
१८ कात्तिक काठमाडौं । कोरोना संक्रमणको कारण छ दिनदेखि वेहोस रहेका पूर्व वाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको मंगलबार होस खुलेको छ ।
ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्मा कोरोना रिपोर्ट पनि नेगेटिभ आएको स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिए । उनले भने, ‘चिकित्सकहरुले स्वास्थ्यमा क्रमिक सुधार भएको र फोक्सोले पनि काम गर्न थालेको बताउनुभएको छ ।’
गत १ कात्तिकमा कोरोना पोजेटिभ आएपछि चिकित्सकहरुले नेता विश्वकर्मालाई होम आइसोलेसनमा बस्न सुझाएका थिए । त्यतिबेला उनमा ज्वरो र खोकी देखिएको टेकबहादुरले बताए । उनले भने, ‘१०३ डिग्रीसम्म ज्वारो आएपछि उहाँलाई वीर अस्पतालको भीआईपी कक्षमा उपचारका लागि लगेका थियौँ ।’
कात्तिक ८ गते वीर अस्पतालमा पुर्याएपछि नेता विश्वकर्माको श्वासप्रश्वासमा समस्या देखियो । तर, १२ गतेसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार आउन नसकेपछि ग्राण्डी अस्पतालको आईसीयूमा पु¥याइएको थियो । टेकबहादुरले भने, ‘उहाँको श्वास प्रश्वासमा समस्या देखिएको थियो तर, प्रष्टसँग बोल्न सक्नुहुन्थ्यो ।’
परीक्षणको क्रममा नेता विश्वकर्माको फोक्सोमा निमोनिया देखियो । जसले गर्दा फोक्सोमा अक्सिजनको कमी भयो र श्वसप्रश्वासमा थप जटिलता देखापर्यो । छ दिनअघि उनी बेहोस भए । ‘बेहोस भएको दुई दिनमा फोक्सोले समेत काम गर्न छाडेपछि भेन्टिलेटरमा राखिएको हो’ टेकबहादुरले भने ।
मंगलबारबाट नेता विश्वकर्माको फोक्सोले पनि काम गर्न थालेको र स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले बताएको छ । तर, उनलाई भेन्टिलेटरबाट भने अझै निकालिएको छैन ।
संक्रमणपछि नेता विश्वकर्मासँग कोही पनि आफन्तलाई भेट्न दिइएको छैन । मंगलबार उनले हातको इसारा गरेको चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया 4