
४ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय गरेको कर्जा लगानीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेले चासो राखेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थमन्त्री पौडेलले यसबारे जानकारी लिएका छन् ।
अर्थमन्त्री र गभर्नरबीच वित्तीय क्षेत्रको पछिल्ले अवस्थाबारे विहान टेलिफोन वार्ता भएको हो । कोरोनाका कारण बैंकहरुको कर्जा लगानी ठप्प भएको थियो । लकडाउन खुलेपछि असोज यता कर्जाको माग राम्रै बढिरहेको छ ।
नयाँ व्यवसायहरु शुरु हुन नसकेको र पुराना व्यवसायहरु पनि थप विस्तार हुन नसकेको बेला पछिल्लो समय बैंकहरुमा कर्जाको माग कसरी बढ्यो भन्ने विषय उठान हुने गरेका छन् । ४ वर्ष पहिले कर्जा लगानी अत्यधिक बढेको थियो ।
त्यसबेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक अध्ययनले कर्जा तिर्न कर्जा (लोन एभरग्रीनिङ) भएको देखाएको थियो ।
अहिले पनि त्यस्तै हुन लागेको हो कि भन्ने बैंकिङ विज्ञहरुले आशंका छ । अर्थमन्त्री र गभर्नरबीच यहि विषयमा छलफल भएको अर्थमन्त्रालय श्रोतले बताएको छ । अर्थमन्त्रीको चासोको विषयमा गभर्नर अधिकारीले अहिले त्यस्तो ठूलो समस्या नरहेको बताएका छन् ।
उनले बैंकहरुको वर्तमान अवस्थाका विषयमा आज भोलि नै बैंकहरुसँग छलफल गरेर जानकारी लिने बताएका छन् । छलफलमा अर्थमन्त्री पौडेलले उखु किसानको भुक्तानीका विषयमा पनि चासो राखेका थिए ।
चिनी उद्योगीहरुले बैंकहरुबाट ऋण लिए नलिएको भन्ने विषयमा समेत चासो राखेका थिए । यसबारे आफूले थप बुझ्नु पर्ने गभर्नर अधिकारीले बताएका छन् ।
प्रतिक्रिया 4