
२३ साउन, काठमाडौं। रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिमका जिल्लाहरूमा सञ्चालित अधिकांश उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाएको गुनासो गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा प्रस्तुत उद्योगहरूको स्थलगत अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख छ ।
समितिका सभापति अब्दुल खानको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा स्थलगत अनुगमन गरेका थिए । अनुगमनपछि प्रतिवेदन तयार पारेर शुक्रबार समितिमा पेस गरेको छ ।
समितिमा पेस भएको प्रतिवदेदनको सुझाव तथा निर्देशनखण्डमा अधिकांश उद्योगमा कार्यरत श्रमिकले न्यूनतम ज्याला नपाएको विषय समावेश छ ।
‘स्थलगत अनुगमनका क्रममा अधिकांश उद्योगहरूमा कार्यरत श्रमिकहरूले नेपाल सरकारबाट निर्धारित न्यूनतम ज्याला नपाएको, ज्यालामा लैंगिक विभेद रहेको, सामाजिक सुरक्षा योजनामा समावेश नभएको र कार्यस्थलमा पेशागत सुरक्षा र स्वास्थ्यको मापदण्डको पालनाको स्तर कमजोर रहेको पाइएको …’ प्रतिवेददनमा भनिएको छ ।
यस्तो निष्कर्षपछि संसदीय समितिले सरकारलाई निर्देशन समेत दिएको छ ।
‘नेपालमा सञ्चालित सबै उद्योगहरूमा कार्यरत श्रमिकहरूलाई लैंगिक विभेद रहित न्यूनतम ज्यालाको सुनिश्चितता, सामाजिक सुरक्षा योजनामा अनिवार्य आवद्धता एवं कार्यस्थलमा पेशागत सुरक्षा र स्वास्थ्यको मापदण्डहरूको पूर्ण कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने’ संसदीय समितिको निर्णय छ ।
प्रतिक्रिया 4