Comments Add Comment

झिलिमिली बत्तीको व्यापार ७० प्रतिशत घट्यो

पोहोर सालको तिहारमा झिलिमिली पारिएको काठमाडौंको सडक ।

२५ कात्तिक, काठमाडौं । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्तीको व्यापारमा ७० प्रतिशतले गिरावट आएको व्यवसायीहरुले बताएका छन् ।

तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । तर यस वर्ष कोरोना संक्रमणको कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।

विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले अनलाइनखबरसँग भने, ‘तिहारको किनमेलका लागि उपभोक्ता डराएको पाएका छौं, व्यापार छैन, आयात पनि खुम्चिएको छ ।’

विगतका वर्षहरुमा २५ देखि ३० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको कारोबार हुने गरेकोमा यस वर्ष निकै ह्रास आएको पौडेलले बताए । झिलिमिली विद्युतीय सामाग्रीको किनमेलका लागि तिहार सबैभन्दा राम्रो समय भए पनि यस वर्ष कोभिड मारमा व्यवसायीहरु परेको महासंघको ठहर छ ।

विगतका वर्षहरुमा तिहारलाई लक्षित गरी ४० देखि ५० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात हुने गरे पनि यस वर्ष आयातमा पनि ह्रास आएको महासंघले जनाएको छ । महासंघमा आबद्ध व्यवसायीले दिएको जानकारीअनुसार अहिलेसम्म १५ देखि १८ करोड रुपैयाँ बराबरको मात्रै झिलिमिली बत्ती आयात भएको छ, जुन अघिल्लो वर्षहरुको आयातको तुलनामा झण्डै ३५ करोडले कम हो ।

नेपालमा फेष्टिभ र क्रिसमस लाइटको नाममा तिहारका लागि झिलिमिली बत्ती आयात हुने गरेको व्यवसायीहरु बताउँछन् । भन्सार विभागले दिएको जानकारी अनुसार क्रिसमस ट्रिमा प्रयोग हुने बत्तीको रुपमा चालु आर्थिक वर्षको तीन महिनामा एक करोड २४ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । गत वर्ष सोही प्रकारको बत्तीको आयात तीन महिनामा २ करोड ९६ लाख बराबरको थियो ।

भन्सारको तथ्यांकअनुसार यस वर्ष विद्युतीय अन्य लाइटको आयात पनि २५ करोड ८४ लाखले घटेको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा ७४ करोड ६९ लाख रुपैयाँ बराबरको अन्य प्रकारका विद्युतीय बत्तीहरु नेपाल भित्रिएका थिए । चालु आर्थिक वर्षको तीन महिनामा ४८ करोड ८५ लाख रुपैयाँ बराबरको मात्रै विद्युतीय लाइट नेपाल भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment