Comments Add Comment

पश्चिमा देशले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न सक्दैनन् : इमरान खान

१५ कात्तिक, काठमाडौं । फ्रान्स र मुस्लिम देशबीच तनाव जारी रहेको बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा उनले जोड दिए ।

इस्लामावादमा शुक्रबार आयोजित एक कार्यक्रममा खानले भने, ‘इस्लामलाई मान्नेहरुमा पैगम्बर मोहम्मदप्रति जुन भावना छ, त्यसको बारेमा पश्चिमी देशहरुलाई कुनै जानकारी छैन । पश्चिमा देशहरु इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न सक्दैनन् । उनीहरुसँग ती किताब छैनन्, जो हामीसँग छन् । त्यसैले उनीहरुले बुझ्न सक्दैनन् ।’

यो बुझाउन मुसलमान बहुल देशका नेताहरुले नसकेको उनको भनाइ छ । उनले मुलसमान बहुल देशका नेताहरुले इस्लामको विरोध (इस्लामोफोबिया)को मुद्दामा चर्चा गर्नुपर्नेमा जोड दिए ।

आवश्यक परे आफूले पनि यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने बताउँदै प्रधानमन्त्री खानले भने, ‘मैले इस्लामिक देशका समूहका सबैसँग भनेको छु पश्चिममा इस्लामोफोबिया बढिरहेको छ र यसको समस्या समाधानका लागि सबै मुसलमान देशहरु एकजुट भएर बहस छेड्नुपर्ने आवश्यक छ ।’

कुनै देशमा अल्पसंख्यक रुपमा रहेका मुसलमानहरु इस्लामोफोबियाका कारण सबैभन्दा बढी प्रभावित हुने प्रधानमन्त्री खानको भनाइ छ ।

मुसलमानहरु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध छन् र संकिर्ण मानसिकताका छन् भनेर पश्चिमा देशहरुले मुसलमानहरुविरुद्ध अभियान चलाएको खानको भनाइ छ । उनले भने, ‘इस्लामको विरोधमा एउटा सानो तप्का छ, जसले गलत नजरले देखाउन चाहन्छ । हामीले सबैलाई भन्नुपर्छ कि यसले मुसलमानहरुलाई दुःख दिनेवाला छ ।’ उनले शार्ली एब्दो जस्ता घटनाको पछाडि पनि यस्तै तप्काका केही मानिसहरु रहेको बताए ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कक्षा ९ देखि १२ सम्म विद्यालयको पाठ्यक्रममा इस्लामका पैगम्बर मोहम्मदको बारेमा जानकारी समेट्नुपर्ने कानुन ल्याउने बताए । यसो गरेमा विद्यार्थीहरुलाई इस्लामको बारेमा जानकारी मिल्ने उनले बताए ।

सो कार्यक्रममा सहभागी पाकिस्तान प्रशासित कश्मिरका प्रधानमन्त्री रजा फारुक हैदर पनि सहभागी थिए । उनले प्रदेशमा सबै प्रकारका फ्रान्सेली उत्पादनहरु बहिस्कार गर्न अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment