Comments Add Comment

२७ बैंकका सीईओलाई राष्ट्र बैंकले भन्यो-जथाभावी कर्जा नदिनू

२६ कात्तिक, काठमाडौं । जथाभावी कर्जा लगानी नगर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । बुधबार २७ वटै कमर्सियल बैंकका सीईओहरुलाई भर्चुअल बैठकमा राखेर राष्ट्र बैंकले कर्जा लगानी गर्दा ध्यान दिन निर्देशन दिएको हो ।

बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार भर्चुअल बैठक डाँकेको थियो । बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरुद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ साथै नियमनका अन्य अधिकारीहरु सहभागी थिए ।

बैंकहरुका तर्फबाट भने बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए । बैठक ४ घण्टासम्म बसेको थियो । दिउँसो १ बजे शुरु भएको बैठक साँझ ५ बजेसम्म चलेको थियो ।

बैठकको शुरुमा सबै बैंकका सीईओहरुलाई ५/५ मिनेट समय छुट्टाइएको थियो । सबै बैंकका सीईओहरुले कर्जा लगानी धेरै हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको कर्जा लगानी नभएको भन्दै राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गरे । लगानीका लागि अन्य सहज वातावरण समेत बनाइदिनु पर्ने अध्यक्ष दाहालको माग थियो ।

सबै बैंकका सीईओहरुले बैंकको पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि डेपुटी गभर्नर श्रेष्ठले आफ्नो भनाइ राखे । उनले बैंकहरुले कर्जा लगानी भएन भन्दैमा जथभावी लगानी नगर्न निर्देशन दिए । बैंकहरुले कर्जाको गुणस्तरमा ध्यान दिनुपर्ने डेपुटी गभर्नरको सुझाव थियो ।

उनले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई सार्थक बनाउन सहयोग गर्नुपर्ने उनको धारणा थियो । उनले सहुलियत कर्जा लगानीमा बैंकले त्यति ध्यान नदिएको जस्तो देखिएको बताए । पुनर्कर्जाको माग पनि अत्यन्तै कम आएको भन्दै बैंकलाई यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

एक बैंकको ऋण तिर्न अर्को बैंकबाट ऋण लिने (एभरग्रिनिङ) हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन उनले बैंकहरुलाई सुझाव दिए । ‘पुनर्कर्जा पनि जम्मा ६२ अर्बमात्रैको माग देखियो यो अत्यन्तै कम हो, हामीले २ अर्ब दिन्छौं भनेका छौं’ बैठकपछि श्रेष्ठले भने, ‘१५ लाख भन्दा कम सहुलियत ऋण लिनेको फाइल पठाउनुपर्ने बैंकहरुले पठाएनन्, सहुलियत कर्जा पनि गएन् यता ध्यान दिन भनेको छु ।’

श्रेष्ठ पछि अर्का डेपुटी गभर्नर सिवाकोटीले भनाई राख्दै समापन गरेका थिए । उनले पनि बैंकहरुले पारदर्शितामा ध्यान दिनुपर्ने बताए । कर्जा लगानी बढाउनुपर्ने भन्दै उनले तर लगानी गर्दा कहाँ कस्तोमा गर्ने भन्ने विषयमा पनि ध्यान दिनु पर्ने बताए ।

गभर्नर अधिकारी भने बोलेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment