१६ कात्तिक, काठमाडौं । दशैं अघिको तुलनामा काठमाडौं उपत्यकामा तरकारी तथा फलफूलको भाउमा केही उतारचढाव देखिएको छ । दशैं सुरु भएको पहिलो साताको तुलनामा दशैं सकिँदा २७ प्रकारका तरकारी तथा फलफूलको भाउ घटेको छ ।
हरियो खुर्सानी, धनीया, च्याउ, रायो साग, बरेला, हरियो फर्सी लगायतको तरकारीको भाउ धेरै घटेको छ । यस अवधिमा घिरौंलाको भाउ नै प्रतिकिलो १७ रुपैयाँले सस्तीएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।
भाउ घटेका तरकारी मूख्य तरकारी
| तरकारीको नाम | औषत थोक मूल्य | ||
| कार्तिक १ | कार्तिक १६ | ||
| १. | गोलभेडा सानो | ६५ | ५८ |
| २. | आलु रातो | ९४ | ९१ |
| ३. | काउली स्थानीय | ७८ | ६५ |
| ४. | मूला लोकल | ३३ | २८ |
| ५. | भन्टा लाम्चो | ५५ | ३८ |
| ६. | घिउ सिमी | ४० | ३३ |
| ७. | लौका | ४८ | ३३ |
| ८. | परवर | ९५ | ७८ |
| ९ | घिरौला | ५० | ३३ |
| १० | बरेला | ६० | २८ |
| ११ | रायो साग | ५५ | २२ |
| १२. | प्याज हरियो | १४५ | ९५ |
दशैं लगत्तै २५ वटा तरकारी तथा फलफूलको भाउ भने बढेको छ । उत्पादन सिजन सकिएको तथा भारतबाट आउने तरकारीको भाउ यस अवधिमा बढेको व्यवसायी बृजभुसन मल्लिक बताउँछन् ।
यस्तै बजारमा भर्खरै आउन सुरु भएर माग उच्च रहेका तरकारीको मूल्य पनि केही मात्रामा बढेको छ । नेपाली गोलो गोलभेडा, भारतीय रातो आलु, सुकेको प्याज, करेला, तनेबोडी र कांक्रोको मूख्य उत्पादन सिजन सकिएकाकारण मूल्य बढेको छ ।
भर्खरै बजारमा आउन थालेको पालुंगो र चमसुरको साग लगायतको तरकारीको भाउ पनि यस अवधिमा बढेको छ ।
भाउ बढेका मुख्य तरकारी
| तरकारीको नाम | औषत थोक मूल्य
|
||
| कार्तिक १ | कार्तिक १६ | ||
| १. | भारतीय रातो आलु | ६१ | ६८ |
| २. | सुकेको भारतीय प्याज | १११ | १२८ |
| ३. | बन्दा | ४८ | ५५ |
| ४. | तने बोडी | ८५ | ९८ |
| ५. | तिते करेला | ५५ | ६८ |
| ६. | पालुंगो साग | ६५ | ९५ |
| ७. | चमसूर साग | ६५ | ९५ |
| ८. | कांक्रो लोकल | ४५ | ९५ |
| ९. | कांक्रो हाईब्रिड | २८ | ४८ |
| १० | अदुवा | ६५ | ७५ |
| ११ | अकबरे खुर्सानी | ३२५ | ३५५ |
बजार विकास समितिको तथ्याङ्कअनुसार दशैं अघि र पछिको अवधिमा १० वटा तरकारी तथा फलफूलको मूल्य भने स्थिर छ ।
टनेलको सानो गोलभेडा, मकै बोडी, पाकेको फर्सी, भिण्डी, भारतीय स्याउ, गुन्द्रुक लगायतका तरकारीको थोक मूल्यमा भने कुनै फरक देखिएको छैन् ।
मूल्य स्थिर रहेका तरकारी
| तरकारीको नाम | औषत थोक मूल्य | ||
| कार्तिक १ | कार्तिक १६ | ||
| १. | टनेलको सानो गोलभेडा | ७५ | ७५ |
| २. | मकै बोडी | ३८ | ३८ |
| ३. | पाकेको फर्सी | ३३ | ३३ |
| ४. | भिण्डी | ७८ | ७८ |
| ५. | गुन्द्रुक | २९५ | २९५ |
| ६. | केरा | ८५ | ८५ |
| ७. | ताजा माछा | १९५ | १९५ |
दशैंको पछिल्लो १५ दिनमा कालीमाटी फलफूल तथा तरकारी बजारमा ६७ लाख ४७ हजार किलो तरकारी तथा फलफूल र माछा भित्रिएको छ । जसमध्ये ५४ लाख किलो हरियो तरकारी मात्रै छ ।
कात्तिक पहिलो साता दैनिक कम्तिमा तीन लाखदेखि ६ लाख किलोसम्म तरकारी भित्रिएको बजारमा दशैं अवधिमा निकै कम मात्रामा तरकारी भित्रिएको थियो ।
औसत ७ लाख किलो तरकारी भित्रिने बजारमा दशैंभरी एक लाख ५७ हजार देखि तीन लाख किलोसम्म मात्रै तरकारी भित्रिएको थियो । दशैं बिदा सकिएपछि भने बजारमा तरकारीको आयात बढेको छ ।
कात्तिक १३ गते बजारमा ४ लाख १३ हजार किलो तरकारी आएको थियो । यस्तै १४ गते ३ लाख ९२ हजार किलो र १५ गते ४ लाख ६२ हजार किलो तरकारी बजारमा आएको थियो ।
बजारमा आउन थाल्यो चिनियाँ प्याज
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा चीनबाट प्याज आयात हुन थालेको छ । लसुन र फलफूलसंगै ट्रायलका रुपमा व्यवसायीले थोरै मात्रामा बजारमा चिनियाँ प्याज ल्याएको बजार विकास समितिले जनाएको छ ।
ठूलो दाना र अलि धेरै पानी हुने भएकाले उपभोक्ताले कम मात्रामा चिनियाँ प्याज खरिद गरेको एक व्यवसायीले बताए ।
गत शुक्रबार कालीमाटी तरकारी बजार विकास समितिले चिनियाँ प्याजको प्रतिकिलो मूल्य १३० रुपैयाँ तोकेको थियो । अहिले भने समितिको मूल्य सूचीमा चिनियाँ प्याजको मूल्य उल्लेख छैन ।
प्रतिक्रिया 4