+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

जाने होइन त गोसाइँकुण्ड ? (फाेटाे फिचर)

रविन्द्रचन्द्र ठकुरी (रोबिन) रविन्द्रचन्द्र ठकुरी (रोबिन)
२०७७ कात्तिक ३० गते ९:०६

३० कात्तिक, काठमाडौं । वर्षको एकपटक म यात्रामा निस्किने गरेको छु । विशेष गरी अक्टोबर महिनामा यात्रा गर्दछु । मेरो जन्म महिना पर्ने भएकाले पनि यात्राको लागि अक्टुबर महिना रोजाइमा पर्छ । यो पटकको यात्रा रसुवाको गोसाइँकुण्ड तय गर्ने सोच गरे ।

विगत चार वर्षदेखि निरन्तर गरेको यात्रा सामान्यतया हिउँमा हुने गरेको थियो । यो पटक गोसाइँकुण्ड यात्रामा पनि हिउँ देख्न पाइन्छ होला भन्ने सोचेको थिएँ । तर हिउँभन्दा काला पत्थरहरु धेरै देखिए । तर पनि यात्रा रोमाञ्चक रह्यो ।

धार्मिक हिसाबले मात्र होइन प्राकृतिक रुपले पनि भरिपूर्ण छ गोसाइँकुण्ड । गोसाइँकुण्डमा स्नान र पूजा गर्नाले मनले चिताएको पूरा हुने र पाप पखालिने धार्मिक विश्वास छ । यही कारणले होला बर्सेनि हजारौंको संख्यामा भक्तजनहरु गोसाइँकुण्ड पुग्ने गर्दछन् ।

समुद्रि सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्वीको आस्थाको केन्द्र हो । हरेक वर्ष अंग्रेजी क्यालेन्डरअनुसार अगस्ट महिनामा पर्ने नेपाली पर्व जनैपूर्णिमा र दशहराका दिन गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्छ ।

यी पर्वका बेला हजारौं तीर्थयात्रीहरू गोसाइँकुण्ड पुगी कुण्डको जलले स्नान गरेर धार्मिक आस्था प्रकट गर्दछन् । गोसाइँकुण्डको बीचमा रहेको ढुंगालाई महादेव भगवानको मन्दिरकै अवशेष भएको विश्वास गरिन्छ ।

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष महादेवले पिएर घाँटीमा पुर्याएपछि भएको छटपटी शान्त पार्न निलाद्री पर्वतमा पुगेर त्रिशूल भुइँमा बजारेर निकालेको जलले प्यास मेट्नुका साथै त्यही जलले बनेको कुण्डमा विराजमान रहेको धार्मिक कथा पढ्न पाइन्छ ।

भाद्र शुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म सबै देवी देवता गोसाइँकुण्डमा आउने विश्वासका साथ त्यस दिन कुण्डमा पूजाआजा गर्नाले सम्पूर्ण देवीदेवताको दर्शन पाइने धार्मिक मान्यता रहिआएको छ ।

प्रचार प्रसार हुन सकेन : राजेन्द्र प्रसाद सापकोटा, पर्यटन व्यवसायी

गोसाइँकुण्ड धार्मिक हिसाबले मात्र नभएर प्राकृतिक हिसाबले पनि महत्वपूर्ण छ । पदयात्राको हिसाबले पनि राम्रो छ । गोसाइँकुण्डमा पुग्ने विदेशी पर्यटकहरु अपेक्षाकृत कम छन् ।

यसको प्रमुख कारण मध्य एक हो जति प्रचार प्रसार हुनु पर्ने हो त्यति प्रचार प्रसार हुन सकेको छैन । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा पर्ने उत्कृष्ट गन्तव्यमध्य एक हो गोसाइँकुण्ड । छोटो तर मिठो यात्रा गर्न सकिने स्थान हो । गोसाइँकुण्डलाई केन्द्रित गरेर चार पाँच वटा पदयात्रा गर्न सकिने स्थान हो ।

तर यहाँ विदेशी पर्यटक जति जानु पर्ने हो त्यति गएको देखिँदैन । गोसाइँकुण्ड विशेष गरी फ्रोजन लेक भनेर मन पराउने इजरायली पर्यटकहरु जाने गर्दछन् ।

आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर केही हेलिकप्टर कम्पनीहरुले प्याकेजमा यात्रा गराइरहेका छन् । योबाट पनि के थाहा हुन्छ भने यसको कति महत्व छ भनेर । अहिले विस्तारै–विस्तारै यो क्षेत्रको विकास हुँदै गएको छ ।

यसरी पुगिन्छ गोसाइँकुण्ड

काठमाडौंबाट बसयात्रा गर्दै धादिङको गल्छी हुँदै नुवाकोट पार गरेर रसुवाको धुन्चेसम्म पुग्न सकिन्छ । धुन्चेबाट पदयात्रा सुरु हुन्छ । घट्टेखोला, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक हुँदै ४ हजार ३ सय ८० मिटर उचाइको गोसाइँकुण्डसम्म हिँडेर पुग्न सकिन्छ ।

गोसाइँकुण्ड जाँदा सामान्यतया दुई–तीन दिन छुट्याउँदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?