Comments Add Comment

४ महिनामा साढे ८ प्रतिशतमात्रै पुँजीगत खर्च, राजस्व संकलन भने लक्ष्य नजिक

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ४ महिनामा मात्र साढे ८ प्रतिशत पूँजिगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन–कात्तिकसम्म मात्र ८.३४ प्रतिशत पूँजिगत खर्च भएको छ ।

त्यसो त पहिलो चौमासिकलाई आयोजनाहरुको पूर्वतयारीको चरण मानिन्छ । सरकारले चालु आवमा कुल ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पूँजिगत खर्चको लक्ष्य राखेको छ । तर, पहिलो चार महिनामा मात्र २९ अर्ब २३ करोड रुपैयाँ पूँजिगत खर्चका लागि भएको छ ।

चार महिनामा साधारण खर्च भने २ खर्ब ३० अर्ब १२ करोड पुगेको छ । यो लक्ष्यको तुलनामा २४.२५ प्रतिशत हो । जुन विनियोजित बजेटको एक चौथाई रकम हो । चालु आवमा कुल ९ खर्ब ४८ अर्ब ९४ करोड साधारण खर्चको लक्ष्य राखिएको छ ।

यसरी साधारण, पूँजिगत र वित्तीय हस्तान्तरणसमेत गरी पहिलो चार महिनामा कुल बजेट खर्च २ खर्ब ६९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको १८.२५ प्रतिशत खर्च हो ।

चार महिनामा वित्तीय व्यवस्थातर्फ ९ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ५.५० प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

२ खर्ब ४० अर्ब राजस्व

आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन भने अपेक्षित देखिएको छ । २५ प्रतिशत समय घर्किदा लक्ष्यको २३.७४ प्रतिशत राजस्व संकलन भएको छ । राजस्व बाहेक राज्यको अन्य आम्दानीसमेत जोड्दा चार महिनामा कुल लक्ष्यको २५.१५ प्रतिशत आम्दानी भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनामा २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसमध्ये कर राजस्व २ खर्ब २६ अर्ब ३ करोड र गैरकर राजस्व १४ अर्ब ११ करोड उठेको छ ।

यस अवधिमा ग्राण्ट आम्दानी ५ अर्ब १६ लाख भएको छ भने विभिन्न स्रोतबाट भएको अतिरिक्त आम्दानी २४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment