Comments Add Comment

तुलसीपुर उपमहानगरमा ‘स्मार्ट छोरी’ कार्यक्रम

१९ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ ।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सय रुपैयाँका दरले खातामा रकम जम्मा हुनेछ । २० वर्ष पछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न पाइने छ ।

२०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् । ‘कार्यविधि ढिला पारित भए पनि २०७७ साउन १ गतेदेखि नै उपमहानगरपालिकाले रकम जम्मा गरिदिने छ,’ उनले भनिन् ।

माविसम्म नपढेमा र २० वर्ष अगाडि नै बिहे गरेमा रकम नपाउने

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ । ‘बिचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुनेछ,’ उपप्रमुख शर्माले बताइन् ।

कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पूरै दिनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment