Comments Add Comment

राष्ट्रिय जनमोर्चाको सम्मेलन चैत २४ देखि काठमाडौंमा

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले कोरोना महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सम्मेलन गर्ने निर्णय गरेको हो ।

राजमोको तेस्रो सम्मेलनबाट निर्वाचित नेतृत्वको समयावधि २०७७ फागुनमा पूरा हुँदैछ । बैठकले जिल्ला र प्रदेश समितिबाट सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको संख्या पनि किटान गरेको छ ।

राजमोले मंसिर १४ गते संघीयताविरुद्ध र कोरोना महामारी नियन्त्रणमा सरकारको व्यवहारलाई लिएर देशब्यापी विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको महासचिव जनकराज शर्माले विज्ञप्ति निकालेर जनाएका छन् ।

संघीयताले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्दै लगेको र क्षेत्रीय द्वन्द्वलाई बढावा दिएको राजमोले निश्कर्ष निकालेको छ ।

‘जनताको कर संघीयताको संरचनामा लगानी गर्नु परेकोले त्यसको मार जनताको स्वास्थ्य, शिक्षा र रोजगारीमा परेको छ । ठूलो धनराशी संघीय संरचनामा खर्च हुँदा स्थानीय तहको विकास निर्माणमा अवरोध सिर्जना भएको छ । यो दृष्टान्तबाट पनि संघीयताको औचित्य नभएको र त्यसलाई खारेज गर्नैपर्ने आवश्यकता बढेर गएको छ’ राजमोको विज्ञप्तिमा भनिएको छ ।

संघीय प्रणालीमा खर्च हुने अर्बौं रकम यदि कोरोना भाइरसबाट संक्रमितहरुको उपचारमा लगानी गरेको भए जनताको जीवन रक्षा हुनुका साथै देशमा आर्थिक संकट पैदा नहुने पनि राजमोले उल्लेख गरेको छ ।

उपचार खर्चको अभावमा संक्रमितहरु कोरोना परीक्षणसम्म गर्न नसकेको, परीक्षण गरेकाहरुले आइसोलेशन वेड र हस्पिटलमा भर्ना हुन वा बेड नपाएको भन्दै राजमोले कोरोना उपचारमा मेडिकल माफियाहरुको चलखेल बढेको जिकिर गरेको छ ।

‘सरकार कोरोना संक्रमित जनताको अभिभावक नभएर विचौलियाहरुको प्रभावमा पर्न गएको देखिन्छ । सरकारले कोरोना सम्बन्धी उपचार खर्च जनता आफैले बेहोर्नुपर्छ भनी गरेको निर्णयले त्यही कुराको पुष्टि गर्दछ’ राजमोले भनेको छ ।

राजमोले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्त गोयलसितको भेटघाट रहस्यमय भएको पनि बताएको छ । ‘अहिले रअ प्रमुखसितको प्रधानमन्त्रीको भेटघाट रहस्यमय हुनुले कतै प्रधानमन्त्री ओलीले सत्तास्वार्थको वशमा परेर गम्भीर राष्ट्रघात त गर्दै छैनन् रु शङ्का गर्ने अवस्था रहन्छ’ राजमोले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment