+

कर्णालीमा खेल पूर्वाधारका लागि सङ्घ र प्रदेशले साझेदारी गर्ने

२०७७ मंसिर  ७ गते १६:३८ २०७७ मंसिर ७ गते १६:३८
कर्णालीमा खेल पूर्वाधारका लागि सङ्घ र प्रदेशले साझेदारी गर्ने

७ मंसिर, सुर्खेत । राष्ट्रिय खेलकूद परिषद (राखेप) र कर्णाली प्रदेश सरकारले खेल पूर्वाधार निर्माणमा साझेदारी गर्ने भएका छन् ।

कर्णालीमा आयोजना गर्न लागिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक खेल पूर्वाधार निर्माणबारे साझेदारी गर्ने सहमति भएको छ ।

आइतबार सामाजिक विकास मन्त्रालयमा पूर्वाधार निर्माणका लागि द्धिपक्षीय छलफल भएको हो ।

छलफलमा प्रदेश सरकारको स्वामित्वमा जग्गा नहुँदा प्रदेश राजधानीमै रंगशाला निर्माण हुन नसकेको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

जग्गा नभएकै कारण दुई आर्थिक वर्षदेखि विनियोजित बजेटसमेत खर्च हुन नसकेको उनको भनाइ छ ।

‘खेलकूदका नाउमा रहेका जग्गा प्रदेश मातहत नआउँदा पूर्वाधार निर्माण गर्न सकिएको छैन,’ मन्त्री रावलले भने, ‘जग्गाको टुंगो लगाएर सङ्घ प्रदेश साझेदारीमा अत्याधुनिक रंगशाला निर्माण गर्न सुरुआत गरौं ।’

मन्त्री रावलले एक वर्षअघि खेलकुद विकास ऐन पारित गरेको र खेलकूद परिषद् गठनको आधारभूत तयारी पूरा भएकोबारे परिषद् नेतृत्वलाई जानकारीसमेत गराएका थिए ।

कर्णालीको खेलकूद पूर्वाधार निर्माणमा आवश्यक सहयोगका साथै संघ सरकारसँग सहजीकरण गर्न आफू तयार रहेको राखेपका सदस्य सचिव रमेश सिलवालले बताए ।

१० औं राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्न यहाँका सबै जिल्लामा खेल संरचना निर्माणमा जोड दिनुपर्ने उनको सुझाव थियो ।

सिलवालले कर्णालीमा आवश्यक बजेट र प्राविधिक जनशक्ति पठाउन तयार रहेको समेत बताए ।

सदस्य सचिव सिलवालसहितको टोलीले सुर्खेतमा निमार्णाधीन खेल पूर्वाधारहरुको अनुगमन निरीक्षण गर्नुका साथै जिल्लास्थित खेलाडी र खेल कर्मचारीसँग अन्तरकि्रया गरेको थियो।

सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र परिषद्का सदस्य सचिव रमेश सिलवाल, सदस्य गोविन्द भट्टराईसहितको बैठकले कर्णालीमा विद्यमान खेल पूर्वाधारको अवस्था र भावी योजनाबारे छलफल गरेको थियो ।

कर्णाली प्रदेश खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय