Comments Add Comment

चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो, यी हुन् सर्वाधिक लोकप्रिय स्मार्टफोन

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनले चालु वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा विश्व बजारमा बिक्री भएका स्मार्टफोनसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेको छ ।

जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको पहिलो स्थानमा सामसुङले पहिलो स्थान कायमै राखेको छ ।

विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा सामसुङले आफ्नो स्थान सुरक्षित गरिरहँदा चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले पनि आफ्नो दोश्रो स्थान कायमै राख्न सफल भएको छ ।

आईडीसीको रिपोर्ट अनुसार गत त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले घटेको छ । कोभिड–१९ महामारीका कारण विश्वका विभिन्न देशमा लकडाउनका कारण बजार बन्द भएका कारण स्मार्टफोनको बिक्रीमा समेत नकारात्मक असर परेको हो ।

तर महामारीका कारण स्मार्टफोन बजारमा जुन स्तरमा नकारात्मक असर पर्ने अनुमान गरिएको थियो, त्यो भन्दा स्मार्टफोनको बिक्री राम्रो देखिएको छ । तेश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्रीमा ९ प्रतिशतको गिरावटको आशंका गरिएको थियो ।

तथ्यांक अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा विश्व बजारमा ३५ करोड ३६ लाख वटा स्मार्टफोन बिक्री भएका छन् ।

एप्पलको स्थान खस्कियो

रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा २२.७ प्रतिशत हिस्साका साथमा दक्षिण कोरियाली कम्पनी सामसुङ पहिलो स्थानमा छ । यस अवधिमा सामसुङले ८ करोड ४ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामसुङले २.९ प्रतिशत धेरै स्मार्टफोन बजारमा पठाउन सफल भएको छ ।

त्यस्तै १४.७ प्रतिशत बजार हिस्साका साथ हुवावे दोश्रो स्थानमा छ । उसले यस अवधिमा ५ करोड १९ लाख गोटा स्मार्टफोन बेचेको छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा हुवावेका स्मार्टफोनको शिपमेन्टमा २२ प्रतिशतको गिरावट आएको छ ।

उता विश्वको सर्वाधिक मूल्यवान कम्पनी एप्पलले भने विश्वको सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको रुपमा आफ्नो तेश्रो स्थान गुमाउन पुगेको छ । एप्पललाई चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पछाडि पारेको छ । शाओमीले आफ्नो बजार हिस्सा १३.१ प्रतिशत पुगेको छ । तेश्रो त्रैमासिकमा शाओमीले ४ करोड ६५ लाख ओटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

खासगरी विकासशील विकासोन्मुख देशहरुमा सुपथ तथा मध्यम मूल्यका स्मार्टफोनको मागमा भएको उच्च वृद्धिका कारण शाओमीका स्मार्टफोनको बिक्रीमा उल्लेख्य बढोत्तरी गरेको छ । गत वर्षको तेश्रो त्रैमासिकको तुलनामा यो वर्षको तेश्रो त्रैमासिकमा शाओमीले ४२ प्रतिशत धेरै स्मार्टफोन बेच्न सफल भएको हो ।

चौथो स्थानमा झरेको एप्पलको बजार हिस्सा ११.८ प्रतिशतमा खुम्चिएको छ । तेश्रो त्रैमासिकमा एप्पलले ४ करोड १६ लाख थान आइफोन बेचेको छ ।

अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो चौथो स्थानमा छ, जसको बजार हिस्सा ८.९ प्रतिशत रहेको छ । यस अवधिमा भिभोले ३ करोड १५ लाख वटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment