Comments Add Comment

राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट २० जनवरीमा बाइडेनले पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनावमा जित हात पारेका जो बाइडेनले आगामी जनवरी २० मा मात्रै राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट प्राप्त गर्ने भएका छन् ।

हाल डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट @POTUS नवनिर्वाचित जो बाइडेनले पदभार ग्रहण गरेपछि मात्र उनलाई हस्तान्तरण गरिने ट्वीटरले जनाएको छ ।

डोनाल्ड ट्रम्पले चुनावको हार स्विकार नगरेको र जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेको अवस्थामा ट्वीटरले भने राष्ट्रपतिको अकाउन्टलाई ट्रम्पबाट बाइडेनमा सार्ने तयारी गरेको हो ।

ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘ह्वाइटहाउसका संस्थागत ट्वीटर अकाउन्टहरु आगामी जनवरी २० मा स्थानान्तरण गर्ने प्रक्रियालाई सहयोग गर्न ट्वीटरले सक्रिय रुपमा तयारी गरिरहेको छ । सन् २०१७ को जस्तै अहिले पनि यो प्रक्रिया नेसनल आर्काइभ्स एण्ड रेकर्डस् प्रशासनसँगको गहन परामर्शमा गरिनेछ ।’

राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट @POTUS सँगै ह्वाइटहाउसका अन्य आधिकारिक ट्वीटर अकाउन्टहरु @whitehouse, @VP, and @FLOTUS  समेत बाइडेन प्रशासनलाई सुम्पिइनेछ ।

ह्वाइट हाउसका सबै आधिकारिक ट्वीटर अकाउन्टहरु एक राष्ट्रपतिबाट अर्को राष्ट्रपतिमा हस्तान्तरण गर्दा अघिल्लो राष्ट्रपतिको कार्यकालका सामाग्रीहरु आर्काइभ गरिनेछ र नयाँ राष्ट्रपति प्रशासनका लागि खाली ट्वीटर अकाउन्ट प्रदान गरिन्छ ।

बाराक ओबामाको कार्यकालको ट्वीटरको आर्काइभ यहाँ हेर्न सक्नुहुन्छ ।

जनवरी २० पछि डोनाल्ड ट्रम्पको आफ्नो व्यक्तिगत ट्वीटर अकाउन्ट @realDonaldTrump मा भने नियन्त्रण नै हुनेछ । तर उक्त अकाउन्टलाई ट्वीटरले प्रदान गर्दै आएको विशेष संरक्षण भने खारेज हुनेछ ।

विश्व नेताको हैसियतमा राष्ट्रपति ट्रम्पको ट्वीटर अकाउन्टलाई ट्वीटरले विशेष सुरक्षा दिने गरेको छ । तर जनवरी २० पछिचाहिँ ट्रम्पको व्यक्तिगत ट्वीटर अकाउन्ट अन्य आम ट्वीटर प्रयोगकर्ताको जस्तै बन्नेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment