Comments Add Comment

नरवणे धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त, वसन्तपुरपछि पशुपति पुगे

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन धार्मिक कार्यमा व्यस्त भएका छन् । भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल गएका उनी त्यसयता काठमाडौंका धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त छन् ।

जंगीअड्डा स्रोतका अनुसार पत्नी विनासहित उनले पहिले वसन्तपुरमा कुमारीको दर्शन गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको कडा सुरक्षा व्यवस्थाका बीच उनी पशुपति मन्दिरको दर्शन गर्न समेत पुगेका छन् ।

उनको सुरक्षाका लागि सैनिक प्रहरीले अगुवा–पछुवा गाडीको व्यवस्था गरेको छ भने पछाडि नेपाल प्रहरीको एउटा टोली समेत खटिएको छ । नरवणेको नेपाल भ्रमणको मुख्य कार्यक्रम बिहीबार राखिएको छ ।

शितलनिवासमा उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् । बिहीबारै समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

शुक्रबार बिहान नरवणे आर्मी स्टाफ कलेज शिवपुरीमा गएर शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् भने त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment