
१६ कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुस लिएको आरोपमा सप्तरीमा कार्यरत एकजना प्रहरी नायब निरीक्षक (सई)सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सप्तरी प्रहरी चौकी तिलाठीमा कार्यरत सई सिकन्दरप्रसाद कानुलाई सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सेवाग्राहीसँग लिएको उक्त रकम कानुले सोही कार्यालयमा कार्यरत प्रहरी जवान रामईश्वर मण्डलमार्फत स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएको पाइएको प्रवक्ता अधिकारीले बताए । प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल फिर्ता दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएको उनले बताए ।
तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्हीबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।
सशस्त्रका जवान पनि अख्तियारको नियन्त्रणमा
यसै गरी महोत्तरीको गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।
घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग १७ हजार ६ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले चौहानलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले चौहानलाई उक्त रकम घुस लिइसकेको अवस्थामा गौशाला नगरपालिका–२ स्थित निगौल चोकबाट नियन्त्रणमा लिएको अधिकारीले बताए ।
प्रतिक्रिया 4