Comments Add Comment

‘नेपाल–भारत सम्बन्धलाई तेस्रो देशको आँखाबाट हेर्नु हुँदैन’

७ मंसिर, काठमाडौं । नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रमा कलम चलाउँदै आएका डा. चन्द्रदेव भट्ट राजनीतिशास्त्री हुन् । उनले लण्डन स्कुल अफ इकोनोमिक्स र बर्मिंघम विश्वविद्यालयमा अध्ययन गरेका छन् ।

पोलिटिकल इकोनोमी, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा उनका लेख र रचनाहरु विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । भट्टले अमेरिकाको सेन्ट लुइसस्थित वासिङटन विश्वविद्यालयको जर्ज वारेन स्कुल अफ सोसल वर्कमा रिसर्च फेलोसिफ गरेका छन् ।

पछिल्लो समयमा भट्टले नेपालको परराष्ट्र नीतिका सम्बन्धमा कलम चलाउँदै आएका छन् । यसै सन्दर्भमा अनलाइनखबरकर्मी कमलदेव भट्टराईले भट्टसँग नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्था र आगामी प्रक्षेपणका बारेमा कुराकानी गरेका छन् :

नेपाल–भारत सम्बन्ध सुधारतर्फ उन्मुख भएको हो ?

सतहीरुपमा हेर्दा नेपाल–भारत सम्बन्ध सामान्यीकरणतर्फ अगाडि बढेको देखिन्छ । तर, यो सम्बन्ध पूर्ववतः अवस्थामा पुर्‍याउनका लागि दुवै देशले धेरै मेहनत गर्नुपर्ने देखिन्छ । पछिल्ला केही घटनाक्रमले दुई देशबीचको सम्बन्धलाई ज्यादै बिगारेको पाइएको छ । हुन त राजनीतिक तहमा नेपाल–भारतबीचको सम्बन्धमा सन् १९५० देखि नै धेरै उतार–चढावहरु आएको देखिन्छ । तर, सन् २०१५ पछि र अहिले आएर कालापानी लगायतका मुद्दाहरु र यिनलाई दुवै राष्ट्र र तीनका संरचनाहरुले जसरी सम्बोधन गर्ने कोशिस गरे यसको असर जनस्तरमा पनि परेको देखिन्छ, जुन पहिले कहिल्यै पनि भएको थिएन । जनस्तरमा पनि एक किसिमको वैमनस्यता निर्माण भएको छ ।

नेपाल–भारत सम्बन्धका बहुआयमिक पक्षहरु छन्, जस्तै– राज्य–राज्य बीचको सम्बन्ध, राजनीतिक वृतको सम्बन्ध र नागरिकबीचको सम्बन्ध । अहिले चिन्ताको विषय भनेको नागरिक–नागरिकबीचको सम्बन्ध हो । यद्यपि दुवै राष्ट्रले केही संयमता अपनाएको देखिन्छ । तर, यो संयमता नै सम्बन्ध सुधार गर्न पर्याप्त भने छैन । दुवै राज्यबीच सम्बन्ध त्यत्ति सुमधुर नहुनु पछाडिको प्रमुख कारण भनेको हामीले सम्बन्धहरुलाई राष्ट्र–राज्यको खाकाबाट हेर्नु हो । यस्तो दृष्टिकोणले नेपाल र भारतबीच भएका बहुआयमिक सम्बन्धलाई सम्बोधन गर्न सक्दैन । किनकि दुवै सभ्यतामुलक राष्ट्र हुन् र एकले अर्कोको सभ्यता र संस्कृतिलाई समृद्ध गर्नमा परिपुरकको भूमिका गर्दछन् ।

राष्ट्र–राज्यको अवधारणाले हाम्रो सम्बन्ध त्यत्ति सहजरुपमा अगाडि बढ्दैन । यसको प्रत्यक्ष असर बुद्ध नेपाली र राम भारतीय हुन जान्छन् । यो अवधारणा पश्चिममा पनि असफल भएर युरोपियन यूनियनको विचारधारा अगाडि सारिएको हो । त्यसकारण हामी कसरी र कुन अवधारण र सिद्धान्तअनुसार सम्बन्ध अगाडि बढाउने भन्ने पक्ष स्पष्ट हुनुपर्छ । थाती मुद्दाहरुलाई समयमै सम्बोधन गर्नु जरुरी हुन्छ ।

कालापानी सुस्ता लगायतका विषयमा वार्ताको सम्भावना कति छ ?

कालापानी र सुस्ता लगायतका विषयमा वार्ता हुनुको लागि दुवै देशबीच पर्याप्त मात्रामा विश्वासको वातावरण सिर्जना हुन जरुरी देखिन्छ, जुन अहिले देखिँदैन । दुई देशबीच भएका पछिल्ला भेटघाटहरु तथा प्रस्तावित भेटघाटहरुले उचित वातावरणको सिर्जना गर्ने नै छ । तर, महत्वपूर्ण पक्ष भनेको विशेष गरेर कालापानीको विषयमा हामीले जुन किसिमले निर्णय लियौं, यसले जमीन माथिको उपभोग त कता हो कता, वार्ताको वातावरणका लागि पनि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ । यो विषय अब उच्च राजनीतिक तहबाट मात्रै टुङ्ग्याउन सकिन्छ र त्यसका लागि दुवै पक्षबीच प्रशस्तमात्रामा माथि भनेजस्तै विश्वासको वातावरण श्रृजना गर्नु जरुरी हुन्छ । नेपालका राजनीतिक दलहरु सबै एउटै ठाउमा उभिएर आम नागरिकलाई पनि विश्वासमा लिनु पर्छ ।

कालापानी क्षेत्र भू–राजनीतिक हिसाबले आज आएर झन महत्वपूर्ण भएर आएको छ । यो क्षेत्रमा दक्षिण मात्र होइन, उत्तरी छिमेकका लागि पनि त्यत्तिकै चासो देखिन्छ । चीन र भारतको सम्बन्ध सुधार भएमा त्यो क्षेत्र भविष्यमा दुई देशबीचको पारवाहनको लागि उपयुक्त नाका हो । जहाँसम्म सुस्ताको सवाल छ, यसको समाधान गर्न त्यति कठिन छैन, केही प्राविधिक पक्षहरु होलान् तिनलाई सजिलैसँग सम्बोधन गर्न सकिन्छ जस्तो लाग्दछ ।

सीमा बाहेकका अन्य द्धिपक्षिय समस्याहरु

नेपाल र भारतबीच जुन किसिमको सम्बन्ध सदियौंदेखि रहँदै आएको छ, त्यस्तो सम्बन्ध संसारका कमै देशहरुका बीच देख्न सकिन्छ । दोश्रो विश्वयुद्धको अन्तसम्म पनि युरोपियन राष्ट्रहरु आपसमा लड्दै आएका थिए । समान संस्कृति, भेषभुषा र रहनसहनमा खासै भिन्नता नभएपनि एउटा देशबाट अर्को देशमा आवत–जावत गर्न त्यत्ति सजिलो थिएन । युरोपियन युनियनको विकास भएपछि मात्र यी राष्ट्रहरु धेरै विषयमा सहकार्य गर्दै आएका छन् । पछिल्ला दिनहरुमा यो पनि परिवर्तन हुने प्रबल सम्भावना देखिन्छ । नेपाल र भारतबीच हजारौं वर्षदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ । दुइ देशबीच जुन स्तरको सम्बन्ध छ, स्वभाविक रुपमा त्यसले केही समस्या पनि जन्माउँछ । तर, सम्बन्धहरुलाई समस्याको आँखाबाट मात्र हेर्ने प्रवृत्तिले भने परिस्थिति परिवर्तन नहोला भन्न सकिँदैन ।

समस्याको प्रकृतिलाई मात्र हेर्ने हो भने यिनलाई मुलतः दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो परम्परागतरुपमा रहँदै आएका सीमा लगायतका समस्याहरु हुन् भने दोस्रो पछिल्लो दिनमा क्षेत्रिय र विश्वराजनीतिले निर्माण गरेका समस्याहरु हुन् । अहिले आएर क्षेत्रिय र विश्वराजनीतिले निर्माण गरेको परिस्थिति नेपाल र भारतबीचको सम्बन्धको बीचमा तगारोका रुपमा खडा हुँदै छन्र दुवै राष्ट्रले एक अर्काबीचको सम्बन्धलाई स्वतन्त्ररुपमा अगाडि बढाउन सकिरहेका छैनन् । यसको असर विभिन्न क्षेत्रमा देख्न सकिन्छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको परम्परागत सम्बन्धबाट हामी धेरै अगाडि बढिसकेका छौं । बदलिँदो अर्थराजनीतिले गर्दा नेपाल र भारतबीच हिजोका दिनमा जुन स्तरमा अन्तरकृयाहरु हुन्थे, सो आज अरु देशसँग पनि हुँदै आएका छन् र दुवै राष्ट्रले यसलाई महसुस गरेर अगाडि बढ्नु पर्ने हुन्छ । त्यसैगरी एउटा राष्ट्रले अर्को राष्ट्रको सम्वेदनशिलतालाई बुझ्न एकदम जरुरी हुन्छ । नेपाल सानो र भुपरिवेशिष्त राष्ट्र भएकाले यसका आफ्नै किसिमका समस्याहरु छन् र यी समस्याहरुलाई आधार बनाएर भारतले नेपाललाई अप्ठ्यारो पार्नु हुँदैन ।

त्यसैगरी भारत विगत दुई हजार वर्षदेखि असुरक्षित राष्ट्र हो र उसको असुरक्षा पछिल्ला दिनहरुमा झन् बढ्दै गएको छ भारत जति जति असुरक्षित हुँदै जान्छ, ऊ त्यत्ति नै छिमेकी राष्ट्रहरुप्रति पनि आक्रामक हुँदै जान्छ र त्यत्ति नै सम्बन्धहरु बिग्रँदै जान्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ । त्यही भएर हामीले पनि उसको असुरक्षाको कारण बन्नु त्यत्ति लाभदायक हुँदैन । त्यो किनभने, भारत कमजोर भएमा नेपाल बलियो हुने संभावना एकदम क्षिण भएर जान्छ । साँच्चै भन्ने हो भने दुवै देश विभिन्न क्षेत्रमा एक अर्काका परिपुरक हुन् । नेपाल र भारतबीचको अर्को समस्या भनेको काठमाडौं र दिल्लीका शासकहरु तथा विचार निर्माणकर्ताहरु हुन् जसले दार्चुला र गौर तथा टनकपुर र पूर्णियामा बसोबास गर्ने मानिसका समस्याहरु बुझेको देखिदैन । नीति निर्माण तहमा यस्तो कुलिन वर्ग हावी भएको छ जसलाई दुइ देशबीचको सम्बन्धको बीचमा खासै चासो देखिदैन किनकि उसका परिवार र नातागोताहरु अमेरिका, बेलायत र अस्ट्रेलिया बसोबास गर्दछन् ।

कोभिड–१९ को महामारीले पनि यो वर्गलाई खासै असर पारेन तर ‘फ्रन्टिएर ल्याण्ड’ मा बसोबास गर्ने र ‘हिलिबिलि’– सर्वसाधारण– नागरिकहरु जीवन र मृत्युको दोधारबाट अगाडि बढ्नु परेको छ । यो संवेदनशीलता बुझ्ने वर्गको अनुपस्थितिमा हाम्रा समस्याहरु झन् थपिदै गएका छन् । किनकी नेपाली राष्ट्रले सर्वसाधारणको बाँच्ने अधिकारको वातावरणको सिर्जना गरेको छैन र भारतमाथिको निर्भरता झन् अपरिहार्य भएको छ । त्यसैगरी अर्को महत्वपूर्ण पक्ष भनेको हाम्रो बीच एउटा अलग किसिमको समस्या छ त्यो के भने हाम्रो जनसमुदायको एउटा किसिमको आकाङ्क्षा छ भने कुलिन र मध्यमवर्गको अलग किसिमका आकाङ्क्षाहरु छन् । पहिलो वर्ग र दोश्रो वर्गका बीचमा खासै ताल भने भएको देखिदैन र यसको प्रत्यक्ष असर बिदेश निती तथा सम्बन्ध विस्तार गर्ने संयन्त्रमा पर्न जान्छ ।

सन् १९५० को शान्ति र मैत्री सन्धि संशोधनको सम्भावना कत्ति छ ?

सन् १९५० को सन्धिका आङ्खनै किसिमका फाइदा र बेफाइदाहरु छन् । आजका दिनसम्म यो सन्धि मुलतः नेपालमा राजनीतिक खपतको लागि अगाडि बढाएको देखिन्छ । मलाई के लाग्दछ भने यसका केही पक्षहरुलाई छोडेर धेरै हदसम्म यो सन्धिले दुवै देशलाई फाइदा नै पुर्‍याएको छ । यो सन्धिले दुवै देशको सार्वभौमता स्वीकार्छ यो सन्धिलाई प्रतिस्थापन गरेर हाम्रो बीच कस्तो सम्बन्ध हुने विषयमा हामीले खासै सोचेका छैनौं । तर काठमाडौंको कुलिन वर्गको लागि भने यो नै मुल समस्या भएर आएको देखिन्छ ।

अर्को पक्ष सन् १९५० को सन्धिमा संशोधन गर्ने प्रावधानहरु छैनन् । यो सन्धिलाई एब्रोगेट मात्र गर्न सकिन्छ । जहाँसम्म भारतको मौनता छ यसको पछाडि दुईवटा कारणहरु हुन सक्छन् : पहिलो परम्परागत सम्बन्धलाई कायमै राख्ने र दोश्रो प्रभाव क्षेत्रलाई पनि बरकरार राख्ने । एउटा उदयमान शक्ति राष्ट्रले छिमेकमा आफ्नो प्रभाव कम हुन दिँदैन । भारतले पनि नेपाललाई लगातार के भन्दै आएको छ भने नेपालले सन्धि संशोधनको लागि आफूलाई पूर्णरुपमा तयारीका साथ अगाडि बढाएको छैन । हामी दुवै राष्ट्र कसरी एक अर्कालाई फाइदा हुन्छ र सम्बन्धलाई सुमधुर कायम गर्न सकिन्छ । त्यसरी अगाडि बढ्दा राम्रो होला ।

सम्बन्ध सुधारका लागि दुवै पक्षले चाल्नु पर्ने कदमहरु के हुन सक्छन् ?

सम्बन्ध सुधारको लागि गर्नुपर्ने कामहरु मध्ये प्रमुख काम सीमा लगायतका समस्याहरु लामो सयमसम्म थाती नराख्ने । यी समस्याहरु दुवै राष्ट्रले तुरुन्त समाधान गर्नु जरुरी हुन्छ । दोश्रो पक्ष माथि भने जस्तै एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई बुझ्नु जरुरी हुन्छ । एक अर्काका नागरिक माथि सम्मान देखाउनु जरुरी भएर आएको छ जुन पछिल्ला दिनमा खस्किदै गएको छ । विशेष गरेर सीमा क्षेत्रमा बसोबास गर्न र सीमा नाका बाट आवत जावत गर्दा नेपालीहरुले पछिल्ला दिनहरुमा निकै सास्ति बेर्होनूपरेको छ । नेपाल र भारतबीचको सम्बन्धलाई तेस्रो देशको आँखाबाट हेर्नु हुँदैन, यसले अविश्वासको वातावरण मात्र सिर्जना गर्दछ । क्षेत्रिय र विश्व राजनीतिमा अहिले निर्माण गरिएका एलाइन्सको मिकानिज्ममा हामीकहाँ उभिन्छौं भन्ने पक्षले पनि नेपाल–भारतबीचको सम्बन्ध निर्धारण गर्नेछ । विश्व दुइ ध्रुवीकरणमा विभाजित हुँदा नेपालमा आङ्खनै किसिमका नयाँ चुनौतिहरु थपिने छन् ।

हाम्रो जनस्तरको सम्बन्ध पश्चिमाजगतसँग बढ्दै गएको छ भने केही राजनीतिक पार्टीहरुले वैचारिक सम्बन्ध चीनसँग स्थापना गर्दैछन् । आम नागरिकको जीवन पद्दति भारत र गल्फ राज्यहरुसँग गाँसिएको छ । अरुनिकोले चीनमा बनाएको दरबार र बुर्ज खलिफाको निर्माणमा नेपालीहरुको योगदानलाई कसरी मूल्याङ्कन गर्ने । यसकारण नेपाल भारत सम्बन्धलाई परिभाषित गर्न धेरै पक्षहरुको भूमिका हुन्छ । एउटा वर्गको जीवन र मृत्यु भारतसँग गाँसिएको छ भने अर्को वर्गको चश्मा अर्कै छ ।

पछिल्ला वर्षहरुमा एकदेशले अर्को देशलाई बुझ्ने संयन्त्र कमजोर भएर गएको छ । प्राज्ञिक क्षेत्रमा पातलो अन्तरकृया छ भने नीति निर्माण र राजनीतिक क्षेत्रका सदस्यहरुबीचको अन्तरकृया पनि कमजोर भएर गएको छ । नेपालमा भारतलाई बुझ्ने र भारतमा नेपाललाई बुझ्ने प्राज्ञहरु न्यून भएर गएका छन् । नेपाल र भारतलाई बुझ्ने र व्याख्या गर्ने विदेशी विद्वानहरु अगाडि बढ्दै छन् र यिनको बुझाइले दुई देशलाई हरेक दृष्टिकोणबाट फरक रुपमा मात्र देखाउने कोशिस गरिन्छ । लुङविग स्टीलर र लियोरोज यसका ज्वलन्त उदाहरण हुन् । दुवैले नेपाल भारत र चीनबाट असुरक्षित छ भने कथन निर्माण गरे । यही क्षेत्रका प्राज्ञहरुले पनि माक्र्सवादीढाचाबाट सम्बन्ध व्याख्या गर्दछन् या खुफिया एजेन्सी र शक्ति राष्ट्रको फ्रेमवर्कबाट हेर्ने कोशिस गर्दछन् र नेपाललाई सानो राष्ट्र र बाँच्ने रणनीति (सरभाइभल स्ट्राटिजी) को औषधि दिन्छन् । लुटियन दिल्लीका लिवरल लेङ्खट र माक्र्सवादी प्राज्ञहरुले नेपाल–भारतबीचको सम्बन्धलाई बुझ्न सक्दैनन् । जुन वर्गले बुझेको छ त्यसको कुरा न दिल्लीले सुन्दछ न काठमाडौंले । अर्को महत्वपूर्ण पक्ष भनेको भारत र नेपालको हितमा बोल्नु भनेको अपराध अराष्ट्रवादी हुनु हो ।

भारतको वर्तमान राजनीतिक संयन्त्र विशेष गरेर भारतीय जनता पार्टीलाई बुझ्नु नसक्नु र सम्बन्ध कायम गर्न नसक्नु अर्को समस्या हो । हामीले भारतीय जनता पार्टी पश्चिीमी राष्ट्रका लेङ्खट लिवरल मिडियाले जसरी व्याख्या गर्‍यो त्यसरी नै बुझ्ने कोशिस गर्‍यौं ।

हामीले के बुझ्न सकेनौ भने भारतीय जनता पार्टी राजनीतिक पार्टी मात्र होइन यसले अरु धेरै कुराको प्रतिनिधित्व गर्दछ र यो वर्तमान मात्र होइन भविष्य पनि हो । अर्को समस्या भनेको नेपाल र भारतस्थित राजनीतिक टिप्पणीकारहरुको पनि समस्यालाई बल्झाऊन त्यत्तिकै ठूलो भूमिका छन् । विदेशी खुफिया एजेन्सीहरुको पैसामा राष्ट्रवादको खोल ओढेर धमिलो पानीमा माछा मार्ने एउटा ठूलो वर्ग छ त्यसबाट सतर्क हुनु जरुरी छ । यी वर्गले नेपाललाई पूर्वको इजरायल बनाउँदै छ ।

त्यसैगरी शितयुद्धकालिन फ्रेमवर्कबाट नेपाल–भारत सम्बन्धबारे बुझ्ने व्यक्तिहरु अझै नीति निर्माण तहमा हावी छन् र नयाँ पिढीले पनि त्यही फ्रेमवर्कलाई प्रयोगमा ल्याएको देखिन्छ जसले न नेपालको भलो गर्दछ न भारतको । अहिले परिस्थिति बदलिएर गएको छ । हाम्रो विदेश नीतिमा विचारधारा भन्दा व्यवहारिकता झल्किनु जरुरी छ । भारत, चीन, पश्चिमा मुलुक र यिनका सहयोगी राष्ट्रहरु तथा नेपाली मजदुरहरुको बाहुल्यता भएका देशहरुको विदेश नीति एउटै किसिमको हुन सक्दैन । अन्तमा, भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक र सबै किसिमका सम्बन्धहरु गाँजिएको देशसँगको सम्बन्ध सुमधुर कायम राख्नु हाम्रो हितमा नै हुने छ अहितमा होइन ।

त्यसकारण समन्वयात्मक ढङ्गले सम्बन्ध अगाडि बढाउनु जरुरी छ । राजनीतिक सत्ता आरोहण तथा सत्तामा आसिन रहिरहनको लागि मात्र सम्बन्ध व्याख्या गर्दा केही वर्गलाई त फाइदा होला तर आम नागरिक र मुलुकको दीर्घकालिन हितमा हुने छैन । राजनीतिक पार्टीहरुले जसरी विदेश सम्बन्ध अगाडि लाग्दैछन् यसले नेपाललाई २१ औं शताब्दीमा आएर उपनिवेशीकरणतिर धकेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment