Comments Add Comment

रानीपोखरीको यमलेश्वर : दाजुबहिनी भेट गराउने संगम

१ मंसिर, काठमाडौं । विसं १७२७ मा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोरा चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरी हरेक वर्ष भाइटीकाको दिन विशेष बन्ने गर्छ । विवाद र अन्योलका कारण भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको रानीपोखरी निर्माणकालीन स्वरुप पाएपछि पहिलोपल्ट यसवर्षको भाइटीकामा सोमबार खोल्ने तयारी गरिएको छ । यसैले पनि यो वर्ष रानीपोखरीको महत्व झनै बढेको छ । अहिले यही मन्दिरमा भेटभएका कतिपयले अहिले दाजुबहिनीको नयाँ सम्बन्ध समेत स्थापित गरिसकेको पाउन सकिन्छ ।

अहिले रानीपोखरीको बीचमा रहेको सो मन्दिर भाइटीकामा दिदीबहिनी र दाजुभाइ नहुनेहरुले गएर टीका लगाउने केन्द्रको रुपमा विकास भएको छ । काठमाडौंको नेवार समुदायमा सांस्कृतिक रुपमा नै दिदीभाइ र दाजुबहिनी नहुनेले महादेवको मन्दिरमा गएर टीका लगाउने प्रचनल रहेको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा अध्यापनरत टिना मानन्धर बताउँछिन् । तर काठमाडौंका अरु महादेव मन्दिरभन्दा पनि रानीपोखरी बढी चर्चामा रह्यो ।

वि.सं. १७२६ मा छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानी भुवनलक्ष्मी पुत्र वियोगमा विक्षिप्त भइन् । उनैलाई सान्त्वना दिनको लागि तत्कालीन दरबारको मूलद्वारबाहिर सबै तीर्थको प्रतिनिधित्व गर्नेगरी रानीपोखरी निर्माण गरिएको भन्ने किंवदन्ती पाइन्छ । यद्यपि यसको नाम रानीपोखरी भने पछि राखिएको हो ।

५ वर्षसम्म लगाएर निर्माण गरिएको यो पोखरीको नाम सुरुमा न्हुगु पुखु राखिएको प्रताप मल्लकै रानीपोखरी अभिलखले स्पष्ट पारेको छ, जसको अर्थ हुन्छ नयाँ पोखरी । नेपाली, संस्कृत र नेवारी भाषामा लेखिएको सो अभिलेखले रानीपोखरीको महत्वलाई बुझाएको छ ।

देवमाला वंशावलीका अनुसार रानी भुवानलक्ष्मीले आफ्ना इष्टदेव महादेवको मूर्ति राखेर पोखरीको बीचमा मन्दिर बनाइन् । त्यतिबेला उनीहरुको इष्टदेव यमलेश्वर महादेवको स्थापना गरिन् । त्यसैलाई पछि बालगोपालेश्वर नामले चिनाउने गरिएको हो ।

यो मन्दिरमा भाइटीकाकै दिन किन मेलालाग्न थाल्यो र बाल गोपालेश्वर नाम पनि किन राखियो भन्नेमा धेरै इतिहासकारहरु समेत बेखबर छन् । तर यतिकुरामा सबै स्पष्ट छन् कि यहाँ भाइटीकामा टीका लगाउने चलन त्यति पुरानो भने छैन ।

यमलेश्वर मन्दिरमा भाइटीकाको दिन टीका लगाउने चलन कहिलेदेखि सुरु भयो भन्ने बारेमा यकिन जानकारी नभएको प्रा. दिनेशराज पन्त बताउँछन् । यो सम्भवतः पछिल्लो कालखण्डमा आएर चलेको चलन हुनुपर्छ भन्ने उनको मान्यता छ ।

केही समयअघिसम्म हालको विद्युत प्राधिकरणको भवननजिकै एउटा ढुंगेधारा थियो । सो ठाउँलाई बाल मसान भनेर चिन्ने गरिन्थ्यो । बालबच्चा अकालमा मरेपछि उनीको अन्त्येष्टि यही ठाउँमा आएर गरिन्थ्यो । प्रा. पन्त आफूले पनि बाल मसान र ढुंगेधारा देखेको बताउँछन् । त्यही बालमसानको नजिक रहेको भएर सो मन्दिरको नाम बालगोपालेश्वर राखेको हुन सक्ने दाबी पनि कतिपय इतिहासकारहरुको छ ।

पहिलेपहिले सो मन्दिरमा दर्शन गर्न जानेहरु त्यही पोखरीमा हामफालेर आत्महत्या गर्न थालेपछि राणा कालदेखि बार लगाउने काम गरिएको अनुमान गरिन्छ । प्रामाणिक इतिहास खोज्ने हो भने जुद्ध शमशेरको पालादेखि मन्दिरसम्म जाने बाटोमा व्यवस्थित पर्खाल लगाउन थालिएको हो । तर जंगबहादुर राणाले पुनर्निर्माण गरेको समयमा समेत यसमा पर्खाल लगाएको अवशेषहरु भेटिएको पन्त बताउँछन् ।

यो मन्दिरमा कमै मात्रामा पाइने मध्यकालीन मृण्मय कला अझै पनि सुरक्षित छ । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी मूर्तिकला विषयकी प्राध्यापक सन्ध्या खनालका अनुसार नेपालमा कमै मात्रामा पाइने मध्यकालीन मृण्मय कलाको सुन्दर नमुना यो मन्दिरमा देख्न सकिन्छ ।

यो मन्दिरको चार कुनामा चार किसिमका देवता स्थापना गरिएको छ । तर ती देवताहरु के महत्वका आधारमा स्थापना गरियो ? भन्ने कुरा भने खुलेको छैन । पाञ्चायन देवताको प्रयोग गरिएको भन्न पनि सूर्यको मूर्ति यहाँ पाइँदैन ।

रानीपोखरी मन्दिरको बीचमा यमलेश्वर मन्दिर बनाइसकेपछि पोखरीको बीचमा विभिन्न तीर्थको पानी राखेर पवित्र बनाइयो । यो मन्दिर एकै ठाउँमा सबै तीर्थको संगम बनाउने उद्देश्यले बनाइएको थियो ।

बद्रिनाथ, केदारनाथ, गोसाइँकुण्ड, मुक्तिनाथ, कालीगण्डकी आदि पवित्र नदीहरुको जल ल्याएर पोखरीमा चढाइएको थियो । साथै, गंगा, सिन्धु, सरस्वती लगायत प्राचीन नदीहरुको पनि पानी राखेर यसलाई सर्वतीर्थको महत्व दिइएको थियो ।

बालगोपालेश्वर मन्दिरको छेउछाउ तर पोखरीको मध्यभागमा नै ४ किसिमको फरक फरक मन्दिरहरुले घेरिएको छ । उत्तरपश्चिमी क्षेत्रमा भैरवको मन्दिर छ, उत्तरपूर्वी क्षेत्रमा पनि भैरवकै मन्दिर छ । दक्षिणपूर्वी भेगमा महालक्ष्मी(दूर्गा) र दक्षिणपश्चिमी भेगमा १६ हाते गणेशको मन्दिर राखिएको छ । मन्दिरको भित्र विष्णुको पनि मूर्ति राखिएको छ ।

रानीपोखरीको विषयमा ऐतिहासिक दस्तावेज

रानीपोखरीको विषय सर्वप्रथम सूचनाको स्रोत सोही पोखरीको निर्माण विभिन्न तीर्थजलबाट पानी भर्ने कार्य, साँध—सिमाना तथा त्यसको उपयोग सम्बन्धमा राजा प्रताप मल्लले राख्न लगाएको शिलालेख हो । जसमा ने.सं. ७९० आश्विनको मिति उत्कीर्ण छ । यो पोखरीको निर्माण कार्य करिब ५ वर्षमा सम्पन्न गरिएको थियो, वि.सं. १७२३ पौष कृष्ण चतुर्थीका दिन पोखरीको शिलान्यास गरिएको थियो । उक्त कुरा थ्यासफूमा उल्लेख छ । जसमा नेवारी भाषामा पुखुरी सोङा अर्थात् पोखरीको जग हालियो भनी उल्लेख गरिएको छ ।

वि.सं. १७२५ माघ शुक्ल त्रयोदशीका दिन पोखरीको बीचमा रहेको देवलको अग्निहोत्र गरेर त्यसको ४ दिनपछि अग्नि स्थापना गरेको पाइन्छ । (पन्त पूर्णिमा १३७ : ५१) । देवल प्रतिष्ठापछि मन्दिरको मूलगर्भ गृहमा देवी हरिशंकरीको मूर्ति राखियो भन्ने पाइन्छ । हरिशंकरी अर्थात् विष्णु र शंकरको शक्तिस्वरुप लक्ष्मी र पार्वतीको गरुड र साँढेमा आरुढ अर्धनारीको मूर्ति स्थापना गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment