Comments Add Comment

लुम्बिनी : पर्यटकको भीड लाग्ने सिजनमै सुनसान

मायादेवी मन्दिर खोल्न व्यवसायीको अल्टिमेटम

२७ कात्तिक, बुटवल । हरेक वर्ष दसैं–तिहारको अवधिमा आन्तरिक र बाह्य पर्यटकको भीड हुने बुद्ध जन्मस्थल लुम्बिनी यो वर्ष सुनसान छ । विश्वव्यापी कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान नखुल्दा मुख्य सिजनमा विदेशी पर्यटक आउन पाएनन् भने कोरोनाकै कारण मायादेवी मन्दिर नखुल्दा नेपालकै बौद्ध धर्मावलम्बी र पर्यटक समेत आएका छैनन् ।

असोजदेखि मंसिरसम्मको तीन महिना सबैभन्दा बढी आन्तरिक पर्यटक लुम्बिनी आउने सिजन हो । यो अवधिमा लुम्बिनीको मौसम न गर्मी, न धेरै जाडो हुने हुँदा स्वदेशी–विदेशी पर्यटकहरु ओइरिन्थे ।

लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क शाखा प्रमुख हरिध्वज राईका अनुसार पोहोर दसैं–तिहार एक महिनामा लुम्बिनीमा एक लाख ४ हजार २२५ नेपाली पर्यटक आएका थिए । त्यस्तै, २० हजार ९०९ भारतीय र तेस्रो मुलुकका १८ हजार ५७७ जना पर्यटक आएका थिए ।

लुम्बिनीमा आन्तरिक र बाह्य गरी वार्षिक सरदर १५ लाख पर्यटक आउँछन् । तर, यो वर्ष पर्यटक नआउँदा लुम्बिनीका होटल–रेष्टुरेन्ट,  पर्यटक लक्षित अन्य व्यवसाय र ई–रिक्सा चालकको आम्दानी गुमेको छ । सबैखाले व्यवसायी निराश छन् ।

मन्दिर खोल्न माग

मन्दिर खोलेर व्यवसायको वातावरण बनाउन माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीहरु

लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्मा यो क्षेत्रका सबै होटेल सुनसान रहेको बताउँछन् । सरकारले ०७६ चैतदेखि लकडाउन गरेसँगै होटेल–रेष्टुरेन्ट बन्द भएको उनले बताए । ‘लकडाउन खुलेसँगै होटेल–रेष्टुरेन्ट खोलिए पनि पाहुना आएनन्’, शर्माले अनलाइनखबरसँग भने, ‘मायादेवी मन्दिर बनेयता यो वर्ष लुम्बिनी सबभन्दा सुनसान छ ।’

‘लुम्बिनी संरक्षण नागरिक समाज’का संयोजकसमेत रहेका होटल व्यवसायी मेघनाथ आचार्य मायादेवी मन्दिर नखुल्दासम्म लुम्बिनीमा पर्यटक नआउने बताउँछन् । उनले भने, ‘त्यसैले तत्काल मन्दिर खोल्नुपर्छ ।’

संघका महासचिव शर्मा आठ महिना स्वदेशी–विदेशी पर्यटक नआउँदा लुम्बिनीका होटेल–रेष्टुरेन्टहरुले दुई अर्ब रुपैयाँभन्दा बढी नोक्सान व्यहोरेको बताउँछन् ।

उनका अनुसार, लुम्बिनीमा तारे, पर्यटक स्तर र मझौला गरी ८० वटा होटेल छन् । होटेल–रेष्टुरेन्टमा तीन हजारभन्दा बढी कामदार रहेको उनी बताउँछन् । ‘भाडाका भवनमा चलेका एउटै ठूलो होटल करोडौं नोक्सानीमा छ’, उनले भने, ‘होटेल–रेष्टुरेन्ट व्यवसायी जोगाउने हो भने मायादेवी मन्दिर तत्काल खोल्नुपर्छ ।’

धैर्य गर्न आग्रह

लुम्बिनीका ११ वटा संघ–संस्थाले मन्दिर खुल्ला गर्न लुम्बिनी विकास कोषलाई ७ दिने अल्टिमेटम दिएका छन् । लुम्बिनी नेपालका अरु धार्मिक स्थलभन्दा फराकिलो भएकाले सामाजिक दुरी कायम राख्दै अध्यात्मिक गतिविधि गर्न सजिलो रहेको होटेल संघका अध्यक्ष मिथुन श्रेष्ठ बताउँछन् ।

भिक्षु–भिक्षुणीहरूले पनि लुम्बिनी परिसरमा आध्यात्मिक वातावरण बनाउनपर्ने माग गरेका छन् । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई नेपाल सरकारले निर्णय गरे मात्र मायादेवी मन्दिर खुल्ला हुने बताउँछन् । संघीय सरकारले त्यस्तो निर्णय नगरुन्जेल धैर्य गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment