Comments Add Comment

नजानेरै चार्वाक दर्शनलाई अनुशरण गर्नेहरू

काठमाडौं । पूर्वीय दर्शनको मुख्य नौ दर्शनमध्येको एक नास्तिक दर्शन हो, चार्वाक दर्शन । आचार्य चार्वाकले सुरु गरेको यो दर्शनलाई लोकायत दर्शन पनि भन्ने गरिन्छ । लोकायत अर्थात् जो जनताको बीचमा वा जनमानसमा गढेर बसेको छ । चार्वाक दर्शनलाई समग्रमा बुझ्न चाहनेको लागि एउटा एउटा चर्चित उक्ति छ:

यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्

भस्मीभूतस्य देहस्य पुनर्जन्म कुतं भवेत् ?

अर्थात् जति जिउँछौ सुखसँग जिउने गर । ऋण गरेर भएपनि घिउ पिउने गर । चितामा भस्म गराउने यो शरीर हो, पुनर्जन्म कसरी हुन्छ ? पूर्वीय दर्शनमा वेदलाई नमान्ने मतलाई नास्तिक र वेदको मतलाई मान्नेलाई आस्तिक मत मान्ने गरिन्छ ।

अहिलेका धेरै मान्छेले चार्वाक दर्शनलाई जानेर भन्दापनि नजानेरै अनुशरण गर्ने गरेका छन् । अर्थात् चार्वाक दर्शनमा जे जस्तो कुरा उल्लेख छ, त्यो आजका धेरै मान्छेको जीवनमा मिल्ने खालको छ । त्यसैले यो दर्शनलाई दर्शनशास्त्रीहरुले लोकायत दर्शनको नाम समेत दिएका छन् ।

आस्तिक र नास्तिक मान्छेमा चलिरहने मतभेद यो लोक र परलोक के हो ? पुनर्जन्म हुन्छ कि हुँदैन ? मृत्युपछि मान्छे कहाँ जान्छ ? जस्ता जिज्ञासामा सधैं मतभेद रहन्छ । तर नास्तिक दर्शनको पनि एउटा भिन्दै स्वरुपको दर्शन हो चार्वाक ।

सामान्यतया पूर्वीय दर्शनको तीन वटा नास्तिक मतमध्ये बौद्ध दर्शन, जैन दर्शन र चार्वाक दर्शनमा पनि चार्वाकको मूल अन्तर्वस्तु नै अरुकोभन्दा फरक छ ।

अझै पनि धेरै मान्छे अर्काे जन्मको लागि वा मरेपछिको लागि भनेर पुण्यको काम गर्छन् । अर्काे जन्ममा दरिद्र बन्नु नपरोस् भन्नको लागि सम्पत्ति कमाउने, मरेपछिको समयलाई सम्झिएर आफ्नो आवश्यकता पूर्ति गर्न पनि डर मान्ने जस्ता प्रवृत्तिलाई यसले विरोध गर्छ । त्यसैले त मरेपछिको सोच्ने होइन, भस्म हुने यो शरीरलाई पुनर्जन्मको नाममा जटिल बनाउने काम नगर भन्ने यो दर्शनको मूल सिद्धान्त हो ।

सृष्टिका लागि चार तत्व जिम्मेवार

चार्वाक दर्शनले चराचर जगतको सृष्टि चार किसिमको तत्वबाट बनेको हुन्छ भन्ने मत राख्छ । चार्वाकका अनुसार यी चार तत्वहरू पृथ्वी, जल, तेज र वायु हुन् । बौद्धले जस्तै चार्वाक पनि आकाश नामको तत्व छैन भन्ने कुरामा विश्वास राख्छन् । यो केवल शून्य छ, माथिका चार तत्वहरू बाह्य विश्व, भावना वा शरीरको रूपमा देख्न सकिन्छ तर आकाश देख्न सकिँदैन । त्यसैले यो शून्य नै हुन्छ भन्ने यो मतको मान्यता छ ।

जसरी हामी पृथ्वीमा पाइने तत्वहरूमा गन्ध, स्वाद र स्पर्शको अनुभव गर्दछौं, हामी पनि तिनीहरूको नातेदारलाई इन्द्रियमार्फत व्यक्त गर्छाैं । आकाशमा हुने गुण अरु तत्वको समान छैन । त्यसकारण उनीहरूको रायमा आकाश नामको कुनै तत्व छैन ।

चार तत्वहरूको कारण के हो ? चार्वाकसँग यस प्रश्नको उत्तर छैन । यो संसार केवल चार महाभूतहरूको संग्रह वा टकराव हो जुन विभिन्न रूपहरू र विभिन्न मात्रामा पाइन्छ ।

आत्मा

चार्वाकका अनुसार आत्मालाई चार महाभूतमध्ये कुनै पनि कोटिमा राखिएको छैन । चैतन्य आत्माको गुण हो । त्यहाँ आत्मा जस्तो केही चीज छैन, त्यसैले सचेत शरीरको पुण्य वा धर्म प्रमाणित छ ।

चार्वाकको मत अनुसार जतिबेलासम्म शरीर रहन्छ त्यतिबेलासम्म मान्छेमा चेतना हुन्छ । चेतना जतिबेलासम्म हुन्छ, त्यतिबेलासम्म शरीरमा आत्मा रहन्छ । यसको अर्थ शरीर आफैँमा चेतनाको आधार हो भन्ने कुरा चार्वाक मतका अनुयायीहरु बताउँछन् ।

हामीले विभिन्न गतिविभिमा शरीरले भोग्ने दुख र सुखको आधारमा आफ्नो धारणा बनाउने गर्छाैं । ‘म स्थूल छु’, ‘म कमजोर छु’, म गोरो छु, म कालो छु आदि हाम्रो शारीरिक गतिविधिको आधारमा चेतनाको विकास हुन्छ । धेरैबेर हिँड्दा हामीले शारीरिक अशक्तताको महसुस गर्छाैं । तर शरीर नभए त्यो महसुस पनि हुँदैन । त्यसैले शरीर नै आत्माको मूल कारण हो भन्ने यो मतको मान्यता छ।

चार्वाक प्रत्यक्ष प्रमाणलाई मात्रै आधिकारिक मान्ने गर्छन् । यो दर्शनले राजालाई नै एक मात्र दृश्यात्मक परमेश्वर मान्ने गर्छ । राजा नै आफ्नो राज्य र यसमा बसोबास गर्ने प्रजाको नियन्त्रणकर्ता हुन् त्यसैले उनैलाई भगवान मान्नुपर्छ भन्ने मत चार्वाकको छ ।

चार्वाक दर्शनका प्र‌णेता वृहस्पति को हुन् ? 

चार्वाक दर्शनका प्रणेता आचार्य वृहस्पति हुन् । उनैलाई पछि चार्वाक नामले चिनिएको हो । वृहस्पतिलाई पूर्वीय समाजमा देवताहरूको गुरुको रूपमा चिनिन्छ । तर चार्वाक दर्शनका प्रणेता वृहस्पति कुन वृहस्पति हुन् ? भन्ने बारेमा यकिन जानकारी पाउन कठिन छ ।

अंगिरस एवं लौक्य रुपमा दुई वटा बृहस्पतिको उल्लेख ऋग्वेदमा पाइन्छ । अश्वघोशका अनुसार अंगिरस वृहस्पति राज शास्त्रका प्रणेता हुन् ।

अर्का एक वृहस्पतिको उल्लेख महाभारतको वन पर्वमा समेत गरिएको पाइन्छ । यस वृहस्पतिले शुक्रको रुपमा ग्रहण गर्दै इन्द्रको संरक्षण र राक्षसहरुलाई नष्ट गर्ने उद्देश्यले शरीर रचना वा प्रपञ्च विज्ञानको सिर्जना गरेको उल्लेख छ ।

अर्को सन्दर्भमा महाभारतमा नै अर्को वृहस्पतिको पनि वर्णन छ । तर यसमध्ये चार्वाक दर्शनका प्रणेता वृहस्पति को हुन् ? भन्ने बारेमा भने शास्त्रवेत्ताहरुमा समेत एक मत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment