+
+
Shares

विकास पर्खिरहेको ‘तुई’ दाङ

रासस रासस
२०७७ कात्तिक २० गते १०:४९
‘तुई' दाङ अर्थात् सानो दाङ भनेर चिनिने फूलबारी उपत्यका । फोटो : कुलदीप न्यौपाने

२० कात्तिक, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकाको विकट क्षेत्रमध्येको वडा हो, तुलसीपुर–१३ । यसलाई ‘तुई दाङ’ भनेर पनि चिनिन्छ । तुई दाङलाई जिल्लाको अर्को उपत्यकाका रुपमा पनि लिइन्छ । देख्दा सुन्दर देखिन्छ ।

नामै काफी छ ‘फूलबारी’ । चारैतिर चुरे पहाड अनि बीचमा बसेका सुन्दर बस्तीहरु । देख्ने जति सबैलाई मन लोभ्याउने ठाउँ हो ‘फूलबारी’ ।  समग्र दाङको झल्को दिने भौगोलिक अवस्था भएकाले पनि यसलाई तुई (सानो) दाङले चिनिन्छ ।

घोराही उपमहानगरपालिका, लमही नगरपालिकासँग सिमाना पर्छ । दाङका तीनवटै सहर (तुलसीपुर, घोराही र लमही) को बीच केन्द्र पनि पर्छ । बजारकै केन्द्र पर्ने भएकाले धेरैजनाको गन्तव्य बन्ने गर्छ । देख्दा सबैले वयान गर्ने त्यो ठाउँको वास्तविक व्यथा भने फरक छ ।

उपमहानगरपालिकाको एउटा वडा भएपनि सडक सञ्जालका हिसाबले निकै नाजुक रहेको स्थानीय दीपशिखा घर्तीको भनाइ छ । ‘ट्रयाक खोलिएको छ तर त्यसको स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन,’ घर्तीले भने, ‘नाम फूलबारी छ, तर सिँचाइको उचित व्यवस्थापन नहुँदा फूलबारीमा फूलहरु नै फूल्न छाडे ।’

यहाँका नागरिकले सिँंचाइ सुविधा माग्न थालेको धेरे भयो तर पनि अझै सम्बोधन हुन सकेको उनको गुनासो छ । केही ठाउँमा स्यालो ट्युबेल जोडिएको भएपनि ती ट्युबेलमा पनि पानी आउन छोडेको उनको भनाइ छ । सिँचाइ नहुँदा हजारौं विघा जग्गा बाँझो राख्नु पर्ने अवस्था रहेको उनले बताए ।

आकासेपानीको भरमा खेती गर्नुपर्ने त्यहाँका नागरिकको बाध्यता छ । फूलबारीको उत्पादनले वर्षमा तीन महिना मात्रै खाना पुग्ने र बाँकी नौ महिनासम्म कसरी दैनिकी चलाउने भन्ने चिन्ता रहने गरेको अर्का स्थानीय मोहन पौडेलले बताए । ‘अहिले युवाहरु गाउँमा छैनन् । युवाहरु सबै कमाउन कोही भारततिर त कोही तेस्रो मुलुकमा गएका छन्’ उनले भने, ‘जेष्ठ नागरिक र महिलाले नै गाउँ धानेका छन् । जागिरे तथा आम्दानीको अन्य स्रोत भएकाहरु मात्रै त्यहाँ बस्ने गरेका छन् ।’

विकास निर्माणले पछाडि पर्दा त्यहाँका नागरिकको स्तर पनि वृद्धि हुन सकेको छैन । गाउँको विकासमा खटिनुपर्ने युवाहरु अहिले भएको जग्गा पनि बाँझो राखेर विदेशमा पसिना बनाउनु पर्ने बाध्यता रहेको स्थानीय जुद्धबहादुर केसीले बताए । ‘फूलबारीबाट तुलसीपुर बजार पुग्न बीच–बीचमा धेरै खोलाहरु तर्नुपर्छ । अन्य समयमा त सहज नै हुन्छ, तर वर्षाद्को समयमा ‘फलामका च्यूरा’ चपाए सरह हुन्छ,’ उनले भने, ‘ठाउँठाउँमा खोलाहरु छन् तर ती खोलामा पुल बन्न सकेका छैनन् । केही खोलामा बन्ने प्रक्रियामा छन् भने केहीमा पुल कहिले बन्छ निश्चित छैन ।’

कोही बिरामी प¥यो भने पनि समयमै स्वास्थ्य संस्था पु¥याउन समस्या हुने गरेको उनको भनाइ छ । फूलबारीमा खानेपानीको पनि त्यतिकै समस्या छ । अहिले केहीले कुवाको पानी प्रयोग गर्छन् भने केहीले खाला खोस्रेर पानीको जोहो गर्ने गरेको केसीले बताए ।

त्यहाँ सञ्चारको पनि समस्या छ । कुनै पनि फोनले राम्रोसँग काम नगर्ने स्थानीय भरत पौडेलले बताए । ‘यहाँका वासिन्दा फोनको टावर खोज्दै डाँडाकाँडा धाउनु पर्ने समस्या भने छिटै समाधान हुँदैछ’, उनले भने, ‘फूलबारीमा टेलिकमको टावर निर्माण भएको छ । काम लगभग अन्तिम चरणमा पुगेको छ, केही समयमा सञ्चालनमा आउने तयारी रहेको छ ।’

विकट क्षेत्र भएकाले सांसद कोमल वलीले फूलबारीको विकासमा चासो देखाएकी छन् । उनले फूलबारीका विभिन्न क्षेत्रमा पुगेर त्यहाँको समस्या बुझेको बताइन् । उनले वडाको सिँंचाइ, सडक, कृषि, स्वास्थ्य, सञ्चार, विद्युतलगायत विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर पहल थाल्ने बताइन् । ‘फूलबारीलाई साँच्चिकै फूलबारी बनाउनु पर्छ,’ उनले भनिन् । गाउँ–गाउँमा विकास गर्नका लागि मुलुकलाई संघीयतामा लगिएको भन्दै विकटका आवाजलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?