Comments Add Comment

आफ्नै पार्टीका नेताहरुले निर्वाचनमा सहयोग नगरेको ट्रम्पका छोराको आरोप

२१ कात्तिक, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई छोराहरुले रिपब्लिकन पार्टीका नेताहरुले नै आफ्ना पितालाई निर्वाचनमा सहयोग नगरेको आरोप लगाएका छन् । अहिले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडन अगाडि देखिएको अवस्थामा उनीहरुले यस्तो आरोप लगाएका हुन् । ट्रम्पका जेठा डोनाल्ड ट्रम्प जुनियरले निर्वाचनमा पार्टी कमजोर भएको बताए ।

ट्रम्पका अर्का छोरा एरिक ट्रम्पले आफूहरुलाई मतदान गर्नेहरुले रिपब्लिकका नेताहरुलाई कहिल्यै पनि नबिर्सिने बताए । अझै पनि निर्वाचनको नतिजा आइसकेको छैन तर निर्वाचनमा बाइडन अगाडि देखिएका छन् । ट्रम्पले यो निर्वाचनको नतिजाविरुद्ध अदालतमा कानुनी चुनौती दिने घोषणा गरिसकेका छन् । यद्यपि उनले यो निर्वाचनमा धाँधली भएको प्रमाण भने दिएका छैनन् ।

रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरु सिनेटर मिट रोम्नी र मेरील्याण्डका गभर्नर लेरी होगनले ट्रम्पलाई प्रजातान्त्रिक प्रक्रिया अवमूल्यन नगर्न चेतावनी दिइसकेका छन् । त्यसैलाई लक्षित गर्दै ट्रम्पका छोराहरुले चेतावनी दिएका हुन् ।

ट्रम्प जुनियरले सामाजिक सञ्जाल ट्वीटरमा रिपब्लिकनहरुलाई निर्वाचनमा भएको धाँधलीविरुद्ध लड्न राम्रो प्लेटफर्म भए पनि उनीहरु मिडियाले चलाएको अभियानकै हिस्सा बनेको उल्लेख गरेका छन् । यद्यपि आफूहरु पिताको साथमा रहेको र उनले यो लडाइँ जित्ने विश्वास उनीहरुले गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment