Comments Add Comment
नेकपामा राष्ट्रपतिको हस्तक्षेप :

बामदेव र बादललाई फकाउन शीतलनिवास कार्ड

प्रधानमन्त्री ओली पनि शीतलनिवास पुगे

२० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको बोलावटमा मंगलबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम शीतलनिवास पुगे । भोलिपल्ट, बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादललाई पनि शीतलनिवास बोलाइयो । बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग  छुट्टै भेटवार्ता गरे ।

प्रधानमन्त्री ओलीको खेमालाई पार्टीभित्र अप्ठ्यारो पर्दा साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले विगतमा पनि नेकपाका शीर्षनेताहरुलाई कहिले बेग्लाबेग्लै त कहिले सामुहिकरुपमा बोलाएर सम्झाउने गरेकी थिइन् । यसपटक पनि उनले दुईजना सचिवालय सदस्यहरुलाई एक्लाएक्लै बोलाएर ओलीको पक्षमा बहुमत जुटाउने लबिङ गरिन् ।

तर, यसपटक ‘शीतलनिवास कार्ड’ त्यति प्रभावकारी देखिएन ।

वामदेवको कडा प्रस्तुती

नेकपाभित्रको शक्तिसंघर्षमा ओलीको गुटलाई खुलेरै साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले मंगलबारको भेटमा पनि उपाध्यक्ष गौतमलाई ‘पार्टी एकता बचाउन’ भूमिका खेलिदिन आग्रह गरेकी थिइन् ।

राष्ट्रपतिको आशय पूर्वएमाले र जबज पक्षधर भएका कारण वामदेवले ओलीलाई नै साथ दिनुपर्छ र सरकार टिकाउनुपर्छ भन्ने थियो । तर, उपाध्यक्ष गौतमले चाहिँ ओलीले पार्टीको बैठक बोलाएर त्यहाँ माफी नमागेसम्म समस्या समाधान नहुने जवाफ दिए । एकता बचाउने वा टुटाउने भूमिका पनि प्रधानमन्त्री ओलीमै निहीत रहेको जवाफ गौतमले राष्ट्रपतिलाई दिएका थिए ।

उच्च स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार नेता गौतमले राष्ट्रपतिलाई भने, ‘तपाईले केपी ओलीलाई पनि यसैगरी सम्झाउनोस् न, आफ्नो नजिकको मान्छेले गल्ती गर्‍यो भने आलोचना गर्न सक्नुपर्‍यो नि । समस्या ओलीमै छ ।’

गौतम कडारुपमा प्रस्तुत भएपछि राष्ट्रपति भण्डारीले नरम स्वरमा ‘सम्झाइरहेकै त छु नि’ भनेकी थिइन् ।

आफूले ओलीलाई २० पटकजति गुन लगाएको तर, ओलीले बीसैंपटक धोका दिएको नेता गौतमले राष्ट्रपतिसमक्ष गुनासो पोखेका थिए । आफूविरुद्ध पार्टीभित्र सधैं ओलीले ‘ब्याक बाइटिङ’ गर्ने गरेको गौतमले बताएका थिए । आफू पार्टी एकताकै पक्षमा रहेको तर ओलीका गलत हर्कतको समर्थन गर्न नसक्ने अनि गुटबन्दीलाई साथ नदिने भन्दै गौतमले शीतलनिवासलाई खरो जवाफ दिएको स्रोतले बतायो ।

यसअघि विभिन्न आश्वासन दिएर गौतमलाई आफ्नो पक्षमा समेट्दै आएका ओली अहिले उनीसँग छलफलै गर्न नसक्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्रीले आफूलाई अपमानित हुने गरी ‘ब्याक बाइटिङ’ गरेको भन्दै गौतम ओलीसँग आक्रोशित भएका हुन् ।

प्रधानमन्त्री ओलीले नसक्ने भएपछि गौतमलाई फकाएर केपी ओलीसँग नजिक ल्याउने राष्ट्रपति भण्डारीको प्रयास मंगलबार असफल बन्यो ।

‘पार्टी एकता बचाउनुपर्‍यो’ भन्ने राष्ट्रपतिको आग्रहमा नेता गौतमले एकता भाँड्ने र पार्टी फुटाउने षड्यन्त्र ओलीबाटै भइरहेको बताएका थिए । अरु नेतालाई पेल्ने र दूरी बढाउने काम केपी ओलीले नै गरिरहेको भन्दै नेता गौतम अब प्रचण्ड लगायतका सबै नेताहरुलाई विश्वासमा लिने दायित्व पनि ओलीकै भएको बताएर शीतलनिवासबाट फिर्ता भएका थिए ।

वामदेवपछि बादललाई सेकताप

पार्टीभित्रको अन्तरसंघर्षमा वामदेव गौतमलाई सम्झाउन नसकिए पनि सचिवालय सदस्य बादलले चाहिँ आफूलाई साथ दिने प्रधानमन्त्री ओलीको विश्वास छ । तर, गतसाता खुमलटारमा ६ नेताहरुको जमघटमा बादलसमेत सहभागी बनेपछि प्रधानमन्त्री अलि बढी झस्किएका छन् । यहीबेला, राष्ट्रपति भण्डारीले बुधबार बादललाई पनि शीतलनिवासमा बोलाएर वामदेवलाईजस्तै सम्झाइन् ।

राष्ट्रपति भण्डारीले पार्टी एकता बचाउन र सरकारमा प्रधानमन्त्रीलाई साथ दिन बादललाई पनि आग्रह गरिन् । अहिलेसम्म तपाईले प्रधानमन्त्रीलाई साथ दिएर राम्रो भूमिका खेलिरहनुभएको छ र अब पनि त्यस्तै भूमिका खेलिदिनुपर्‍यो भन्दै राष्ट्रपति भण्डारीले बादललाई सम्झाएकी थिइन् ।

तर, गृहमन्त्री थापाले यसपटक राष्ट्रपतिसमक्ष केही असहमति राखेको स्रोतले बतायो । पार्टी नफुटोस् र गत स्थायी कमिटीको बैठकको स्पिरिटअनुसार अगाडि बढोस् भन्ने पक्षमा आफू रहेको बादलले राष्ट्रपतिलाई जवाफ दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री शीतलनिवास पुगे

राष्ट्रपतिले वामदेव र बादललाई सम्झाउने प्रयास गरेपछि प्रधानमन्त्री ओली बुधबार शीतलनिवास पुगेका थिए । शीतलनिवास जानुपूर्व शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू ‘शीतलनिवास जान लागेको तर ािजीनामा दिनका लागि हैन’ भनेका थिए ।

शीतलनिवास स्रोतले चाहिँ प्रधानमन्त्री ओली पार्टीको कुरा लिएर नभई सरकारको नियमित कार्यसूची अन्तरगत बुधबार शीतलनिवास आएको दाबी गरेको छ ।

आफू मंगलबार शीतलनिवास गएको वामदेव गौतम आफैंले मिडियामा स्वीकार गरे पनि बादलसँगको भेटलाई शीतलनिवास स्रोतले गुपचुप राख्न खोजेको छ । तर, बादलले आफूलाई शीतलनिवासले बोलाएको र राष्ट्रपतिलाई भेटेर फर्केर निकटस्थ नेताहरुलाई सूचना दिइसकेका छन् ।

शीतलनिवास कार्ड

पार्टीभित्रको शक्तिसंघर्षमा ‘शीतलनिवास कार्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको बलियो स्रोत हो । सचिवालय, स्थायी कमिटी र संसदीय दलभित्र अल्पमतमा पर्न लाग्दा प्रधानमन्त्री ओलीले पार्टीमा यो कार्ड खेल्ने गरेका छन् ।

अहिले नेताहरुलाई फकाउनका लागि मात्र होइन, धम्काउनका लागि पनि प्रधानमन्त्रीले शीतलनिवासको कार्ड प्रयोग गरिरहेको नेकपा नेताहरु बताउँछन् । पार्टीको बहुमतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो भने ‘झन् ठूलो स्टेप चाल्छु’ र ‘कोटेश्वरको तानाबाना निस्तेज पार्छु’ भन्दै प्रधानमन्त्रीले थर्काउने शक्तिको स्रोत पनि शीतलनिवास नै भएको अर्को पक्षका नेताहरुको तर्क छ ।

तर, पार्टीभित्रको गुटबन्दीमा खुल्लारुपमा लविङ गर्न थालेपछि राष्ट्रपतिको भूमिकालाई लिएर संस्थामाथि नै आलोचना हुने क्रमसमेत बढेको छ । राष्ट्रपतिले राजनीतिक चलखेलमा नलागी राष्ट्रप्रमुखको संस्थागत मर्यादा बचाउनुपर्ने सार्वजनिक टिप्पणीहरु हुन थालेका छन् ।

नेकपाको ९ सदस्यीय सचिवालय कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । उनका साथमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्र छन् । तर, पार्टी फुटाउने स्थिति आएमा विष्णु पौडेलले पनि साथ दिने सम्भावना कम छ ।

विगतमा यसरी अल्पमतमा पर्दा प्रधानमन्त्री ओलीले वामदेव गौतम र बादललाई फकाएर बहुमत जुटाएका थिए । तर, यसपालि त्यो स्थिति नभएपछि ‘शीतलनिवास कार्ड’  प्रयोग गरेर सचिवालयमा शक्ति आर्जन गर्ने प्रयास गरिएको हो ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक राख्न ओलीसँग आग्रह गरे पनि ओलीले बैठक पनि बोलाउँदिनँ र बहुमतको निर्णय पनि मान्दिनँ भनेर पार्टीलाई ठाडो चुनौती दिइसकेका छन् ।

पार्टी एकताका बाँकी कामहरु टुंग्याउन, महाधिवेशनको कार्यसूची बनाउन र आगामी मंसिरमा हुने केन्द्रीय कमिटीको बैठकका एजेण्डाहरु तय गर्नका लागि त्यसअघि सचिवालय बैठक बस्नपर्ने आवश्यक रहेको एक सचिवालय सदस्यले बताए । तर, प्रधानमन्त्रीले नमानेकै कारण बैठक हुन नसकेको ती नेताले अनलाइखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment