News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत २० कर्मचारीले १ करोड ९७ लाख ७५ हजार ७ सय ८२ रुपैयाँ ४५ पैसा तलब र भत्ता बक्यौता रहेको बताएका छन् ।
- कर्मचारीले पूर्वसूचना बिना रोजगारी अन्त्य गरेको र आधिकारिक अवकाशपत्र नदिएको भन्दै जिल्ला प्रशासन, नगरपालिका र वडा कार्यालयमा पहल गरिदिन अनुरोध गरेका छन् ।
- कम्पनीले खर्चको आधिकारिक विवरण र कर्मचारी नियुक्ति कागजात पाए तलब तथा भत्ता तत्काल भुक्तानी गर्ने जनाएको छ ।
१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् ।
आयोजनामा कार्यरत कर्मचारीले तलब, भत्ता र अन्य खर्चसमेत गरी १ करोड ९७ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको भन्दै सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका हुन् ।
पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्द्धित १५.६२५ मेगावाट क्षमताको आयोजनामा कार्यरत कर्मचारीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को आंशिक अवधिदेखि २०८३ सालसम्मको तलब तथा भत्ता पाउन बाँकी रहेको बताएका छन् ।
एक कर्मचारीका अनुसार दसैं भत्ता र अन्य विविध खर्चसमेत गरी कम्पनीले १ करोड ९७ लाख ७५ हजार ७ सय ८२ रुपैयाँ ४५ पैसा भुक्तानी गर्न बाँकी छ ।
उनीहरूले उक्त रकम भुक्तानी गराउन पहल गरिदिन नुवाकोट जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा अनुरोध गरेका छन् । उक्त कम्पनीमा कार्यरत २० कर्मचारीले लामो समयदेखि काम गरेको तलब दिनुको सट्टा कम्पनीले पूर्वसूचनाविना रोजगारीबाट अवकाश दिएको जनाएका छन् । त्यसबापत बक्यौता रकम समेत भुक्तानी नगरेको आरोप लगाएका हुन् ।
उनीहरूका अनुसार २ असोज २०८३ मा कम्पनीले पत्र जारी गर्दै उक्त मितिदेखि लागु हुने गरी सम्पूर्ण कर्मचारीको रोजगारी सम्झौता अन्त्य गरिएको जनाएको थियो । तर, प्रत्येक कर्मचारीलाई व्यक्तिगत रूपमा रोजगारी अन्त्य भएको आधिकारिकपत्र भने उपलब्ध नगराइएको उनीहरूको गुनासो छ ।
आधिकारिक अवकाशपत्र प्राप्त नभएसम्म रोजगारी सेवाको निरन्तरता रहने दाबी गर्दै कर्मचारीले श्रम ऐन २०७४ को दफा १४८ (३) बमोजिम रोजगार करार सम्झौता अनुसार बक्यौता र नियमानुसार ब्याजसमेत भुक्तानी गराउन माग गरेका छन् ।
बाढीमा कर्मचारी बेपत्ता, कम्पनीबाट सहयोग नभएको गुनासो
आयोजनामा कार्यरत कर्मचारीले १० भदौमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण आयोजना प्रभावित भएको र सामाजिक परिचालक पदमा कार्यरत दीपकबहादुर गुरुङ बेपत्ता भएको बताएका छन् ।
बाढीबाट भौतिक क्षतिसमेत भएको र कर्मचारी मानसिक रूपमा विचलित भएको अवस्थामा कम्पनी सञ्चालक समिति पदाधिकारीबाट खोजी, हेरविचार तथा सहयोग नभएको उनीहरूको आरोप छ ।
कर्मचारीका अनुसार आयोजना स्थल भ्रमण क्रममा सञ्चालकहरूले तलब तथा भक्ता र निर्माण त्रममा भएका अन्य खर्च भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । कम्पनीको बैंक खातामा रकम मौज्दात हुँदासमेत भुक्तानी नभएको उनीहरूको भनाइ छ ।
१७ असोजमा कम्पनी अध्यक्ष विश्वनाथ कँडेल, सञ्चालक सदस्य गौरव बस्नेत र आयोजना निर्देशक दिनेश दहालले आयोजना स्थल भ्रमण गरेका थिए ।
भ्रमण क्रममा कर्मचारीले तलब तथा भत्ताको विषय उठाउँदा अध्यक्ष कँडेल र सञ्चालक सदस्य बस्नेतको उपस्थितिमा निर्देशक दहालले दसैंअघि नै सम्पूर्ण कर्मचारीको बैंक खातामा तलब तथा भत्ता जम्मा गर्ने र अन्य खर्चसमेत भुक्तानी गर्ने प्रतिबद्धता जनाएको कर्मचारीको भनाइ छ । तर, प्रतिबद्धता अनुसार हालसम्म रकम भुक्तानी नभएको उनीहरूले बताएका छन् ।
हिसाब देखाए तलब भुक्तानी गर्छौं : कम्पनी
यता कम्पनीका आयोजना निर्देशक दिनेश दहालले कर्मचारीको तलब तथा भत्ता भुक्तानी गर्न कम्पनी तयार रहेको बताएका छन् । तर, आयोजनामा भएको खर्च र कर्मचारीको नियुक्ति सम्बन्धी विवरण उपलब्ध नभएकाले हिसाब मिलान गर्न समस्या भएको उनको भनाइ छ ।
दहालले पुरानो हिसाब देखाउन आग्रह गर्दा हालसम्म कुनै पनि हिसाब उपलब्ध नगराइएको बताए ।
‘के कति खर्च भयो, कर्मचारीहरूको नियुक्तिपत्र लगायत विवरण देखाउनुपर्छ भन्ने हाम्रो अडान हो,’ दहालले भने, ‘सबै खर्चको आधिकारिक विवरण पेस गरेको खण्डमा काम गरेका कर्मचारीहरूको तलब तथा भत्ता तत्काल भुक्तानी गरिदिन्छौं ।’
कम्पनीले खर्चको आधिकारिक विवरण र कर्मचारी नियुक्ति सम्बन्धी कागजात माग गरेको जनाएको छ । कर्मचारीले भने आफूहरूले लामो समयदेखि काम गरेको तलब तथा भत्ता नपाएको भन्दै सम्बन्धित निकायबाट आवश्यक पहल गरिदिन माग गरेका छन् ।
आयोजनामा कर्मचारीको बक्यौता तलब तथा भत्ता भुक्तानी र रोजगारी अन्त्यसम्बन्धी विवाद समाधान हुन नसक्दा कर्मचारीहरू अन्योलमा छन् ।
प्रतिक्रिया 4