Comments Add Comment

वीरगञ्जमा आँगन र छतबाटै छठपूजा (फोटो फिचर)

५ मंसिर, वीरगञ्ज । आज छठ पर्वको तेस्रो दिन, ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका ब्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

कोरोना महामारीका कारण वीरगञ्जको घडीअर्वा, रानीघाट, मुर्ली पोखरी वीर नगवा, इनर्वास्थित पोखरीमा बनाइएको छठ घाटमा ब्रतालु तथा दर्शनार्थीहरुको संख्या विगतका वर्षको तुलनामा निकै कम देखिएका छन् ।

घडीअर्वाका रमेश सर्राफले कोरोना महामारीका कारण यो वर्ष ब्रतालु र दर्शनार्थीहरु घाटमा कम आएको बताए । ‘घडीअर्वामा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो,’ उनले भने, ‘यसपाली खासै भिड देखिएन ।’  विगतका वर्षमा घडीअर्वामा छठ हेर्नका लागि वीरगञ्ज आसपासका क्षेत्र र भारतबाट समेत मानिसहरु आउने गर्दथे ।

कोरोना संक्रमणको जोखिमका कारण कतिपय ब्रतालुहरुले घरको छत, आँगनबाट नै सूर्यलाई अर्घ अर्पण गरेका छन् । कोरोनाको संक्रमणबाट जोगिन कतिपय छठका लागि गाउँ गएको र सहरमै भएकाहरु नदी, तलाउ तथा पोखरी किनारमा बनाइएको घाटमा नगई आँगन र छतबाटै अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

छठ घाटहरुमा हुने भिडभाडले संक्रमणको जोखिम रहने भन्दै स्थानीय प्रशासनले घरमै पूजा गर्न आग्रह गरेको थियो । छठ घाटहरुमा ब्रतालु तथा दर्शनार्थीहरुलाई छठ पूजा व्यवस्थापन समिति, नेपाल भारतमैत्री रेडियो स्रोता क्लब लगायतले निःशुल्क मास्क समेत वितरण गरेका थिए । छठ घाटमा मास्क प्रयोग र सामाजिक दूरी अनिवार्य पालना गर्नुपर्ने भनिएपनि त्यस्तो देखिएको भने थिएन ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment