बन्धको राजनीतिक आधारशीलालाई सुदृढ बनाउनुपर्छ र दुई पक्षीय सम्बन्धको राजनीतिक पोजिसनलाई सुदृढ गर्नुपर्छ ।

दोस्रो, दुबै पक्षले सक्रियतापूर्वक ट्रान्स हिमालयन इन्टर कनेक्सन नेटवर्कको निर्माणलाई प्रवद्र्धन गर्नुपर्छ । साथै, व्यवहारिक सहकार्य वृद्धि एवं व्यापार र लगानीमा फोकस गर्नुपर्छ । उर्जा, पर्यटन र महामारी विरुद्धको लडाइँमा सहकार्य गर्नुपर्छ ।

तेस्रो, दुवै पक्षले सांस्कृतिक आदान–प्रदान र चीन–नेपाल मित्रताको ठोस आधारशिला र जनमत तयार पार्नुपर्छ ।

हालै अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भारत लगायत दक्षिण एसियाली मुलुकहरुको भ्रमण गरेका छन् र उनले चाइना थ्रेटको कुरा गरेका छन्, यसलाई चीनले कसरी हेरिरहेको छ ?

बेल्ट एण्ड रोड परियोजना कुनै विचारसँग जोडिएको छैन । न त यसको उद्देश्य अन्य मुलुकमा चीनको प्रभाव क्षेत्र बनाउनु नै हो । यसको मुख्य जोड वीन–वीन सहकार्य नै हो । चीनले जहिले पनि भन्दै आएको छ कि कुनै पनि दुई मुलुकको सम्बन्धको विकास क्षेत्रीय शान्ति, स्थायित्व र विकासका लागि उपयुक्त हुनुपर्छ र यसले कुनै पनि तेस्रो पक्षको बैधानिक अधिकार र चासोलाई हनन् गर्नु हुँदैन ।

अमेरिकी विदेशमन्त्रीले हालै चीनलाई गरेको आक्रमणले पुनः एकपटक शीतयुद्धकालीन मानसिकता र वैचारिक पूर्वाग्रहलाई उजागर गरेको छ । उनको उद्देश्य दक्षिण एसियाली मुलुक र चीनको सम्बन्धलाई ‘प्रोभोक’ गर्नु (भड्काउनु), हिन्द प्रशान्त क्षेत्रमा चीनविरोधी रणनीतिक घेराबन्दीको विकास गर्नु र अन्तिममा चीनको विकासलाई रोक्नु हो ।

यो पनि पढ्नुहोस अमेरिकी विदेशमन्त्री पम्पियो किन आएनन् नेपाल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment