Comments Add Comment

१० वर्षपछि अमेरिकाले भेनेजुयलाका लागि तोक्यो राजदूत

४ मंसिर, काठमाडौं । अमेरिकाले १० वर्षपछि भेनेजुयलाका लागि राजदूत तोकेको छ । लामो समयदेखि सम्बन्ध चिसिएका कारण अमेरिकाले भेनेजुयलामा अमेरिकी कूटनीतिक अधिकारी नियुक्त गरेको थिएन । अमेरिकाको माथिल्लो संसद सिनेटले जेम्स स्टोरीलाई भेनेजुयलाको राजदूत बनाउने निर्णय गरेको हो । सिनेटमा बोलीको मतबाट स्टोरीको नियुक्ति पारित भएको हो ।

स्टोरीले भेनेजुयलाको छिमेकी मुलुक कोलम्बियाको राजधानी सहरबाट भेनेजुयलाको मामिला हेर्नेछन् । सन् २०१० मा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको पालामा अमेरिकासँगको सम्बन्ध चिसिएसँगै अमेरिका र भेनेजुयलाले एकअर्काका लागि राजदूत राखेका छैनन् ।

गत वर्ष अमेरिकाले भेनेजुयलाका विपक्षी दलका नेतालाई खुलारुपमा समर्थन गरेसँगै पूर्णरुपमा यी दुई मुलुकको कूटनीतिक सम्बन्ध सकिएको थियो । अहिले राजदूतको रुपमा नियुक्त गरिएका स्टोरीले भेनेजुयलामा अमेरिकी नीति कार्यान्वयन गराउन समन्वयकारी भूमिका निर्वाह गर्नेछन् ।

अमेरिकाले अहिले भेनेजुयलाको मादुरो सरकार, सरकारको आन्तरिक वृत्त तथा सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पको प्रशासनले अपनाएको भेनेजुयला नीतिको आलोचना गर्दै आएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment