Comments Add Comment

पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

१६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् ।

तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) बीच देखिएको मतभेदकै कारण पार्टी एकता संकटमा परेकाले आफ्नो कुरा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको महासचिव पौडेलले अनलाइनखबरलाई बताए । पौडेलले भने, ‘निकै चिन्तित बनेको छु, त्यसैले आफ्नो कुरा सार्वजनिक गरेको हुँ ।’

महासचिव पौडेलले राजनीतिक स्थायीत्व सुनिश्चित गर्न, संविधानको प्रभावकारी कार्यान्वयन र ‘समृद्ध नेपाली, सुखी नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवाद तर्फ अगाडि बढ्न पार्टी एकता भएको उल्लेख गरेका छन् । तर, अहिले एकताको औचित्व बिपरीत पार्टी संकटतिर धकेलिएको उनले बताए ।

ओली–प्रचण्ड बीच ११ दिन पछाडि शनिबार दिउँसो भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्तामा समेत कुनै ठोस् सहमति जुट्न नसकिरहेका बेला महाचिव पौडेलले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

विभाजनकै डिलमा पुगेर अडिएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने गरी गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । तर, भदौ २६ को स्थायी कमिटीको बैठकको निर्णयअनुसार, नेकपामा कुनै पनि काम हुन सकेको छैन । बरु, कात्तिक १५ बाट बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ भने दुई अध्यक्ष बीच राम्रोसँग सम्वाद समेत हुन सकिरहेको छैन ।

विशेषगरी कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तयार, मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस लगायत केही निर्णयले नेकपाभित्र फेरि जटिलता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment