Comments Add Comment

उद्योगमन्त्री र प्रदेशका उद्योग सचिवबीच छलफल

३० कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभरको औद्योगिक अवस्था जानकारी लिन प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवसँग छलफल गरेका छन् ।

छलफलमा उनले उद्योगहरुको वर्तमान अवस्था, औद्योगिक उत्पादन वृद्धि र औद्योगिक व्यवसाय प्रवद्र्धनलगायतको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

औद्योगिक विकासका लागि संघ र प्रदेशको विद्यमान नीति, कानुन तथा कार्यक्रमहरुको कार्यान्वयनबारे मन्त्री भट्टले छलफल गरेका मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए ।

कोभिड–१९ का कारण उद्योग क्षेत्रमा परेको प्रभाव, एकीकृत औद्योगिक तथ्याङ्क निर्माण, उद्योग व्यवसायसंग सम्बन्धित विषयमा लगाइएको कर, मन्त्रालय मातहत सञ्चालन हुने लघु उद्यम विकास कार्यक्रमको कार्यान्वयनबारे पनि छलफल भएको प्रवक्ता रेग्मीले बताए ।

छलफलमा प्रदेशका सचिवहरुले आफ्नो प्रदेशमा सञ्चालित कार्यक्रमहरुको सञ्चालन अवस्थाबारे जानकारी गराएका थिए । त्यस्तै औद्योगिक विकास र उद्योग प्रशासनको प्रभावकारी कार्यन्वयनका लागि संघ र प्रदेशबीचको समन्वय बलियो बनाउने र औद्योगिक तथ्याङ्कसम्बन्धी एकीकृत पोर्टल निर्माण गर्न सहकार्य गर्ने छलफल भएको थियो ।

प्रदेश औद्योगिक नीतिको तर्जुमा गर्न तथा औद्योगिक ग्राम संचालनका लागि सहकार्य गर्ने समझदारी भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment