Comments Add Comment

हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा काज फिर्ता हुँदै, निमित्त प्रमुख पाउने !

२२ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याउन निर्देशन दिएका छन् ।

शुक्रबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा मन्त्री पुनले ‘एनईए इञ्जिनियरिङ कम्पनी’मा काजमा रहेका शाक्यलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिरी गराउन निर्देशन दिएका हुन् ।

योसँगै अब प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले आइतबार नै शाक्यलाई फिर्ता बोलाउन सक्ने सञ्चालक समितिका एक सदस्यले बताए । शाक्य प्राधिकरणमा हाजिर भएपछि मन्त्री पुनले उनलाई नै कायममुकायम वा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुपर्ने हुन्छ ।

हाल निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक हुन् । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।

यसअघि मन्त्री पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका  उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्ट भएको स्रोतको दाबी छ ।

अब शाक्य प्राधिकरणमा फर्किएपछि उनले नै कार्यकारी प्रमुखको जिम्मेवारी पाउने निश्चितजस्तै भएको ती बोर्ड सदस्यले बताए ।

शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको भगिनी कम्पनी हो । परामर्श एवम् इञ्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको  परियोजनामा पनि खटिएका थिए । त्यसैले प्रधानमन्त्री ओलीले शाक्यलाई रुचाएको प्राधिकरण स्रोत बताउँछ ।

शाक्य प्राधिकरणमा आए एमसीसीको पक्षमा प्राधिकरणको नेतृत्वले नै बोल्ने विश्वास सरकारको छ । यसअघिका कार्यकारी निर्देशक घिसिङले एमसीसी परियोजनाको प्राविधिक आवश्यकताको विषयबारे बोले पनि राजनीतिक विषयमा आफू नबोल्ने बताएका थिए ।

तर, उपकार्यकारी निर्देशक शाक्यले भने परियोजनाबारे सञ्चार माध्यममा बोल्ने गरेका छन् । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए ।

उनले बेतलबी विदा बसेर वर्ल्ड बैंक, केएफडब्लु, ओएमसीएन लगायतका अन्तर्राष्ट्रिय संघसंस्थामा परामर्शदाताका रुपमा काम गरेका थिए ।

केही समयअघि राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा उनले भनेका थिए,’इन्जिनियरिङका हिसाबले अहिले गरिरहेको काममा नै म सन्तुष्ट छु, तर राज्यले मेरो योग्यताको मूल्याङ्कन गरेर दिने जिम्मेवारीमा भने तयार नै छु ।’ शाक्यले सधैं आफू पन्छाइरहने त होइन भन्ने आशंका रहेको पनि बताएका थिए ।

‘कुलमानजीलाई प्राविधिकरूपमा सहयोग गरेकै हो । उहाँसँग काँधमा काँध मिलाएर काम गरेकै हो । सबै हिसाबले म सक्षम मान्छे हो । बाहिरबाट नयाँ नयाँ मान्छे ल्याउने हो वा दिने हो भने कार्यकारी निर्देशकमा मेरो पनि दाबी रहन्छ,’ उनले भनेका थिए ।

पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गरेका छन् । ‘विद्युत प्रणाली सञ्चालन’मा  स्नातकोत्तर पनि गरेका छन्  । सम्भवतः आगामी हप्ताबाटै उनले प्राधिकरणको नेतृत्व सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment