Comments Add Comment
कांग्रेस बैठक :

रामचन्द्रले देउवाको तारिफ गर्दै भने- कम्तिमा केपी ओलीजस्तो हुनुहुन्न !

कांग्रेसको विवाद समाधान उन्मुख, विभागमा अझै कुरो मिलेन

Photo Credit : फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो १६ बुँदे विरोधपत्रमाथि आइतबार भएको छलफल सहमतिउन्मुख भएपछि सभापति शेरबहादुर देउवाको तारिफ गर्दै भने, ‘कम्तिमा तपाईँ केपी ओलीजस्तो त हुनुहुन्न । बैठक राख्नुभयो, हाम्रा कुरा सुन्नुभयो, तपाईलाई धन्यवाद छ ।’

पौडेलले गरेको देउवाको तारिफसँगै कांग्रेसमा सभापति देउवा र पौडेल समूहको विवाद लगभग टुंगिएको छ ।

कांग्रेस नेताहरुका अनुसार महाधिवेशनसम्बन्धी सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दुई महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्कालाई दिइएको छ । दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरुलाई राखेर प्रस्ताव तयार पारेपछि २७ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने सहमति जुटेको छ ।

पौडेल समूहले विभाग गठन, समायोजन र क्रियाशील सदस्यता, भ्रातृ तथा सुभेक्षुक संगठन लगायतका मुद्दा अघि सारेर १२ असोजमा १६ बुँदे विरोधपत्र बुझाएको थियो ।

त्यसबारे छलफल गर्दैगर्दा १७ असोजमा केही नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक प्रभावित भएको थियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठकको मिति तोकेका देउवाले त्यसअघि नै फेरि पदाधिकारी, पूर्वपदाधिकारी र केही नेताहरुको बैठक बोलाए र नेताहरुका कुरा सुने ।

छलफल लम्बिएपछि केन्द्रीय कार्यसमितिलाई केही दिन पर सारेर देउवाले सम्वादलाई निरन्तरता दिए । नेताहरुका अनुसार आइतबार पौडेल समूहले उठाएका बुँदाबुँदामा छलफल भएको छ ।

विभाग गठनबारे भने दुबै पक्ष आ-आफ्नो अडानमा रहे । वरिष्ठ नेता पौडेलले विधान विपरीत र महाधिवेशनको मिति तोकिसकेको अवस्थामा बनेको विभाग मान्दिनँ भने । सभापति देउवाले चाहिँ मैले बनाइसकेँ, सकियो भन्ने जवाफ दिए ।

एक नेता भन्छन्, ‘वरिष्ठ नेताले विभाग खारेज नभई केन्द्रीय कार्यसमिति बैठकमा जान्न भन्नुभएको भए अप्ठ्यारो अवस्था आउँथ्यो । तर, उहाँले त्यो अड्डी लिनुभएन ।’

यो १४ औं महाधिवेशनसँग सम्बन्धित नभएकाले पौडेल समूहले खारेजीमा अड्डी लिनुका साटो विभागलाई नमान्ने, यसका कार्यक्रमहरुमा नजाने रणनीति लिएको छ ।

अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई दिइएको क्रियाशील सदस्यतालाई विधानअनुसार मिलाउन सभापति देउवा सहमत भएका छन् । कांग्रेसको विधानअनुसार यसरी आएकाहरुलाई केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता दिनसक्छ । तर, तल्लो कमिटीबाट माग भएर आउनुपर्छ । अहिले तल्लो कमिटीबाट माग नै नभई नेताहरुले आफ्नो अनुकुल गरेको पौडेल समूहको दाबी छ ।

समायोजनबारे निर्वाचन समितिको निर्देशिकाअनुसार नै गर्ने सहमति पनि जुटेको छ । भ्रातृ तथा शुभेच्क्षुक संगठनबारे दुई महामन्त्रीले सहमति खोज्ने नेताहरुले बताएका छन् ।

आइतबारको बैठकमा १४ औं महाधिवेशनको मितिबारे भने कुनै छलफल भएन । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाए पनि त्यसअनुसार समायोजन, क्रियाशील सदस्यता वितरण लगायतका काम हुन सकेका छैनन् । नेताहरुले फागुनमा महाधिवेशन हुन्न भन्ने पनि बुझेका छन् । तर, नयाँ मिति तोक्न कोही तयार छैनन् ।

खासगरी वरिष्ठ नेता पौडेल महाधिवशेनको मिति सार्ने पक्षमा छैनन् । आफूले नयाँ मिति प्रस्ताव गर्दा कार्यकाल लम्ब्याउन खोजेको आरोप लाग्ने बुझेका देउवा पनि यसबारे बोल्ने पक्षमा छैनन् ।

एक केन्द्रीय सदस्यका अनुसार महाधिवेशनको मितिबारे नबोली दुई महामन्त्रीले क्रियाशील सदस्यता वितरणको तिथिमिति प्रस्ताव गर्न सक्नेछन् ।

क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा भने देउवाले रमेश लेखक प्रस्ताव गरेका छन् । वरिष्ठ नेता पौडेलले भने यसबारे सल्लाह गरौंला भनेको एक नेताले जानकारी दिए ।

यसअघि नरहरि आचार्यलाई संयोजक बनाउने र देउवा पक्षका ३, पौडेल पक्षका २ र सिटौला/गच्छदार पक्षका एक/एक जना राख्ने सहमति भएको थियो । तर स्वास्थ्यका कारण आचार्यले संयोजक बन्न अस्वीकार गरेपछि देउवाले आफू निकटका लेखकलाई अघि सारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment