Comments Add Comment

जागिर खाएकै कारण आँखा गुमाएकी यी अफगानी महिला

तस्वीर : रोयटर्स

२७ कात्तिक, काठमाडौं । ३३ वर्षीया खतेराले अन्तिम पटक आफ्नो आँखाले देखेको दृश्य थियो– ड्युटी सकेर प्रहरी स्टेशनबाट फकिँदै गर्दा मोटरसाइकलमा आएका तीनजना मानिसले उनलाई हठात आक्रमण गरे ।

अफगानिस्तानको घान्जी प्रान्तमा भएको उक्त घटनामा उनीमाथि गोली प्रहार गरियो । यति मात्र होइन, उनको आँखामा पनि चक्कु रोपियो ।

अफगानिस्तानमा विशेषगरी सरकारी जागिर खाने महिलामाथि योजनावद्व हिंसात्मक आक्रमण हुने गरेको छ । खतेराले पनि सायद प्रहरी बनेर तालिवान समूहलाई आक्रोशित बनाइन् ।

अस्पतालमा होस् फर्कदा उनको दृष्टि क्षमता गुम भइसकेको थियो । डाक्टरहरुले उनलाई ‘आँखामा ब्यान्डेज गरिएकाले देख्न नसकेको’ भन्दै सान्त्वना दिए । उनी भन्छिन्, ‘तर, तालिवानले मेरो आँखा खोसेको मलाई थाहा थियो ।’

स्थानीय अधिकारीहरु पनि यो आक्रमणमा तालिवान लडाकुहरु संलग्न रहेको बताउँछन् । तालिवानले खतेराका बाबुकै निर्देशनमा यो आक्रमण गरेको उनीहरुको अनुमान छ, जसले छोरीलाई घरबाहिर काम गर्न जानमा रोक लगाएका थिए । तालिवानले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।

उक्त आक्रमणले खतेराको आँखाको ज्योति मात्र होइन, उनले वर्षाैदेखिको सपना पनि खोसेको छ । उनी स्वतन्त्र ‘करिअर’ बनाउन चाहन्थिन् । त्यही प्रयासको क्रममा उनी केही महिनाअघि घान्जी प्रहरीको अपराध शाखामा जोडिन पुगेकी थिइन् ।

‘प्रहरीमा काम गरेको एक वर्षपछि यस्तो घटना हुन्थ्यो भने मलाई त्यो अहिलेभन्दा कम अपशोच हुन्थ्यो’, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा खतेराले भनेकी छन्, ‘तर, मैले आफ्नो सपना अनुसार काम गर्ने मौका केवल तीन महिना पाएँ ।’

अफगानिस्तानमा विशेषगरी सरकारी जागिर खाने महिलामाथि योजनावद्व हिंसात्मक आक्रमण हुने गरेको छ । खतेराले पनि सायद प्रहरी बनेर तालिवान समूहलाई आक्रोशित बनाइन् ।

मानव अधिकारवादीहरु अमेरिकाले सेना फिर्ता लैजाने निर्णय गरेसँगै अफगानिस्तानमा तालिवानको प्रभाव बढेको बताउँछन् । तालिवान नाइकेहरुले अफगान सरकारका प्रतिनिधिहरुसँग कतारको राजधानी दोहामा वार्ता थाल्दा शान्ति सम्झौता हुने अपेक्षा गरिएको थियो । तर, वार्तामा निकै कम प्रगति भएको छ । उता अफगानिस्तानभर झडप बढेको छ । तालिवान समूहले सरकारी अधिकारी र चर्चित महिलामाथि आक्रमण बढाएको छ ।

तालिवानले सरिया कानुन अन्तर्गत महिला अधिकारको सम्मान गर्ने बताउन थालेको छ । यद्यपि, अफगानिस्तानका शिक्षित महिलाहरु तालिवानको यो भनाइ पत्याउँदैनन् । हुन पनि, चरमपन्थीहरुको यो संगठनले राष्ट्रिय परिचयपत्रमा आमाको नाम राख्ने कानुनको विरोध गरिरहेकै छ ।

‘सार्वजनिक क्षेत्रमा लिने अफगान महिला सधैं जोखिममै हुन्छन्’, एम्नेस्टी इन्टरनेशनल, अफगानिस्तानकी अभियान्ता समीरा हामिदी रोयटर्ससंग भन्छिन्, ‘पछिल्लो समय अवस्था झन् खराब देखिएको छ ।’

अफगान महिलाले लामो संघर्षपछि पाएको सीमित अधिकारहरु तालिवानसँगको कुनै पनि शान्ति सम्झौताको नाममा गुम्न दिन नहुने उनको भनाइ छ ।

चकनाचुर भयो बालापनदेखिको सपना

खतेराको बाल्यकालदेखिको सपना घर बाहिरको संसारमा निस्केर काम गर्ने थियो । यसका लागि उनले वर्षौंदेखि आफ्ना पितालाई मनाउने प्रयास गरेकी थिइन् । उनले आफ्ना पतिबाट साथ पाइन् तर पिताले सधै अवरोध गरे ।

छोरीको चाहनाको अगाडि आफ्नो केही जोड नचलेको देखेपछि उनले तालिवानसँग सम्पर्क गरे । खतेरामाथिको आक्रमण त्यसैको परिणाम थियो ।

खतेराका अनुसार बाबुले तालिवानलाई उनको परिचयपत्रको प्रतिलिपी दिएका थिए । यसको उद्देश्य खतेरा प्रहरी हुन् भन्ने जानकारी दिनु थियो । आक्रमणको दिन पनि बाबुले उनलाई कहाँ छौ ? भनेर पटक–पटक सोधेका थिए ।

घान्जी प्रहरीले खतेराका बाबुलाई आक्रमणको एकजना योजनाकार रहेको आशंकामा हिरासतमा लिएको छ । उता, तालिवानका प्रवक्ताले यो पारिवारिक मुद्दामा आफूहरुको कुनै संलग्नता नरहेको बताएका छन् ।

खतेरा र उनको पाँच बालबालिकासहितको परिवार अहिले लुकिछिपी काबुलमा बसेको छ । खतेराको चोटहरु निको भइसकेको छैन । उनी राति निदाउन पनि सक्दिनन् । मोटरसाइकलको आवाज सुन्दा उनलाई कहाली लाग्छ । उनलाई विदेशीमा उपचार गराउन पाए आँखाको घाउ चाँडो निको हुन्थ्यो भन्ने लाग्छ ।

‘फेरि देख्न सकेँ भने त प्रहरी सेवामै फर्कन पनि सक्छु’, उनले भनेकी छन्, ‘तर, म आफ्नो सपना पूरा गर्नेगरी उपचार खर्च जुटाउने अवस्थामा छैन ।’

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment