Comments Add Comment

वडाको अनुदानमा कृषि सहकारीलाई गाडी

३० कात्तिक, सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित धुस्कुनमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई प्रदान गरिएको छ ।

कृषि तथा पशुजन्य उत्पादनको ढुवानीका लागी वडाको रु १३ लाख अनुदानमा धुस्कुन कृषि सहकारीलाई गाडी खरिद गरी उपलब्ध गराइएको हो । सरकारी अनुदानमा गाडी आएपछि धुस्कुनका कृषक खुशी भएका छन् ।

‘गाउँको उत्पादन अब बजारसम्म लैजान सजिलो हुनेभयो’, कृषि सहकारीका लागि गाडी आएपछि स्थानीय कृषकले खुशी व्यक्त गरे । वडाको रु १३ लाख अनुदान र अपुग रकम सहकारीले नै व्यवस्थापन गरी कृषिजन्य उत्पादन ढुवानीका लागि गाडी खरिद गरी ल्याइएको धुस्कुन कृषि सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताए ।

‘अब गाउँका उत्पादनको बजारीकरण र ढुवानीका लागि सजिलो भएको छ, वडाको सहयोगमा सहकारीले गाडी प्राप्त गरेको छ’, अध्यक्ष न्यौपानेले भने ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरी वडाले कार्यक्रम सञ्चालन गरिरहेको वडाध्यक्ष सुकदेव रिसाल बताउनुहुन्छ । आर्थिक वर्ष २०७७/७८ का लागि पनि वडाले गाईभैँसी अनुदान र कुखुरापालन व्यवसाय बीमा कोष स्थापना गरेको छ ।

बीमा कोष रु पाँच लाखबाट शुरु गरिएको र यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताइएको छ । गाईभैँसी अनुदानअन्तर्गत धुस्कुन कृषि सहकारीसँग समन्वय गर्दै गाईभैँसी पाल्ने कृषकका लागि अनुदान उपलब्ध गराइने वडाध्यक्ष रिसालले बताए ।

‘पशुपालन गरी आयआर्जन गर्छु भन्नेका लागि बजेटको अभाव हुन दिइने छैन’, रिसालले भने । यसअघि धुस्कुन कृषि सहकारीमार्फत वडाकै अनुदानमा दुग्ध चिस्यान केन्द्रका लागि आवश्यक उपकरण खरिद गरी ल्याइएको थियो ।–रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment