 
																						६ मंसिर, गोरखा । सात जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गोरखा नगरपालिकाका सबै विद्यालय मंसिर १५ सम्म बन्द रहने भएका छन् ।
नगरपालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार दसैंपछि विद्यालयहरु खुले । तर सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण देखियो । नगरपालिकाले कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्यो ।
सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि मंसिर १५ सम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय भएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
‘संक्रमण फैलन थालेपछि कात्तिक २४ गतेबाट आजसम्म शैक्षिक संस्था बन्द गरेका थियौं’ नगरपालिका शिक्षा शाखाका स्रोत शिक्षक धु्रव अर्यालले भने, केही शिक्षकहरु संक्रमण भएर होम आइसोलेसनमै रहेकाले अझै विद्यालय बन्द राख्ने निर्णय गरेका हौ ।’
उनका अनुसार एउटै विद्यालयका तीन जना शिक्षकमा संक्रमण पुष्टि भएको छ । ‘शिक्षकहरुलाई कात्तिक २४ गतेभन्दा पछाडि संक्रमण पुष्टि भएको हो’ उनले भने, ‘त्यसैले विद्यार्थी र अरु शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा रहनु भएन ।’
संक्रमित शिक्षकमध्ये केही उपचारका लागी चितवन जाँदा संक्रमित भएको र केही जिल्लामै कन्ट्याक्ट ट्रेसिङमा परेको नगरपालिकाका अधिकारीहरुको दाबी छ ।
नगरपालिकाले स्वाब संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा आइसोलेसनमा बस्न भनेको छ । रिपोर्ट नआउँदै समुदाय स्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासो आएकाले बाहिर समुदायमा ननिस्कन आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
नगर क्षेत्रमा ४९ वटा सामुदायिक, १८ संस्थागत र १० वटा धार्मिक विद्यालय छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4