Comments Add Comment

ट्रम्पले चार वर्षमा चालेका विश्वमा तरङ्ग ल्याउने ७ कदम

१६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचन अब दुई दिन मात्र टाढा छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

पछिल्लो चार वर्षको ट्रम्पको कार्यकालमा अमेरिकाको राजनीतिक तथा रणनीतिक हिसाबमा धेरै परिवर्तन भएका छन् । विश्वकै शक्तिराष्ट्र भएकाले अमेरिकामा हुने परिवर्तनको असर संसारभर देखिन्छ ।

उनी दोस्रो कार्यकालका लागि निर्वाचित हुने नहुने निश्चित छैन तर उनले चार वर्षमा लिएका सात कदमले विश्व राजनीतिमा नै तरङ्ग सिर्जना गर्‍यो । उनी निर्वाचित भए यीमध्ये केही नीतिले निरन्तरता पाउनेछन्, बाइडन आए त्यसमा केही परिवर्तन आउनेछ ।

अमेरिकालाई हेर्ने विश्वको नजर

चार वर्षअघि राष्ट्रपति बन्दै गर्दा ट्रम्पले अमेरिकालाई विश्वको सबैभन्दा महान मुलुक बनाउने उद्घोष गरेका थिए । यद्यपि १३ मुलुकमा गरिएको हालैको एक अध्ययनले भने उनले अमेरिकालाई महान बनाउने दिशामा खासै केही गर्न नसकेको देखाएको छ । सो अध्ययनले अमेरिकाप्रतिको सकारात्मक धारणा २० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको उल्लेख गरेको छ । अध्ययनका अनुसार बेलायतमा ४१ प्रतिशतले अमेरिकाप्रति सकारात्मक धारणा राख्दा फ्रान्समा ३१ तथा जर्मनीका केवल २६ प्रतिशतले अमेरिकाप्रति सकारात्मक धारणा राखेका थिए ।

जलवायु परिवर्तनको मुद्दाबाट बाहिरिनु

सन् २०१५ मा फ्रान्सको पेरिसमा जलवायु परिवर्तन न्यूनीकरणका लागि भएको सम्झौताबाट ट्रम्पले बाहिरिने निर्णय गरेका थिए । यो निर्णयले विश्व राजनीतिमा हलचल ल्यायो । अहिले जलवायु परिवर्तन न्यूनीकरण गर्ने सम्झौतामा आवद्ध मुलुकको नेतृत्व चीनले गरिरहेको छ । विपक्षी उम्मेदवार बाइडनले मंगलबार हुने निर्वाचनमा जित हात पारे यो सम्झौतामा अमेरिकालाई पुनः जोड्ने घोषणा गरेका छन् ।

ट्रम्पले भने जलवायु परिवर्तनको मुद्दालाई बेवास्ता गर्दै आएका छन् । उनले जलवायु परिवर्तनको न्यूनीकरणको लागि चालिएको कदमले अमेरिकालाई ठूलो नोक्सानी हुने भन्दै यसबाट बाहिरिने निर्णय गरेका थिए । ट्रम्प पुनः निर्वाचित भए विश्वमा जलवायु परिवर्तनको असर अपेक्षा गरिएको तहमा राख्ने कार्य जटिल हुनेछ ।

आप्रवासी नीतिमा कडाइ

ट्रम्पको कार्यकालमा अमेरिकामा आउने आप्रवासीमा कडाइ गरिएको थियो । पदको शपथ लिएको केही सातामा नै ट्रम्पले सात मुस्लिम मुलुकबाट अमेरिका भ्रमणका लागि आउने मानिसहरुमा कडाइ गरेका थिए । जसको व्यापक आलोचना भयो । अहिले यो कडाइको सामना गर्ने मुलुकको संख्या १३ पुगेको छ । सन् २०१९ को तथ्यांकअनुसार सन् २०१६ को तुलनामा विदेशमा जन्मिएका अमेरिकामा बस्ने मानिसको संख्या तीन प्रतिशतले बढी छ । यद्यपि अमेरिकामा आप्रवासीको वृद्धिदर भने उनको कार्यकालमा घटेको छ ।

ट्रम्पको कार्यकालमा मेक्सिकोमा जन्मिएर अमेरिकामा बसोबास गर्नेको संख्यामा भने कमी आएको छ । तर, बाँकी ल्याटिन अमेरिकाबाट आएर अमेरिकामा बसोबास गर्नेको संख्यामा भने वृद्धि भएको छ । साथै उनको कार्यकालमा अमेरिकामा आउने शरणार्थीको संख्यामा पनि निरन्तरको कमी देखिएको छ ।

अमेरिकाको ‘अन्त्यहीन युद्ध’ र मध्यपूर्वको सम्झौता

सन् २०१९ को फेब्रुअरीमा ट्रम्पले महान राष्ट्रले ‘अन्त्यहीन युद्ध’ नलड्ने भन्दै सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरे । त्यसका साथै उनले इराक र अफगानिस्तानबाट पनि आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरेका छन् । तर, उनले आफ्नो पदभार सुरु गर्दा जहाँजहाँ अमेरिकी सैनिक थिए, त्यहाँ अहिले पनि अमेरिकी सैनिकहरु छन्, तर संख्या भने घटेको छ ।

साथै मध्यपूर्वको अमेरिकाको रणनीतिमा पनि ट्रम्पको कार्यकालमा उल्लेख्य परिवर्तन देखिएको छ । सन् २०१८ मा ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको मान्यता दिँदै अमेरिकी दुतावास तेल अभिभबाट जेरुसलेममा सार्ने निर्णय गरेका थिए । गत महिना अमेरिकालाई साथ दिँदै यूएई र बहराइनले पनि इजरायलसँग सम्झौता गरेका थिए । यी दुई मुलुकहरु इजरायल स्वतन्त्र भएपछि उसलाई मुलुक मान्ने तेस्रो र चौथो मुलुक हुन् । ट्रम्पका समर्थकले यसलाई उनको प्रशासनको सबैभन्दा ठूलो कूटनीतिक उपलब्धि भएको बताउँदै आएका छन् ।

व्यापार सम्झौताबाट बाहिरिने निर्णय

ट्रम्पले आफ्नो कार्यकाल सुरु गरेको केही समयमा नै १२ मुलुकहरुसँगको ट्रान्स प्यासिफिक पार्टरसिप सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । यो सम्झौताबाट अमेरिका बाहिरिँदा चीनलाई सबैभन्दा फाइदा पुगेको बताइएको छ । यो सम्झौतामा अमेरिका चीनको एसिया–यासिफिक क्षेत्रमा बढ्दो प्रभाव नियन्त्रणको लागि समावेश भएको थियो । यद्यपि ट्रम्पका समर्थकहरुले भने यो सम्झौताबाट बाहिरिँदा अमेरिकाको धेरै रोजगारी बाहिर जानबाट जोगिएको बताएका छन् ।

त्यस्तै ट्रम्पले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई पनि अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भन्दै पुनः वार्ता गरेका थिए । उनले व्यापारमा लिएको नीतिको कारण अमेरिकाको चीनसँग व्यापारयुद्ध सुरु भएको थियो । जसको कारण अहिले दुबै मुलुकले एकअर्काका अर्बौं डलरका सामानमाथि अतिरिक्त भन्सार शुल्क लगाएका छन् । सन् २०१९ मा अमेरिकाको चीनसँगको व्यापार घाटा सन् २०१६ को तुलनामा केही कम देखिएको छ । जसका कारण ट्रम्पले लगाएको अतिरिक्त भन्सारबाट बच्न अमेरिकी कम्पनीले चीनबाट कम सामान खरिद गर्नु हो ।

चीनसँगको बढ्दो तनाव

ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएसँगै चीनप्रति अनुदार नीति अपनाउँदै आएका थिए । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले ताइवानकी राष्ट्रपतिसँग फोन बार्ता गरेका थिए । यससँगै अमेरिकाको चीनसँगको तनाब सुरु भएको थियो । त्यसयता अहिले अमेरिका–चीन सम्बन्ध अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकाले चीनमाथि दक्षिण चीन सागरको मुद्दा उठाउने, चिनियाँ सामानमाथिको अतिरिक्त कर बढाउने, लोकप्रिय चिनियाँ एपमाथि अमेरिकामा प्रतिबन्ध लगाउनेजस्ता कदम चालिरहेको छ ।

साथै कोरोना भाइरस (कोभिड–१९) लाई पनि ट्रम्पले ‘चिनियाँ भाइरस’को संज्ञा दिएसँगै दुई मुलुकको सम्बन्ध थप कमजोर बनेको थियो । मंगलबारको निर्वाचनमा ट्रम्पले जित हासिल गरे चीनसँगको अमेरिकाको तनाव अझै बढ्न सक्ने अपेक्षा गरिएको छ ।

इरानसँग युद्ध नजिकको सम्बन्ध

ट्रम्पको कार्यकालमा अमेरिकाको इरानसँग लगभग युद्धको अवस्था आयो । उनले इरानसँगको आणविक सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिवन्धको निर्णय गरेसँगै तनाव बढेको थियो । यसै क्रममा अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली अधिकारी कासिम सुलेमानीको इराकमा हत्या गर्‍यो । त्यसको जवाफमा इरानले इराकमा रहेको अमेरिकी क्याम्पमा मिसाइल आक्रमण गर्‍यो । यो आक्रमणमा एक सयभन्दा धेरै अमेरिकी सेना घाइते भएका थिए ।

यस्तोमा विश्लेषकहरुले इरान–अमेरिका युद्धको अवस्थामा पुगेको बताएका थिए । वास्तवमा उनीहरुको बीचमा युद्ध त भएन, तर धेरै निर्दोष मानिसहरुले यो तनावका क्रममा ज्यान गुमाएका थिए । तनाबका क्रममा इरानले भुलवस युक्रेनको विमानलाई मिसाइल हानी खसाएको थियो । जसमा सवार १७६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment