Comments Add Comment

बालुवाटार गएनन् जनार्दन र पम्फा, प्रधानमन्त्रीसँग कुरै नगरी फर्किए चार नेता

२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कायम राख्ने गरी सुझाव प्रस्तुत गर्न तीन महिनाअघि बनेको कार्यदल फेरि सक्रिय बनाउने प्रयास भए पनि सदस्यहरु जनार्दन शर्मा र पम्फा भुसाल आज बालुवाटार गएनन् ।

शर्मा र भुसाल नआएपछि बालुवाटार पुगेका कार्यदलका अन्य सदस्यहरू अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् ।

महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वमा बनेको कार्यदलले १५ बुँदे सुझाव बुझाएपछि भदौ पहिलो साता नै विघटन भएको थियो ।

उक्त कार्यदलले पेस गरेको सुझाव परिमार्जनसहित भदौ २६ को स्थायी कमिटी बैठकले पारित गरेको थियो । फेरि नेकपाभित्र विवाद चर्किएपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बैठकको निर्णय कार्यान्वयन गर्न दबाब दिन भन्दै महासचिव पौडेलले उक्त कार्यदलका सवै सदस्यहरुलाई प्रधानमन्त्री ओलीसँग आज भेट्ने कार्यक्रम तय गरेका थिए ।

तर, शर्माले स्वास्थ्यमा सुधार नआएको जवाफ दिए भने भुसालले संसदीय समितिको बैठकमा व्यस्त भएको भन्दै बालुवाटार नआउने सन्देश पठाइन् ।

कार्यदलमा शर्मा र भुसाल प्रचण्डका तर्फबाट सदस्य थिए । ओलीका तर्फबाट महासचिव पौडेल र शंकर पोखरेल तथा वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे कार्यदलमा थिए ।

सोमबार प्रधानमन्त्री ओली र मंगलबार प्रचण्डसँग भेटेर बैठकको निर्णय मान्न दबाब दिने भन्दै महासचिव पौडेलले कार्यदलका सदस्यहरुलाई खबर गरेका थिए । बालुवाटारमा शर्मा र भुसाललाई अन्य सदस्यहरुले झण्डै एक घण्टा पर्खिएका थिए ।

कार्यदलका सदस्यका रुपमा बालुवाटार नगएकी भुसालले पार्टी कमिटीको निर्णय कार्यान्वयनबारे दबावको आवश्यकता नरहेको बताइन् । उनले भनिन्, ‘बैठकको निर्णय कसैले मान्दिन भन्न मिल्दैन । फेरि कार्यदलको नाममा साउनतिर र्फकने होइन । अब अगाडि बढ्नुपर्छ ।’

बालुवाटार जानुअघि पौडेल खुमलटार पुगेका थिए । प्रचण्डसँग भेटेर पौडेल बालुवाटार पुगेका हुन् । भेटमा प्रचण्डसँग पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे नै छलफल भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment