Comments Add Comment

चाडपर्वमा दोब्बर भए ई–कमर्सका ग्राहक

१९ कात्तिक, काठमाडौं । ‘दराज अनलाइन सपिङ’को आधिकारिक फेसुबक पेजमा असोज ३० गते एउटा पोष्ट देखियो, जसमा अल्फा ब्रान्डको विद्युतीय मिक्स्चरको मूल्य अर्को अनलाइन सपिङ साइट ‘सस्तोडिल’सँग तुलना गरिएको थियो ।

सस्तो डिलमा २ हजार ९९९ रुपैयाँ तोकिएको सो मिक्स्चरको मूल्य दराजमा २ हजार ६५० थियो ।

त्यसको काउन्टरमा सस्तोडिलले मिक्स्चरको मूल्य घटाएर २ हजार ५४९ रुपैयाँ बनायो । दशैंको माहोलमा ई–कमर्स साइटबीच धेरै सामानमा मूल्य प्रतिस्पर्धा भएको लाभ उपभोक्ताले उठाउन पाए । दशैंको छेकामा धेरै सामान एकैपटक अर्डर आउन पाएपछि ‘मास भोल्युम’मा सामान बिक्री हुँदा प्रतिस्पर्धा गर्न पनि सहज भएको ई–कमर्स साइट सञ्चालकहरु बताउँछन् ।

दसैंले उचालेको अनलाइन बजार

चैतमा लागु लकडाउन अन्त्य भएसँगै असारदेखि विभिन्न व्यवसाय विस्तारै बौरिन थालेका थिए ।

त्यसमध्ये सबैभन्दा छिटो पुनर्जीवित हुने व्यवसाय थियो, अनलाइनमार्फत हुने ब्यापार अर्थात् ई–कमर्स ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनमा केही हप्ता बन्द रहेका ई–कमर्स साइटले चार्डपर्वको छेकामा भने चौका दाउ नै लगाए । उनीहरुले दसैं लागेपछि सामान्य अवस्थाकोभन्दा दोब्बरसम्म कारोबार गरे ।

किनमेलका लागि बाहिर भीडभाड जान नचाहनेहरु धेरै भए । लकडाउनमा घरमै बसेर समान अर्डर गर्ने सुविधा धेरै शहरीया मध्यम तथा उच्च वर्गले प्रयोग गरे ।

घरघरै समान पुर्याइदिने ई–कमर्स मोडलले यो पटकको दसैंमा अझ राम्रो नतिजा निकाल्यो । बढिहरेको ई–कमर्सलाई भौतिक दूरी कायम गर्नुपर्ने लगायतका अवस्थाले थप प्रवर्द्धन गरेको ई–कमर्स साइट सञ्चालक कम्पनीहरु बताउँछन् ।

चाडपर्वको समयमा हुने किनमेलका लागि यसपटक विगतको भन्दा उच्चदरमा ग्राहकले अनलाइन माध्यम प्रयोग गरे । अनलाइनबाटै सामान अर्डर गर्ने र मूल्य पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्ने क्रम अहिले बढ्दो छ । दसैंमा भएको अनलाइन कारोबारले यसलाई नयाँ उचाइमा लग्यो ।

चल्तीका ई–कसर्म साइटहरुले अहिले काठमाडौंको चक्रपथ बाहिर पनि निःशुल्क डेलिभरी दिइरहेका छन् ।

मूल्य भुक्तानीका लागि आईएमई–पे, प्रभु–पे, सेल–पे, खल्ती लगायतका भुक्तानी सेवा प्रदायकहरुको ई–वालेट प्रयोग गरिन्छ । त्यसबाहेक एटीम कार्ड ‘स्वाप’ गर्न मिल्ने ‘पीओएस’ मेसिन बोकेर डेलिभरी दिनेहरु घर–घर पुग्छन् । नगदमै पनि भुक्तानी दिन सकिने व्यवस्था ई–कमर्स साइटहरुले गरेका छन् ।

दसैंको बेला कारोबार स्वभाविक रुपमा बढ्ने भएपनि यसवर्ष कोभिडका कारण थप बल मिलेको बताउँछन् अलीबाबाको नेपाल प्रतिनिधि कम्पनी ‘दराज’का चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल ।

यो वर्ष दसैंका बेला ग्राहक घटेर खुला बजारका पसलेहरु टाउकामा हात लगाएर बसिरँदा ई–कमर्स साइटहरुलाई अर्डर लिन र डेलिभरी दिन भ्याई–नभ्याई थियो । त्यसमाथि, दशैंका लागि उनीहरुले केही छुटसहितका स्किहरु पनि ल्याएका थिए ।

दोब्बरसम्म कारोबार

लकडाउनपछि ह्वात्तै बढेको ई–कमर्स साइटको ब्यापार चाडपर्वको समयमा दोब्बर भएको बताउँछन् ‘किराना’का सहसंस्थापक सागरदेव भट्ट ।

‘लकडाउनपछि ब्यासाय राम्रो हुँदै गएकोमा दशैंमा त अर्डरको लहर नै आयो’, उनले भने, ‘अनलाइन कारोबारमा नेपाली उपभोक्ता अभ्यस्त बन्दै गएको लक्षण पनि हो यो ।’ भविष्यमा ई–कमर्सलाई आम जनतामाझ पुर्‍याउन सकिने भन्दै उनले लकडाउनपछिको अप्ठेरो अवस्था र त्यसपछिको चाडबाडका मौसममा ई–कमर्स प्रयोग गरेका ग्राहकको अनुभव महत्वपूर्ण हुने बताए ।

नेपालको सबैभभन्दा ठूलो अनलाइन सपिङ साइट ‘दराज’ले यो दशैंको समयमा ३ लाख वटा सामानको कारोबार गर्‍यो ।

चिफ कमर्सियल अफिसर प्याकुरेलका अनुसार ‘दराज’ले दशैंमा ६ हजार बिक्रेताका उत्पादन बेच्यो । उनको अनुभवमा यो दशैंमा फेसन आईटमभन्दा ईलेक्ट्रिकल र इलेक्ट्रोनिक्स समानमा उपभोक्ताको बढी चासो देखियो ।

दराजले दसैंमा आफ्नो प्लेटर्फममा बिक्रेताको बढाउन र मूल्यलाई प्रतिस्पर्धी बनाउन ‘सहयात्री’ योजना ल्याएको थियो ।

यसबाट ८०० बिक्रेता दराजमा भित्रिएको प्याकुरेल बताउँछन् । ‘अब अलिबाबाको ग्लोबल सेल मेला ११/११ पनि नोभेम्बर ११ मा गर्दैछौं’, उनी भन्छन्, ‘त्यसबाट पनि कम्पनीले ई-कसर्मको बजार फैल्याउन मद्धत पुग्नेछ ।’

अर्को अग्रणी अनलाइन सपिङ साइट ‘सस्तो डिल’को पनि अनुभव त्यस्तै छ । अघिल्लो वर्षभन्दा यसवर्ष २०० प्रतिशत बढी कारोबार भएको कम्पनीका चिफ कमर्सियल अफिसर अमितेष रोयले बताए ।

यो अवधिमा सस्तो डिलमार्फत रु.१० करोडभन्दा बढीको कारोबार भएको बताउँदै उनले भने, ‘ग्राहकहरु ई–सेवाप्रति विश्वास बढेको यसले देखाउँछ ।’ रोयका अनुसार ई–कमर्स साइट भिजिट गर्नेहरु ५०० प्रतिशतसम्म बढेको छ । साइटमा एकैपटक धेरै ग्राहक झुम्मिँदा अप्ठेरो समेत परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment