Comments Add Comment

प्रचण्डलाई ओलीसँग संवाद अघि बढाउन भनेका छौं : श्रेष्ठ

१७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्न दुई अध्यक्षबीच फेरि संवाद गर्नुपर्ने बताएका छन् ।

सोमबार बिहान आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको बताएका हुन् ।

‘ हामीले के भन्यौं भने ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । …ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं’ उनले भने ।

गत शनिबार प्रचण्ड र केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो । उक्त कुराकानीबारे प्रचण्डले आफूनिकट सचिवालय सदस्यलाई ब्रिफिङ गरेका थिए ।

प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङ पछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओली बीच कुनै संवाद हुन नसकेको पनि बताए ।

ब्रिफिङमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनैपनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राखेको जानकारी गराएका श्रेष्ठले बताए ।

अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको श्रेष्ठले बताए ।

दुई अध्यक्षबीच भएको उक्त कुराकानीबारे श्रेष्ठले भने :

‘अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनुभए अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । बैठक किन बस्न काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिन तपाईहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस, स्थायी कमिटीबाट निर्णय गर्नुस, सचिवालयको निर्णय गर्नुस तर बहुमतले गरेको निर्णय म मान्दिन । भनेपछि तपाईहरुले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दाभन्दैपनि तपाईहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईहरु तयार हुनुहोस् । अथवा सल्लाह गरेर अलगअलग होऔं । अब एकैठाउँ बस्न सकिन्न भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनुभएको थियो ।’

प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताए ।

पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment