Comments Add Comment

मंसिर २० सम्म माग पुरा नभए फोहोर फाल्न नदिने सिसडोलवासीको चेतावनी

फाइल तस्वीर

५ मंसिर, काठमाडौं । विभिन्न १८ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।

वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बिमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ ।

स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि आफ्ना मागहरु पुरा नभएसम्म फाल्न नदिने बताए । जनताको न्यूनत्तम मागहरु समेत पुरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफूहरु आन्दोलित भएको उनको भनाइ छ ।

यातायात, शिक्षा, स्वास्थ्य, पशु बिमा, बालीबिमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शैय्याको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरुको छ । वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपन्छी, बोटबिरुवा सुरक्षित हुने ग्यारेन्टी गर्नुपर्ने स्थानीयको भनाइ छ ।

मंसिर २० गतेसम्म आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरुले मानव बसोबासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् । फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेन्टी गनुपर्ने उनीहरुको माग छ ।

ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घनश्याम बजगाईंले फोहोरमा राजनीतिक नगर्न आग्रह गरे । काठमाडौं महानगरले आफूहरुमाथि मानवीय व्यवहार नगरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

बागमती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए । फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहार सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment