Comments Add Comment

पुटिनमाथि अब आजीवन चल्न सक्दैन मुद्दा, संसद्ले पारित गर्‍यो विधेयक

३ मंसिर, काठमाडौं । रुसको संसद्को तल्लो सदन डुमाले एक विधेयक पारित गरेको छ, जसका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका परिवारमाथि उनी राष्ट्रपटिबाट हटेपछि पनि कुनै किसिमको आपराधिक मुद्दा चलाउन मिल्दैन ।

यसअघि गत जुलाईमा रुसमा संवैधानिक संशोधनका लागि जनमतसंग्रह भएको थियो । अहिले तल्लो सदनले पारित गरेको विधेयक सोही संशोधनको एक हिस्सा हो । रुसका दुवै सदनमा पुटिनका समर्थकको बहुमत छ । पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदैछ । तर, अहिले गरिएको संशोधनअनुसार सन् २०२४ पछि पनि उनी दुई कार्यकाल अर्थात् १२ वर्ष राष्ट्रपतिको रुपमा पदमा कायम रहन सक्नेछन् ।

सन् २००० देखि पुटिन रुसको सत्ताको शीर्ष पदमा रहँदै आएका छन् । पुटिनका आलोचक एलेक्सी नाभाल्नीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुटिनलाई अहिले बचाव विधेयकको आवश्यकता नै नरहेको बताएका छन् । साथै उनले अर्को ट्वीटमा लेखेका छन्, ‘के तानाशाहले आफूले चाहेको बेला पद छाड्न सक्छन् ?’

डूमामा तीनपटक यो विधेयक ल्याउनुपर्ने हुन्छ । मंगलबार पहिलोपटक यसलाई पारित गरिएको हो । सदनमा पुटिनको समर्थक पार्टी युनाइटेड रसिया पार्टीको बहुमत छ । तर, वामपन्थी सांसदको ३७ भोट यो विधेयकको विरुद्धमा परेको छ । तीनपटक डुमामा छलफल भएपछि यो विधेयक माथिल्लो सदनमा जानेछ । यो विधेयकमा अन्तिम अनुमोदन भने स्वयं पुटिनबाट हुनेछ ।

यो विधेयक आएसँगै पूर्व राष्ट्रपति र उनका परिवार कुनै पनि किसिमको प्रहरीको सोधपुछबाट बाहिर हुनेछन् । साथै उनीहरुको सम्पत्ति कब्जा गर्न सकिँने छैन । अहिलेको अवस्थामा रुसमा पूर्वराष्ट्रपति दामित्री मेदभेदेभ मात्र जीवित छन् । उनी पुटिनका सहयोगी हुन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment