Comments Add Comment

विदेश जान प्रयोगशालाबाट नक्कली पीसीआर रिपोर्ट !

छानबिन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाई सिफारिस

३ मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट देखाएर विदेश पुगेका केही यात्रुमा पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि नेपालका प्रयोगशालाहरुमाथि प्रश्न उठेको छ ।

नेपालबाट कोरोना संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ देखाएर गएकाहरुमा विदेशमा पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङले तीन पटक प्रतिवन्ध लगाइसकेको छ । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको विमानस्थलबाट पनि चेतावनी पाएको छ ।

उक्त घटनापछि नेपाल एयरलाइन्सले कैफियत देखिएका यात्रुको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउँदै विभिन्न प्रयोगशालाबाट स्वाब नै संकलन नगरी यात्रुको नक्कली रिपोर्ट दिने गरेको आंशका व्यक्त गरेको छ । सोही आशंकालाई लिएर पर्यटन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयलाई छानविनका लागि सिफारिस गरेको छ ।

नेपाल एयरलाइन्सले निजी क्षेत्रका नाम चलेकै अस्पतालको रिपोर्टमा समस्या देखिएको बताएको छ ।

विदेशमा नेपाली रिपोर्टमा कैफियत देखिनुमा नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयले विभिन्न चार वटा कारणबारे आशंका गरेका छन् । प्रयोगशालाले स्वाब संकलन नै नगरी नक्कली रिर्पोट बनाएर दिएको नेपाल एयरलाइन्सको आशंका छ । जसलाई नेपालको विमानस्थलमा ‘क्रस भेरिफाई’ गर्ने अर्को प्रणाली छैन । सोही कारण रिपोर्ट देखाएर यात्रु सहजै विदेश जान सक्छ ।

दोस्रो कारण स्वाब संकलन गरेपछि नेगेटिभ देखाइदिने गरेको हुने सक्ने आंशका समेत एयरलाइन्स र मन्त्रालयको आंशका छ ।

उता, स्वाब संकलनपछि निर्धारित समयसम्म भण्डारण गरी राख्नु पर्नेमा त्यसरी नराखिएको पाइएको समेत आशंका छ । यसबाहेक कोभिड १९ आरटी पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउन आवश्यक अनुसन्धान गर्न समेत पर्यटनले सीसीएमसी तथा स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

यसअघि नेपाल एयरलाइन्सले नेपालमा नेगेटिभ रिपोर्ट लिएर विदेश पुगेपछि पोजेटिभ देखिएका पहिलो दुई चरणका यात्रु र उनीहरुले परीक्षण गरेको ल्याबको विवरण पर्यटन मन्त्रालयमा पठाएको थियो ।

यसबीचमा दुई उडानबाट कुल १३ जना यात्रुमा हङकङ पुगेपछि कोरोना पुष्टि भएको छ । विवरण अनुसार सबैभन्दा बढी स्टार हस्पिटलको रिपोर्ट लिएका यात्रुमा समस्या देखिएको छ ।

यसबाहेक ह्याम्स हस्पिटल, सौर्या हेल्थकेयर, केन्द्रीय निदान प्रयोगशालाका केही रिपोर्टमा  पनि समस्या देखिएको भन्दै नेपाल एयरलाइन्सले यी ल्याबको सूची पर्यटन मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले नेपाल एयरलाइन्सको समेत समस्या समेटेर अनुसन्धानका लागि २८ कात्तिकमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाई चिठी लेखेको हो ।

पर्यटन मन्त्रालयले भनेको छ, ‘अहिलेको परिस्थति बारम्बार सिर्जना भएका नेपाल भित्र हुने गरेको कोभिड १९ परीक्षणको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने, फलस्वरुप राष्ट्रिय छविसमेत धुमिल हुन सक्ने र नियमित उडानमा समेत असर पर्न सक्छ ।’ सोही समस्या न्यूनीकरण गर्न नेपाल एयरलाइन्सले उठाएका विषयमा आवश्यक छानविन र आवश्यक कारवाहीका लागि समेत मन्त्रालयले सिफारिस गरेको हो ।

कुन ल्याबको कति जनाको रिपोर्टमा समस्या देखियो ? 

स्टार हस्पिटल : १०

सिडिएल : १

सौर्या हेल्थकेयर : १

ह्याम्स हस्पिटल : १

कुन कुन गन्तब्यमा देखिएको हो समस्या ?

नेपाल वायुसेवा निगमका अनुसार २ अक्टोबर २०२० मा काठमाडौं–हङकङ उडानबाट त्यहाँ पुगेका ५ जना यात्रुमा हङकङ पुगेपछि कोरोना पुष्टि भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सले ४ अक्टोबरदेखि १७ अक्टोबरसम्म उडानमा प्रतिबन्ध झेल्यो ।

दोस्रो पटक १९ अक्टोबरमा काठमाडौं–हङकङ उडानबाट त्यहाँ पुगेका ९ यात्रुमा कोरोना देखियो । त्यसपछि २२ अक्टोबरबाट ४ नोभेम्बरसम्म हङकङको नागरिक उड्डयन विभागले नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगायो ।

तेस्रो प्रतिबन्ध भने नेपाल एयरलाइन्सलाई १२ नोभेम्बरबाट २५ नोभेम्बरसम्मका लागि लागेको छ । यो प्रतिबन्ध अहिले पनि जारी रहेको छ । यसबाहेक नेपाल एयरलाइन्सको दुबई रुटमा यात्रा गर्ने यात्रुमा समेत पोजेटिभ देखिएपछि यूएईको नियामक निकायले निगमको ध्यानाकर्षण गराएको छ । उता, जापानको नारिता उडानमा समेत २ देखि १० जना यात्रुमा कोरोना पोजेटिभ देखिएको हो ।

हामीले प्रश्न उठाएका छौं, हल सरकारले दिनेछ : महाप्रबन्धक पौडेल

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले पटकपटक नेपालमा गरिएको परीक्षणमा समस्या देखिएपछि प्रश्न उठाएको बताएका छन् ।

अनलाइनखबरसँग उनले भने, ‘रिपोर्ट नक्कली हो भनेर हामी भन्न सक्दैनौं, तर होकी भनेर प्रश्न उठाउन सक्छौं, यसको हल सरकारले गर्छ ।’

महामारीको संकटमा नेपाल एयरलाइन्सले राम्रो आम्दानी गर्ने गन्तव्यमै प्रतिबन्धको सामना गर्दा कम्पनीले करोडौं रुपैयाँ घाटा बेहोर्नु परेको भन्दै उनले राष्ट्रको समग्र हितकै लागि थप छानबिन र अनुसन्धानको आवश्यकता औल्याइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment