Comments Add Comment

रौतहटमा फेरि बढ्यो कोरोना संक्रमण, एक सातामै १०० संक्रमित

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव

१७ कात्तिक, रौतहट । दसैँं सकिएलगत्तै रौतहटमा कोरोना संक्रमितको संख्या पुनः तीब्र गतिमा बढ्न थालेको छ । आइतबार एकै दिन रौतहटमा १४ नयाँ संक्रमित फेला परेका छन् ।

बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार कोरोना महामारी पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएको छ, तर सुरक्षाको उपाय भने अपनाएको पाइँदैन ।

स्थानीयले मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छोडेका छन् । संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेपछि अवस्था जटिल बन्ने देखिएको चिकित्सकहरु बताउँछन् ।

पछिल्लो एक सातामा रौतहटमा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

रौतहटमा हाल २ हजार ६४ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोनाका कारण रौतहटमा हालसम्म १३ जनाले ज्यान गुमाएका छन् ।

‘बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनु, सचेतना नअपनाउने बानीले गर्दा जोखिम झनै बढेको छ’ गौर अस्पतालका डा. कृष्ण साहले भने ‘चाडबाडका बेला भएको भिडभाडले संक्रमण फैलिएको हो । अझै पनि सचेत हुन सकिएन भने अवस्था भयावह हुन सक्छ ।’

पछिल्लो समय, स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि, कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकपछि नयाँ रणनिति तयार गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

संक्रमणको शंका लागेका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको परीक्षण गर्दा संक्रमितको संख्या बढेको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि परीक्षण नै नगराएर घरमै बस्नेको संख्या पनि रौतहटमा धेरै रहेको छ । सकेसम्म परीक्षण नगराउने पक्षमा रहेकाहरु ज्वरोले च्यापेपछि मात्रै स्वाब परीक्षणका लागि जिल्ला अस्पताल गौरमा रहेको ल्याबमा जाने गरेका छन् ।

दीपावली तथा छठ पर्व नजिकिदै जाँदा बजारमा बढेको भिडभाडले पनि संक्रमण बढ्ने जोखिम छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment