Comments Add Comment

तिलोत्तमाका सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा

२४ कात्तिक, बुटवल । तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको छ ।

सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत तिलोत्तमामा पहिलो चरणमा १२ वटा सामुदायिक विद्यालयमा यो सेवा सुरु भएको हो ।

एउटा विद्यालयमा एकजना नर्स खटाउने गरी तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर नर्सिङ सेवा कार्यान्वयनमा ल्याएको हो ।

कार्यक्रमअनुसार नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवर्द्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।

यस्तै उनीहरुले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था मापदण्डअनुसार भए/नभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घ रोग लागेको विद्यार्थीको कार्ययोजना बनाइ स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि गर्नेछन् ।

नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो ।

बाँकी सामुदायिक विद्यालयका लागि पनि विद्यालय नर्स नियुक्त हुने नगरपालिकाको भनाइ छ । विद्यालयबाटैं स्वास्थ्य सेवा प्रवाहले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यो कार्यक्रमले सामुदायिक विद्यालयमा थप आकर्षण बढाउने नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाई र पोषणमा प्रवर्द्धन गर्दै मानसिक स्वास्थ्य र किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमको अवधारणा आएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न नमूना काम गर्दै आएको तिलोत्तमाले यो कार्यक्रम सञ्चालनपछि सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको थप आकर्षण बढ्ने विश्वास लिइएको प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताए ।

जनप्रतिनिधि आएसँगै शुरु गरिएका विद्यालय सुधारका कार्यक्रमले तिलोत्तमाका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ ।

कोरोना महामारीको कारण हाल विद्यालयहरु बन्द रहेकोले नियुक्त गरिएका स्टाफ नर्सलाई कोरोना महामारी नियन्त्रण तथा बिरामीहरुको उपचारमा खटाइने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment