Comments Add Comment

संविधानले दिएको अधिकार समेत कटौती भयो : जितेन्द्र सोनल

४ मंसिर, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तीन वर्षमा ग्रामिण जनतालाई प्रदेश सरकार आफ्नो नजिक भएको अनुभूति गराउन सफल भएको दाबी गरेका छन् । जनअपेक्षा बढी नै भएपनि सीमित स्रोत र साधनका बावजुद प्रदेश सरकारले गरेको काम सन्तोषजनक भएको उनको भनाइ थियो ।

‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जवाफदेहिताका लागि हाम्रो अभियानले वीरगञ्जमा तन्नेरीसँग मन्त्री ज्यू कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तन्नेरीहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर संघ सरकारले सर्वाधिक कमजोर बनाइदिएको आरोप लगाए ।

‘संघीय व्यवस्थामा समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिएको थियो, तर संघ सरकारले विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर बनाइदियो,’ उनले भने, ‘सर्वाधिक आशा गरिएको प्रदेश २ पनि कमजोर बन्न पुग्यो । सरकारहरुबीच समन्वय अभाव, अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न सकिएन । तरपनि सन्तोषजनक काम भएको छ ।’

संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कार्य कानुन निर्माणमा प्रदेश २ सरकार अघि रहेको उनको दाबी छ ।

प्रदेश सरकारले संघियता प्राप्तिका लागि प्राणको आहुति दिने सहिद र घाइतेको सम्मान, उनीहरुको व्यवस्थापन, भौतिक पूर्वाधार विकास र सामाजिक विकासका लागि उल्लेख्य काम गरेको उनले बताए ।

‘प्रथम बैठकबाटै एक सहिद परिवार, एक रोजगारको निर्णय गर्‍यौं, माघ ५ गते बलिदानी दिवसको घोषणा गरेर सार्वजनिक विदा दिएका छौं । दलित सशक्तीकरण लगायत ३६ वटा ऐन ल्याइसकेका छौं । बेटी पढाउ, बेटी बचाउ लगायतक सामाजिक विकासका अभियान छन्,’ उनले भने, ‘हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बनाउने गरि काम भइरहेको छ । ४ जिल्लामा मझौला सिँचाइ आयोजना सञ्चालनमा छन् । प्रत्येक जिल्लामा दलित छात्रावास बनाएर हस्तान्तरण गर्छौं ।’

जनता आवास कार्यक्रममा डोम चमार मुसहर लगायतका जातिलाई प्राथमिकतामा राखिएको, प्रदेश परिवहन सुरु गर्न लागिएको समेत उनले बताए । सुरुमा मातहतका निकायको अभाव भएको, अहिले आएर कोरोनाका कारण विकासका काम गर्न समस्या भएको र संघीय सरकारका कारण रोजगारका लागि ल्याइएका प्रहरी ऐन जस्ता ऐन कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रदेश सरकारले गरेको राम्रा कामहरु के-के हुन् ? बेरोजगारी समस्या समाधान गर्न, शिक्षामा सुधार ल्याउन के-के गर्दैछ ? स्थानीय तहमा देखिएको बेथिती अन्त्य गर्न प्रदेश सरकारको योजना के कस्तो छ ? जन अपेक्षा अनुसार काम नहुनुको कारण के हो ? बाँकी समयमा प्रदेश सरकार कसरी अघि बढ्छ ? लगायतका प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment