Comments Add Comment

कर्णालीमा २ प्रतिशत ब्याजदरमा किसानलाई १ करोडसम्म ऋण

२६ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका कृषकले वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म् ऋण पाउने भएका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

व्यवसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन, कृषकहरूको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याएको कृषि मन्त्री बिमला केसीले बताइन् ।

ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रदेशका कृषि र पशुपंक्षीका क्षेत्रमा व्यवसाय गर्ने कृषकले अब वार्षिक दुई प्रतिशत ब्याजदरमा एक करोडसम्मको ऋण पाउने छन् । कृषि विकास बैंकले नौ प्रतिशतमा कृषि कर्जा प्रवाह गरिरहेको छ । ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सात प्रतिशत ब्याज तिरिदिनेछ ।

यसरी ऋण लिए एक लाख रकमको वार्षिक दुई हजार मात्रै ब्याज तिर्नुपर्नेछ । ऋण लिँदा उनीहरुले धितो भने राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजनाअनुसार एक लाखदेखि एक करोड रुपैयाँसम्म ऋण लिन सकिने सम्झौता पत्रमा उल्लेख छ ।

कृषि विकास बैंकमार्फत १० वटा जिल्लाका १८ वटा शाखाबाट दुई प्रतिशत वार्षिक ब्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबीच सम्झौता गरिएको छ । काम गर्ने किसानका लागि यो सुनौलो अवसर भएको मन्त्री केसीले बताइन् ।

‘धेरैभन्दा धेरै कृषकहरूमा यो कार्यक्रम पु¥याउने हाम्रो लक्ष्य छ । दुुई प्रतिशत मात्रै ब्याजदरमा ऋण पाउने भएकाले कृषकका लागि यो सुनौलो अवसर पनि हो’ मन्त्री केसीले भनिन् ।

बैंकमा धितो राख्न नसक्ने कृषकका लागि सरकार नै जमानी बसिदिएर ऋण उपलब्ध गराउने तयारी गरिएको मन्त्री केसीको भनाइ छ । ‘धितो राख्न नसक्ने तर कृषि क्षेत्रमा केही गर्न चाहने किसानका लागि मन्त्रालय नै जमानी बसेर भए पनि ऋण उपलव्ध गराउँछौं ।’

कर्णालीमा रहेका क देखि घ वर्ग सम्मका बैंक तथा वित्तीय संस्थामार्फत किसानले ऋण पाउने भनिए पनि अन्य बैंकले रूचि नदेखाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ब्याज अनुदान कार्यक्रमका लागि चालु आर्थिक वर्षमा सात करोड रूपैयाँ बजेटको व्यवस्था गरेको छ । उक्त कार्यक्रममार्फत कृषि तथा पशुुपंक्षीको क्षेत्रमा किसानले तरकारी उत्पादन, पशुपंक्षी, मौरीपालन व्यवसायलगायतका २० प्रकारका कर्जा पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment