+
+

कफीको न्युनतम मूल्य तोकियो, किसानलाई २२ प्रतिशत मुनाफा !

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते १४:५८

२ मंसिर, काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ ।

कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डको दाबी छ । नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ ।

यस्तै ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४५० रुपैयाँ तोकिएको छ भने ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३९७ रुपैयाँ कायम भएको छ ।

बोर्डले चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टाभित्र प्रसोधन गर्न नसकिएको ‘बी ग्रेड’ को कफीको मूल्य भने १४८ र ‘बी ग्रेड’ कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ । ‘ए ग्रेड’ चेरीको मूल्य गत वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ र प्रशोधित ‘ए ग्रेड’ को कफीको मूल्य भने गत वर्ष भन्दा प्रतिकिलो २५ रुपैयाँले बढेको बोर्डले जनाएको छ ।

नेपालमा कफी खेती

नेपालमा धेरै मात्रामा अरबिका जातको कफी फल्छ । समुद्र सतहबाट ८०० मिटरदेखि १६०० मिटरको उँचाइमा खेती हुने अरबिका कफी संसारभर पाइने कफीका प्रमुख चार प्रकारमध्ये उच्च गुणस्तरको मानिन्छ ।

सरकारी तथ्याङ्कअनुसार देशभर ४३ जिल्लामा कफी खेती विस्तार भएको छ । देशभित्र तथा बाहिर गरेर करिब १४ हजार मेट्रिक टन स्वदेशी कफीको माग हुदै आएको बोर्डले जनाएको छ ।

गत वर्ष नेपालमा ११ करोड ८८ लाख बराबरको २६६ मेट्रिक टन कफी आयात भएको थियो भने नेपालबाट ५ करोड ७७ लाख रूपैयाँ बराबरको ४६.८९ मेट्रिक टन कफी विभिन्न मुलुक निर्यात भएको थियो ।

कफीको ग्रेड निर्धारण

प्रांगारिक पद्दतिबाट उत्पादन गरिएको, ठिक्क पाकेको पानीमा राख्दा डुब्ने, केलाएर राखिएको कफीलाई ‘ए ग्रेड’ मानिन्छ । ‘ए ग्रेड’ मा नपरेको अन्य कफीलाई ‘बी ग्रेड’ मा राखिन्छ ।

बोर्डले चिसो प्रशोधन विधि अन्तर्गत तयार गरिएको ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट कफीलाई ‘ए ग्रेड’ नामाकरण गरिएको छ । यस्तै चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टा भित्र प्रसोधन गर्न नसकिएको कफी चेरीलाइ घाम वा अन्य माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरीबाट तयार गरिने कफीलाई ‘बी ग्रेड’ मा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?